 
																			मजदुर भन्नाले त्यस्ता व्यक्ति वा श्रमिकलाई जनाउँछ, जसले शारीरिक वा मानसिक श्रम गरेर रोजगारी प्राप्त गर्छ र मिहिनेतको ज्याला पाउँछ। छोटकरीमा भन्ने हो भने, मजदुर भनेको श्रम गरेर जीविका चलाउने व्यक्ति हो।
खासमा मजदुरको परिभाषा निकै फराकिलो छ। तर धेरैको बुझाइमा कारखाना वा अन्य ठाउँमा निम्न स्तरको काम गर्ने गरिब मानिस नै मजदुर हो भन्ने बुझाइ छ। यो बुझाइ धेरै साँघुरो छ। यसले ठूलो विभाजन निम्त्याएको छ।
एउटा डाक्टरले पनि मानसिक र शारीरिक श्रम गरेको हुन्छ र एउटा कुचिकारले पनि। हामीकहाँ मजदुरले मजदुरलाई हेप्ने चलन छ। यो सोचाइ र प्रथालाई हटाएर सबै प्रकारका श्रम र श्रमिकको सम्मान आवश्यक छ ।
एउटा इञ्जिनियरको घरको नाली बन्द भयो भने त्यो खोल्न अरूलाई बोलाउनुपर्छ। अनि, नाली खोल्ने श्रमिक सानो र त्यो इञ्जिनियर, जो स्वयं श्रमिक हो, ठूलो हुन्छ र ?
त्यस्तै, डाक्टरको घरबाट निस्कने कुहिने र नकुहिने फोहोर उठाउने पनि श्रमिक नै हो । डाक्टर पनि श्रमिक नै। यो चेतना आउन हामीकहाँ अलि समय लाग्ला। फेरि पनि, यो वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबै श्रमिकले अर्को श्रमिकलाई सम्मान गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु।
यसै प्रसंगमा, सबैले बुझ्नेगरी आफ्ना मागसहित अहिले राजधानी काठमाडौंमा शिक्षक, डाक्टर, कर्मचारी र कवाडी सामान जम्मा गर्नेहरू एकैपटक आन्दोलनमा छन्। यसबाट मजदुरको परिभाषा प्रष्टै बुझ्न सकिन्छ।
मे १ हामी सबै श्रमिकहरूको लागि ऐतिहासिक दिन हो। सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने मागसहित सुरु भएको आन्दोलनको सम्झनामा यो दिवस मनाइन्छ। त्यसैले यस दिवसलाई अन्तर्राष्ट्रिय मजदुर दिवस भनिएको हो।
सो आन्दोलनको क्रममा सिकागो शहरको हेय मार्केट भन्ने ठाउँमा ठूलो बम विस्फोट भयो। कसैले जिम्मा लिएन। सोही बहानामा मजदुरहरूमाथि व्यापक दमन भयो। ७ जना निहत्था मजदुर मारिए। आन्दोलनले झन् उग्र रूप लियो। अन्ततः आन्दोलन सफल भयो।
सन् १८८९ मा फ्रान्सको पेरिसमा विश्वभरका श्रम संगठन र श्रमिक नेतृत्वको बैठक बस्यो। त्यसयता सन् १८९० देखि प्रत्येक वर्ष अंग्रेजी महिना मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ।
नेपालमा २००७ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालियो। २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो।
अहिले मजदुर आन्दोलनमा मुख्यतः तीनवटा समस्या छन्।
पहिलो, सबै श्रमिकले आफूलाई श्रमिकको रूपमा स्वीकार गर्न नसक्नु र उस्तै श्रमिकलाई हेय दृष्टिले हेर्नु।
दोस्रो, विश्वभरका राज्यहरू फासिवादको बाटोमा अग्रसर हुनु।
तेस्रो, कृत्रिम बौद्धिकताको आविष्कार।
पहिलो समस्याको बारेमा माथि थोरै चर्चा गरियो। यो अलिकति भावनात्मक र मानवीय विषय हो, मानव संस्कारसँग सम्बन्धित छ। विस्तारै सुधार गर्दै जानुपर्छ। सचेत पहलकदमीका लागि जनचेतना बढाउँदै लैजानुपर्छ।
दोस्रो समस्या राज्यहरूको बदलिँदो स्वरूप हो। विगतमा लोककल्याणकारी राज्यको चर्चा हुन्थ्यो। लोककल्याणकारी राज्य भन्नाले जनता र समाजको हितका लागि सक्रिय रूपमा काम गर्ने राज्यलाई बुझिन्छ।
अहिले विश्वभरका शासकहरूले लोककल्याणकारी मान्यता छाड्दै गएका छन्। राज्यहरू समग्र जनताको नभई, निश्चित जात, समुदाय वा धर्मको मात्रै बनेका छन्। म, मेरो र मेरोलागि भन्ने विचार हावी हुँदैछ। राज्यहरू फासिवादी बाटोमा अघि बढ्दै छन्। यो मजदुर आन्दोलनका लागि थप चुनौती हो। ‘संसारका मजदुर एक हौं’ भन्ने नारा बोकेको आन्दोलनलाई यस्तो फासिवादी दिशाबाट कसरी जोगाउने भन्ने सोच्नुपर्ने भएको छ।
तेस्रो समस्या कृत्रिम बौद्धिकताको आविष्कार र त्यसको बढ्दो प्रभाव हो। हेर्दाहेर्दै यो विषय दशकभरिमै सबैभन्दा चर्चित बन्यो। यति छोटो समयमा यति ठूलो प्रभाव पारेको विषयबाट मजदुर आन्दोलन अछुतो रहन सक्दैन।
केही समाचारहरूमार्फत यो कुरा प्रष्ट हुन्छ:
क. अभिनेता अनिल कपुरले आफ्नो स्वर, छवि, र संवाद ‘झकास’ लाई एआईद्वारा अनधिकृत रूपमा गरिएको प्रयोगविरुद्ध कानुनी कारबाही गरे।
ख. बलिउडका लेखक संघ एसडब्लूएले एआईको प्रभावबारे बैठक आयोजना गर्दैछ।
ग. टी-सिरिज, सारेगामा, सोनी जस्ता कम्पनीहरूले एआई कम्पनीहरूमाथि मुद्दा हाले।
घ. राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए) ले एआईको विरोधमा ठूलो हड्ताल गर्यो।
ङ. एक्टर्स युनियनले ‘डिजिटल क्लोन’ विरुद्ध कानुनी सुरक्षा माग गर्यो।
च. अमेरिकाका सयौं नर्सहरूले ‘ट्रस्ट नर्स, नट एआई’ भन्ने नारासहित प्रदर्शन गरे।
छ. नेसनल एजुकेसन एसोसिएसन (एनईए) र एजुकेसन इन्टरनेसनलले पनि एआई प्रयोगमा शिक्षकको भूमिकालाई संरक्षण गर्न नीति प्रस्ताव गरे।
मानव इतिहासमा आगोको आविष्कारले ठूलो परिवर्तन ल्यायो। त्यसकै आधारमा मेसिन र उद्योग बने, जसबाट मजदुर वर्गको जन्म भयो। आज फेरि यस्तै आक्रमक प्रविधिको उदय भएको छ, एआई। जसले फेरि नयाँ किसिमको बेरोजगारी ल्याउनेछ।
अब डाक्टर, शिक्षक, नर्स, पाइलट, लेखक, कलाकार, पत्रकार जस्ता पेसामा लागेकाहरू प्रभावित हुनेछन्।
त्यसैले अबको मजदुर आन्दोलन परम्परागत ढंगले चलाएर हुँदैन। बदलिँदो यथार्थअनुसार परिमार्जन गर्नुपर्छ।
एउटा मजदरले अर्को मजदुरलाई सम्मान गर्दै, फासिवादी राज्य व्यवस्थाको विरोधमा एकजुट भई, बदलिँदो सूचना प्रविधि विशेषतः एआईलाई सही ढंगले सामना गर्नसक्ने आन्दोलन उठाउनु नै आजको मुख्य कार्यभार हो ।
(आचार्य नेकपा माओवादी केन्द्रका नेता हुन् ।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4