
२२ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउबारे सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले एक जना कर्मचारीले अदालतबाट फर्जी पक्राउ पुर्जी बनाउने आँट गर्न नसक्ने बताए ।
अदालतबाट फर्जी पक्राउ पुर्जी बनाएर चौधरीलाई पक्राउ गरेर ५ घण्टासम्म काराबासमा राखिनुका पछाडि राजनीतिक सम्बन्ध हुन सक्ने उनीहरूको आशंका छ ।
नागरिक उन्मुक्ति पार्टीले त चित्त बुझ्दो जवाफ नदिए संसद्मा अवरोध गर्ने र सरकारलाई दिएको समर्थन नै फिर्ता लिने चेतावनी दिएको छ ।
नाउपाका सांसद गंगाराम चौधरी सर्वोच्च अदालतमा एक जना कर्मचारीले फर्जी पक्राउ पुर्जी बनाएर अगाडि बढाउन नसक्ने बताउँछन् ।
‘शाखा प्रमुखले एक्लैले गरेका होइनन् । यसको राजनीतिक सम्बन्ध हुन सक्छ,’ चौधरी भन्छन्, ‘यदि यसबारे छानबिन भएन भने भोलिदेखि सदन् अवरोध गर्ने र सरकार छोड्ने चोतावनी दिन चाहन्छौं’ सांसद चौधरीले भनेका छन् ।
यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ । उनी भन्छन्, ‘यसको जवाफ प्रधानमन्त्रीसहित गृहमन्त्रीले दिनुपर्छ ।’
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।
जनमत पार्टीका सांसद अब्दुल खान रेशम चौधरीको पक्राउमा निश्पक्ष छानबिन हुनुपर्ने बताउँछन् ।
रेशम चौधरीको पक्राउ गर्नुको कारण नाउपा र जनमतलाई मिल्न नदिने षडयन्त्र रहेको उनको आशंका छ ।
‘यो घटनाले थारु मुस्लिम एकता तोड्ने काम भयो’ जनमतका उपाध्यक्ष समेत रहेका खानले भने, ‘यो घटनाको निश्पक्ष छानबिनको माग गर्दछु ।’
यो घटना सामान्य घटना नरहेको भन्दै उनले निश्पक्ष छानबिनका लागि सरकारलाई रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे ।
न्यायिक छानबिनको माग
कतिपय सांसदहरूले रेशम चौधरीको पक्राउमा न्यायीक छानबिनको माग राखेका छन् । रास्वपाले यो घटनामा न्यायिक छानबिनको माग गरेको छ ।
रास्वपाका सांसद शिव नेपाली भन्छन्, ‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको पक्राउप्रति सरोकार राख्दै न्यायिक छानबिनको माग गर्दछु ।’
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि निष्पक्ष छानबिनको माग गर्दछन् ।
‘कुनै कारण छैन पक्राउ गर्यो । ५ घण्टा जेलमा राखिदियो । यसबारे निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद हेमराज राई पनि रेशम चौधरीको पक्राउ प्रकरणले कानुनी शासनको खिल्ली उडाएको बताउँछन् ।
‘नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीमाथि गैरकानुनी ढंगले पक्राउ गर्ने र पाँच/पाँच घण्टासम्म कारागारमा राख्ने कामले यो देशको कानुनी राज्य र सुशासनको खिल्ली उडाएको छ’ एमाले सांसद राईले भनेका छन् ।
उनले यो घटना वा प्रकरणका संलग्न व्यक्तिमाथि छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिक्रिया 4