
२६ जेठ, काठमाडौं । टेकुमा पप्पु कन्ट्रक्सनले निर्माण गरेको नयाँ पुलमा गम्भीर लापरवाही भेटिएपछि परामर्शदाताले नै भत्काउनु पर्ने रिपोर्ट बुझाएको छ । तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पुल नभत्काउने पक्षमा उभिएपछि सडक विभाग अन्योलमा परेको छ ।
मन्त्री महमसेठले सडक विभागलाई टेकु पुल आवश्यक रुपमा मर्मत गरेर सञ्चालन गर्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् ।
‘यो पुलमा स्पानबीचको अन्तर धेरै छ, यो प्रि-स्ट्रेस प्रविधिमा बनेको पुल भएकाले यसमा रेट्रोफिट गर्दा पनि जोखिम घटाउन गाह्रो हुन्छ,’ विभागका एक अधिकारी भन्छन्,’यो पुल भत्काउन कन्सन्टेन्टले नै सिफारिस गरिसकेको अवस्थामा यतिक्कै चलाउनु ठीक हुन्छ जस्तो हामीलाई लागेको छैन ।’
तर, मन्त्री महासेठले पुलबारे थप अध्ययन गरेर बलियो बनाएर सञ्चालनको व्यवस्था गरिहाल्न विभागमाथि दबाव दिएका छन् ।
हाल यो पुलमा सवारी सञ्चालनमा रोक लगाइएको छ । तर, ट्राफिक प्रहरीले कडाई नगर्दा जोखिमपूर्ण रुपमा यो पुलबाट सवारी गुड्ने गरेका छन् । यदि विभागले यो दबाव झेल्न नसके सयौं यात्रुले यही जोखिमयुक्त पुलबाट दैनिक ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने हुन्छ ।
के हो पुलमा भएको त्रुटी ?
झण्डै २० करोड खर्च गरेर बनेका दुबै पुलमा विभिन्न प्राविधिक ‘फल्ट’ देखिएका छन् ।
६० मिटर लामो पुल बनी नसक्दै त्रुटि भेटिएपछि काठमाडौं तत्कालीन दगो शहरी यातायात आयोजनाले पप्पुलाई भत्काउन निर्देशन दिएको थियो । आयोजनाको प्राविधिक परामर्शलाई अटेर गरी पुल जबरजसती आफ्नै किसिमबाट बनाएको छ ।
परामर्शदाता कम्पनीले पुल ढलानका क्रममा तारको ज्याकिङ नमिलेको रिपोर्ट दिएको छ । निर्माण सामाग्रीहरुको ल्याब टेस्ट गरिएको छैन पटक-पटक निर्देशन दिँदा पनि दुबै पुलको ढलान जानकारी नदिई राता-रात गरिएको विभाषका अधिकारीहरू बताउँछन् ।
आयोजनाले सार्वजनिक सूचनामार्फत जवाफ पनि माग्यो । पुलको पक्की आधार संरचना -पि्र स्ट्रेस कंक्रिट ग्रिडर र केबलको ज्याकिङ)को निर्माण गुणस्तहीन भएको विभागको ठहर छ । आयोजनासँग परामर्श तथा सल्लाह नगरी पुलको डेक स्ल्याब निर्माण गरिएको छ ।
दुबै पुल निर्माणमा पप्पु कन्सट्रक्सनसँगै चिनियाँ कम्पनी पनि जेडआईईसी संलग्न छ । तर, निर्माण काम भने पप्पु आफैंले हेरेको थियो ।
पप्पु कन्सट्रक्सन पुल भत्काउन माग गर्दै मध्यस्थता परिषद् (डिस्प्युट बोर्ड)मा पुगेको छ । तर, बोर्डको निर्णय नआउँदै मन्त्री महासेठको दबाव दिएका छन् ।
यो पुल निर्माणका लागि जुलाई २०१६मा सकिने गरी जुन, २०१४ मा सम्झौता भएको थियो । समयमै काम नभएपछि डिसेम्बर, २०१७ सम्म म्याद थपिएको थियो । २० करोड २३ लाख ७५ हजार ६९२ रुपैयाँ लागतमा काम भइहेको यो आयोजना अन्तरगत टेकु र डल्लु पुल बनाउनुपर्ने थियो ।
प्रतिक्रिया 4