Comments Add Comment

सुरु भयो क्रिकेट रंगशाला निर्माण

११ वैशाख, चितवन । रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान सम्याउने काम बुधबारबाट सुरु भएको छ । मैदान सम्याउन दुई बटा डोजर प्रयोग भएको छ ।

भोलि बिहीबार नापी कार्यालय चितवनका नापी अधिकृत आएर रंगशालाको मुल मैदानको क्षेत्रको नापजाँच गर्ने र पिच बन्ने स्थानको टुंगो लगाउने कार्यक्रम गरिने अहिले रंगशाला हेर्ने जिम्मेवारी पाएका अर्जुन न्यौपानेले जानकारी दिए ।

पिच निर्माणको प्रारम्भिक काम गर्न क्युरेटर कोमल पाण्डे आएका छन् । उनी केहीदिनसम्म पिच निर्माणको प्रारम्भिक काम गर्नेछन् । पाण्डे भन्छन्, ‘बर्षा अगाडि हामी लेभलिङको काम सकेर पिच खन्छौं ।’

मैदानमा पाँच बटा पिच निर्माण गर्ने योजना छ । मूल पिचको दायाँबायाँ थप दुईदुई वटा पिच निर्माण गरिनेछ । पिचको स्टाण्र्डड साइज १० फिट चौडाई र ६६ फिट लम्वाईलाई मानिन्छ ।

क्रिकेट मैदानको बीचमा रहने पिचबाट ९० मिटर सबैतिरको भूभाग मूल मैदानमा समेटिने छ । क्युरेटर पाण्डेले क्रिकेट रंगशालामा बन्ने स्थानको माटो पानी सोस्ने ज्यादै राम्रो भएको बताए । उनले पिचका लागि भने तनहुँबाट माटो ल्याउनुपर्ने बताए ।

रंगशालाको वरपर ड्रेन तयार गरिने छ । रंगशालाको अन्य संरचनाको डीपीआर बनिसकेको छ भने रंगशालाको बन्ने क्रममा रहेको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि भइरहेको छ ।

रगंशाला बन्ने क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेका छन् । हालसम्म करीब ८० लाख रुपैयाँ खर्च भएको छ ।

फाउण्डेसनका अनुसार हालसम्म ६ करोड संकलन भएको छ । जेठ महिनासम्म ५० करोड संकलन गरी आवश्यक निर्माण सामग्री जम्मा गर्ने तयारी भइरहेको फाउण्डेसनले जनाएको छ । अर्थ संकलनका लागि वैशाख १३ गते फाउण्डेसनको टोली दुबई जाँदैछ । जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम पनि तय भएका छन् ।

आगामी भदौमा निर्माणको शिलान्यास गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment