Comments Add Comment

हाम्रा सबै समस्या किन निमिट्यान्न हुँदैन ?

समस्याभित्र अवसर पनि

ठोकुवा गर्न सकिन्छ कि तपाईं पूर्णत समस्याबाट मुक्त हुनुहुन्न । सानो वा ठूलो, सहज वा जटिल कुनै न कुनै किसिमको समस्याले तपाईंलाई घेरा हालेकै छ । र, हर दिन तपाईं त्यो उल्झन, त्यो समस्याबाट बाहिर आउने प्रयास गर्नुहुन्छ । अझ भनौ, तपाईंको जीवनको लडाई नै त्यही समस्याबाट उम्कने हो । तपाईंको दिनचर्या नै त्यही समस्यासँग जुध्ने हो ।

आफ्नो हर-प्रयासले तपाईं आफ्नो समस्या हल गर्नुहुन्छ । वा त्यसलाई पर धकेल्नुहुन्छ । तर, यतिबेलासम्म अर्को समस्याले तपाईंलाई पच्छ्याइसकेको हुन्छ । अब अर्को समस्यासँग जुध्न थाल्नुहुन्छ । जसोतसो त्यसलाई पनि पार लगाउनुहुन्छ । तर, तपाईं यतिबेलापनि समस्याबाट पूर्ण मुक्त रहनुहुन्न । कुनै न कुनै समस्याले तपाईंलाई गाँजिरहेकै हुन्छ ।

अर्थात हामी समस्याबाट पूर्णत मुक्त हुन सक्दैनौ । किन ? किनभने हाम्रै आकंक्षा, इच्छा, रहर, योजनाले हामीलाई समस्याको चंगुलमा पुर्‍याइदिन्छ । अतः हामी इच्छा, आकंक्षा, रहर र योजनाबिना बाँच्नै सक्दैनौ । हामी केही गर्ने सोच्छौ । केही बन्ने सोच्छौ । यही दौडमा हामीलाई समस्या वा अप्ठ्यारा आइलाग्छ ।

संसारमा यस्ता मानिस कोही नहोलान्, जो समस्याको घेराबाट मुक्त छन् । उनको समस्या नै छैन । कसैलाई दुई छाक जुटाउने समस्या छ । कसैलाई ऋणभारको समस्या छ । कसैलाई रोगको समस्या छ । कसैलाई आफ्नै कार्यक्षमताको समस्या छ ।

वास्तवमा हामी जन्मदै समस्या लिएर जन्मन्छौ । हामी जन्मनु पनि एउटा समस्या हो । जन्मनु भनेको सांसरिक जीवनमा प्रवेश गर्नु हो । सांसरिक जीवनमा हामी एक्लो र सग्लो बाँच्न सक्दैनौ । यहाँ अनेक किसिमको स्वार्थ, रहर, उदेश्य, सम्बन्ध, दायरामा झेलिएर बाँच्नुपर्छ । यही क्रममा हामीलाई समस्याले पच्छ्याउन थाल्छ ।

समस्यासँग जुध्ने कि भाग्ने ?

हाम्रो दुईथरी प्रवृत्ति हुन्छ । कोही समस्यासँग जुध्छन् । पैठेजोरी खेल्छन् । कोही समस्यासँग भाग्छन् । समस्यालाई छल्ने प्रयास गर्छन् ।

समस्याबाट पार पाउने एउटै बाटो हो, समस्यासँग जुध्नु । समस्यासँग भागेर हामी त्यो सुरक्षित ठाउँमा पुग्न सक्दैनौ, जहाँ समस्या आउनै सक्दैन । समस्याबाट त जति भाग्यो, उत्तिनै लखेट्छ । समस्यालाई जति छल्यो, उत्तिनै घेरा हाल्न थाल्छ । समस्यासँग भाग्ने होइन, जुध्ने नै हो । समस्यालाई सामना गर्ने नै हो ।

हरेक समस्या आफैमा अवसर पनि

समस्याहरुले समस्या मात्र लिएर आउँदैन, साथसाथै सुखद अवसर पनि । भनिन्छ हरेक समस्यासँग आफैमा सुनौलो अवसर पनि हुन्छ । तर, भागेर त्यो अवसर प्राप्त हुँदैन । जब हामी समस्यासँग जुध्छौ । जब त्यसको सही हल वा समधान खोज्नतर्फ लाग्छौ, तब हामीले अवसरको ढोका फेला पार्छौ ।

त्यसैले भनिन्छ, जहाँ बढी समस्या छ, त्यहाँ अवसर पनि उत्तिनै छ ।

समस्याले हामीलाई बाँच्न सिकाउँछ । जीवनको असली स्वाद पनि अनुभूत गराउँछ । सोच्नुहोस् त, तपाईं पूर्णत समस्याबाट मुक्त जीवनको कुनै उपलब्धी देख्नुहुन्छ ?

समस्याले नै मान्छेलाई सही र सार्थक ठाउँमा पुर्‍याउँछ । त्यसैले समस्या छ भनेर दुःख गर्नु, विलौना गर्नु, हतोत्साही हुनुको अर्थ छैन । हरेकसँग समस्या छ । हरेकले आफ्नो जीवनमा समस्या झेलिरहेका छन् । समस्यासँग हामी मात्र किन डराउने ? किन दुःखी हुने ?

कति समस्या आफै हल हुन्छन्

कहिले काहीँ हामीलाई अत्यास लाग्न सक्छ कि हाम्रो सामुन्ने कति धेरै समस्या ? यत्तिका समस्या मैले कसरी हल गर्नु ?

वास्तवमा समस्याहरु आफै पनि हल हुँदै जान्छ । समयसँगै कतिपय समस्या आफै पार लाग्छ । त्यसैले जीवनप्रति आशावादी हुनुपर्छ । यसै सन्दर्भमा एउटा रमाइलो कथा छ ।

समस्यै-समस्याले ग्रस्त एक व्यक्ति त्यसको समधान होला कि भनेर विद्वानकहाँ पुगे । उनले भने, ‘हेर्नुहोस् म समस्या नै समस्याले घेरिएको छु । एउटा समस्या जसोतसो हल गर्छु, अर्को समस्या आइलाग्छ । यस्तो समस्याबाट म आजित भइसकें ।’

विद्वानले उनको समस्या सुनिरहे । तर, कुनै जवाफ दिएनन् । बरु एउटा सर्त राखे । उनको सर्त यस्तो थियो, ‘अहिले मेरा गोठालो विदामा छन् । त्यसैले मैले पालेको उँट हेर्ने मान्छे छैनन् । आज एक रातका लागि तिमीले उँटको गोठालो बस्नुपर्नेछ । त्यसपछि भोलि म तिमीलाई सम्पूर्ण समस्याको हल बताउनेछु ।’

ति व्यक्तिले विद्वानको सर्त स्विकार गरे । विद्वानले थपे, ‘तर, राती तिमी त्यसबेलासम्म सुत्न पाउनेछैनौ, जबसम्म सबै उँट सुत्दैनन् । सबै उँट सुतिसकेपछि मात्र तिमी सुत्नुपर्नेछ ।’

उक्त व्यक्तिले रातभर उँटको गोठालो गरे । बिहान भएपछि उनी विद्वानको अघिल्तिर पुगे । ‘ल मैले तपाईंको सर्त पालना गरे, अब मलाई मेरो समस्याको हल दिनुहोस्’ उनले भने ।

‘के आज राती तिमी सुत्यौ ?’ विद्वानले प्रसंग मोड्दै सोधे ।

‘कहाँ सुत्नु हजुर, एकपटक निदाउन पाइएको छैन । तपाईंले भनेजस्तै सबै उँट एकसाथ सुतेनन् । एउटालाई सुताएँ, अर्को उठ्छ । कुनै उँट चाहि आफै सुत्छ तर अर्कालाई जति सुताउन खोजे पनि सुत्दैन ।’

विद्वानले भने, ‘जवाफ तिमीले भेटिसकेछौ त । यसरी बुझ कि, ति उँट तिम्रा समस्या हुन् । कति उँटलाई तिमीले सुतायौ । कति आफै सुते । कतिलाई सुताउनका लागि हरेक प्रयास गर्‍यौ, तर सुत्दै सुतेन । ठिक यस्तै हो, तिम्रो-हाम्रो समस्या पनि । कति समस्या हामी आफ्नो प्रयासमा हल गर्छौ । जति प्रयास गरेपनि कतिपय समस्याको समधान मिल्दैन । कति समस्या भने आफै हटेर जान्छ, हामीले केही गर्नै पर्दैन ।’

हाम्रो समस्या कहिलेपनि निमिट्यान्न हुँदैन । हामीलाई कुनै न कुनै किसिमको समस्याले पच्छ्याइरहेकै हुन्छ । तर, समस्याको रचनात्मक हल खोज्न सके त्यहाँ अवसरको सुनौलो ढोका पनि खुला हुन्छ । त्यसैले समस्या छ भनेर दुःखी हुनुको कुनै तुक छैन । समस्या छ भनेर निरास हुनुको कुनै अर्थ छैन । समस्या तपाईं, हामी सबैलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment