+
+
Shares

रेशमलाई थुन्न चाहन्थे, आफैं थुनिए

करिव १५ महिना मात्रै सेवा अवधि बाँकी रहेका विष्टले जागिरे जीवनको उत्तरार्द्धमा सनकपूर्ण निर्णय लिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते २३:३०

१७ वैशाख, काठमाडौं । ‘टीकापुर घटनाले साह्रै पीडा दियो, त्यसैले पत्र लेखेको हुँ’ भनी प्रारम्भिक बयान दिएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट रेशम चौधरीलाई थुनामा पठाउन चाहन्थे ।

मुद्दा विचाराधीन भएको बेलामा चौधरीलाई कैद गर्नु भनी आफैं अनधिकृत पत्र लेखेका विष्ट नै त्यसको केही घण्टामै अदालत प्रशासनको पत्रबमोजिम पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतले आफ्नो प्रारम्भिक अध्ययनमा नै ‘शाखा अधिकृत महिमानसिंह विष्टले तोकिएको जिम्मेवारीभन्दा बाहिर गई काम गरेको’ निष्कर्ष निकालेको छ । उनले अदालतको लेटरप्याड, छाप र पदको दुरुपयोग गरेर पत्राचार गरेको देखिएको भन्दै सर्वोच्चले कानुन बमोजिम तीन कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको छ ।

सर्वोच्च अदालतले मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ८४, ८७ र २७६ उल्लेख गरेर त्यसबमोजिम अनुसन्धान गर्नु भनेको छ । अनि, शाखा अधिकृत विष्टलाई पनि पत्रकै साथमा पठाएको हो ।

उल्लेखित दफा ८४ मा ‘झुटा जानकारी दिन नहुने’ उल्लेख छ भने दफा ८७ मा ‘आदेशको अवज्ञा गर्न नहुने’ व्यवस्था छ । संहिता ऐनको दफा २७६ मा किर्ते सम्बन्धी व्यवस्था छ, जहाँ अदालतको फैसला किर्ते गरेमा आठ वर्षसम्म कैद सजाय हुन्छ ।

सर्वोच्च अदालतको पत्रमा भनिएको छ, ‘निज (शाखा अधिकृत विष्ट)लाई सोही ऐनअनुसार कारबाहीको आवश्यक अनुसन्धान प्रक्रिया सञ्चालनका लागि महिमानसिंह विष्टलाई यसै पत्रसाथ पठाइएको बेहोरा अनुरोध छ ।’

करिव १५ महिना मात्रै सेवा अवधि बाँकी रहेका विष्टले जागिरे जीवनको उत्तरार्द्धमा सनकपूर्ण निर्णय लिएका हुन् । १० वर्षअघि शाखा अधिकृतमा बढुवा भएका उनी जिल्ला अदालतमा रहँदा निमित्त स्रेस्तेदारको रूपमा जिल्ला अदालतको प्रशासनिक नेतृत्व नै गरेका थिए । जानकारहरूका अनुसार, उनका कामकारबाही विवादबाहिर भने थिएनन् ।

कञ्चनपुर जिल्ला अदालतमा तहसिलदारको रुपमा रहँदा उनी निमित्त स्रेस्तेदारसमेत भएका थिए । कानुन व्यवसायीले पेश गरेको निवेदन उनले दरपीठ (दर्ता गर्न अस्विकार) मात्रै गरेनन, कानुन व्यवसायीको चरित्रमै आँच आउने गरी जथाभावी लेखेका थिए । त्यसपछि उनलाई विभागीय कारबाही गर्न नेपाल बार एसोसिएसनले नै विज्ञप्ति निकालेको थियो ।

उनी नुवाकोट जिल्ला अदालतमा कार्यरत रहँदा पनि कर्मचारी र न्यायाधीशसँग विवाद गरेका थिए । उनीमाथि प्रश्न उठेपछि सर्वोच्च अदालत प्रशासनले उनलाई कञ्चनपुर पुर्‍याएको थियो ।

उनले सामाजिक सञ्जालमा भीम रावलका दृष्टिकोण र अन्तर्वार्ताहरू शेयर गरेको तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा क्रुुद्ध भएर प्रतिक्रियाहरू दिएको देखिन्छ । उनले ओलीमाथि आक्रोश पोख्दै फेसबुकमा केही पोष्टहरू गरेका थिए । संयोग नै मान्नुपर्छ, रेशम चौधरीविरुद्ध शारदा कडायतले दायर गरेको रिट निवेदन उनै विष्ट संलग्न रहेको फाँटमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?