Comments Add Comment

योगीकोटी-धकधई प्रसारणलाइन सञ्चालनमा,भैरहवाको विद्युत् आपूर्ति सुध्रने

२७ जेठ, काठमाडौं । रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी-धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । औद्योगिक क्षेत्रको रुपमा तिब्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट संचालनमा आएको हो ।

भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३/११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ ।

योगीकुटी-धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘योगीकुटी सबस्टेसनबाट ४/५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने माग अनुसार विद्युत आपूर्ति गर्न सकिरहेका थिएनौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘योगीकुटी-धकधई प्रसारण लाइन र धकधई सबस्टेसन संचालनमा आएसँगै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङ लगायतका समस्या समाधान हुने छन्, ३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई विद्युत् आपूर्ति दिन सक्नेछौं ।’

उनले भैरहवा सेज परिसर भित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत् दिन सकिने बताए । आफ्नो परिसरभित्र ३३/११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सबस्टेसन निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा संचालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी-धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो ।

आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३को असोजमा ठेक्का सम्झौता भएको थियो । केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

बझाङको बाघथला सबस्टेसन चल्यो

सुदूरपश्चिम प्रदेशको बझाङमा विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि निर्माण गरिएको बाघथला सबस्टेसन संचालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सोमबारबाट संचालन (चार्ज)मा ल्याइएको हो ।

सबस्टेसनबाट  बुंगल नगरपालिका र केदारस्यूँ, वित्थडचिर,थलारा तथा दुर्गाथली गाउँपालिका बासिन्दा लाभान्वित हुने प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले जानकारी दिए ।

उनले बैतडीको खोर्पेबाट करिब ५० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट विद्युत् लगेर बाघथला सबस्टेसनमार्फत वितरण गरिएको बताए । सबस्टेसन निर्माणका लागि २०७४को वैशाखमा ५ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

बबियाचौर सबस्स्टेसन बन्यो

सुर्खेतको ग्रमिण क्षेत्रमा विद्युतीकरणका लागि निर्माण गरिएको ३३/११ केभी बबियाचौर सबस्टेसनको निर्माण सम्पन्न भएको छ । सबस्टेसनबाट सुर्खेतको चार गाउँपालिकामा विद्युतीकरण गर्न सकिने प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।

वीरेन्द्रनगरबाट बबियाचौरसम्मको  करिव ४० किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । लाइन निर्माणमा वन क्षेत्रको प्रयोग लगायतका कारणले समस्या छ । यसले गर्दा निर्माण प्रभावित भएको सिंहले बताए । उनले वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या समाधानका लागि पहल भइरहेको र निर्माणमा कुनै अवरोध नभएमा तीन महिनाभित्रमा बबियाचौरमा विद्युत् पुर्याउन सकिने बताए ।

त्यसपछि सबस्टेसन चार्ज गरी संचालनमा आउने छ । सबस्टेसन निर्माणका लागि २०७२मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसनबाट विद्युत वितरणका लागि टेण्डर भइसकेको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment