+
+
Shares

सरकार छाड्ने चेतावनीबाट पछि हट्यो नाउपा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १७:४२
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ।

२६ वैशाख, काठमाडौं । सरकार छाड्ने चेतावनीबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) पछाडि हटेको छ ।

नाउपाका संरक्षक रेशम चाधैरीको पक्राउबारे सरकारको जवाफ र छानबिन मागेर नाउपाले यसअघि सरकार छाड्न सक्ने चेतावनी दिएको थियो ।

यही २२ वैशाखमा प्रतिनिधिसभाको बैठकमा बोल्दै नाउपाका सांसदहरूले सरकार छाड्ने चेतावनी दिएका थिए । त्यसपछि पनि संसदमा सांसदहरूले सरकारले जवाफ दिनुपर्ने र रेशम चौधरीको पक्राउबारे छानबिन हुनुपर्ने माग राखेका थिए ।

सांसदहरूको माग अनुसार बिहीबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिए । त्यसक्रममा उनले रेशम चौधरीको पक्राउ प्रति दुःख व्यक्त गर्दै कुनै पूर्वाग्रह नराखेको बताएका थिए ।

‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भनेका थिए ।

यही १७ वैशाखमा नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।

यो विषयमा गृहमन्त्रीले संसद्मा जवाफ दिएसँगै नाउपाले तत्काल सरकार नछाड्ने मनस्थिति बनाएको हो । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ गृहमन्त्रीको जवाफ सुनिएको बताउँछिन् ।

‘गृहमन्त्रीले जवाफ दिनुभएको छ । सन्तुष्ट नै छौं हामी’ उनले शुक्रबार संसद् भवन परिसरमा पत्रकारहरूसँग भनिन् ।

पत्रकारहरूले ‘सरकार छाड्ने चेतावनी थियो । त्यसमा के भयो’ भनेर सोधेका थिए । अध्यक्ष श्रेष्ठले जवाफ दिइन्, ‘गृहमन्त्रीले जवाफ नदिनुभएको भए त्यो छुट्टै पाटो थियो । उहाँले भनेको निश्चित समयमा जवाफ दिइ सक्नुभएको भएर त्यो अहिले छैन ।’

पत्रकारले फेरि सोधे, ‘अहिले सरकारमै रहनुहुन्छ ?’
जवाफमा रञ्जिताले भनिन्, ‘हजुर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?