Comments Add Comment

गेसोमा गोर्खा स्मारकको लफडा, ‘अविश्वास प्रस्ताव’ मार्फत पदमबहादुर बर्खास्त

पदमबहादुर भन्छन्- बेलायतबाट आएका केही मान्छेले किर्ते गरे

२६ जेठ, पोखरा । गोरखा सैनिकको भेदभाव, असमान व्यवहार, हकहित र अन्यायको लागि आवाज उठाउने उद्देश्यले खुलेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) अहिले छिन्नभिन्न अवस्थामा छ । पदमबहादुर गुरूङको सभापतित्वमा २९ वर्ष अगाडि खुलेको गेसोमा अहिले संस्थापकबीचमै द्वन्द्व चर्केको छ ।

संस्थापक अध्यक्ष पदमबहादुरले बीचमै राजीनामा दिएपछि कृष्णकुमार राई अहिले गेसोका अध्यक्ष छन् । तर, वर्तमान अध्यक्ष राई, संस्थापक अध्यक्ष पदमबहादुर, संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङबीच व्यक्तिगत द्वन्द्वमात्रै होइन, गेसोकै गौरवको आयोजना अलपत्र छ भने विवाद अदालतसम्म पुगेको छ ।

नेपाल र बेलायतमा गोर्खा सैनिकको अधिकारको लामो लडाइँ लडेको गेसोको अगुवाइमा स्याङ्जाको कोल्मा डाँडामा ३ सय रोपनी क्षेत्रफलमा निर्माणाधीन स्मारक पार्क निमाणमा विवाद सतहमा आएको हो  । युद्धमा मारिएकाहरुको सम्झनामा समाधिस्थल, म्युजियम, सांस्कृतिक ग्राम, गोरखा टावर, ६ डिब्बाको रेलसहित स्मारक पार्क निर्माण गर्ने २०६८ सालमै प्रक्रिया सुरु भएको थियो । यो स्मारक पार्कलाई गेसोले ऐतिहासिक गौरवको आयोजनाका रुपमा लिएको थियो ।

यसरी सुरु भयो स्मारक निर्माणको द्वन्द्व

सन् २०१६ मा संस्थापक अध्यक्ष पदमबहादुरले राजनीमा दिए । १२ वर्षसम्म उपाध्यक्ष भएर काम गरेका कृष्णकुमार अध्यक्ष बने । यो बीचमा निवर्तमान र वर्तमान अध्यक्षबीच ठूलै द्वन्द्व चर्कियो । कार्यभार सम्हालेको २ महिनामै अध्यक्ष कृष्णकुमारले गेसोले स्मारक नबनाउने घोषणा गरे । संस्थापक अध्यक्ष पदमबहादुरले त्यसको बिरोधमा पत्रकार सम्मेलन नै गरे । संस्थापकहरुबीच द्वन्द्व चर्किएपछि करोडौं रुपैयाँ स्मारक पार्कका लागि गोरखा सैनिकहरुबाट उठाइए पनि कामले तीव्रता पाएन ।

स्मारक निर्माण गर्न गोरखा स्मारक ट्रष्ट गठन गरिएको थियो । त्यही ट्रष्टको संस्थापक अध्यक्ष पदमबहादुरलाई अविश्वासको प्रस्तावमार्फत हटाइएर उपाध्यक्ष जंगबहादुर गुरुङलाई अध्यक्ष बनाइएपछि पछि यो विवाद अदालतसम्म पुगेको हो । संस्थापक अध्यक्ष पदमबहादुरले वर्तमान अध्यक्ष जंगबहादुर, सचिव डा. चन्द्र गुरुङ र संस्था नवीकरण गर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाएर उच्च अदालत पोखरामा रिट दायर गरेका हुन् ।

पदमबहादुरले दायर गरेको रिटमा अध्यक्षबाट अविश्वास प्रस्तावमार्फत हेटाइनुको आधार खोज्दै आफैंलाई अध्यक्षमा यथावत राख्न भनेका छन् । गेसोका संस्थापक सचिव तथा ट्रष्टका वर्तमान सचिव डा. चन्द्र गुरुङले संस्थालाई बचाइराख्न, उद्देश्यअनुसारको परियोजना अगाडि बढाउन पदमबहादुरले वाधा परेकाले अविश्वासको प्रस्तावमार्फत हटाइएको उल्लेख गर्दै रिट खारेट गर्न आग्रह गर्दै अदालतमा लिखित जवाफ पठाएका छन् ।

संस्थापक अध्यक्ष पदमबहादुरले सचिव डा. चन्द्रबहादुरले मनपरी गरेको बताउँछन् भने चन्द्रबहादुरले संस्थालाई पदमबहादुरले मुखिया पाराले चलाउन खाजेको बताउँछन् ।

वर्तमान अध्यक्ष कृष्णकुमारले गेसोले स्मारक पार्क नबनाउने घोषणा गरेपछि पुरानो किसाबकिताबसमेत सार्वजनिक नगरिएको चन्द्रबहादुरको आरोप छ । पदमबहादुरले किर्ते गरेर आफूलाई हटाइएको बताएका छन् । बारम्बार आग्रह गर्दा पनि ट्रष्टको बैठक नबोलाउने र नवीकरणसमेत नगर्दा नेपाल सरकारबाट समेत आएको रकम खर्च गर्न नपाउने स्थिति पदमबहादुरले सिर्जना गरेको चन्द्रबहादुरको भनाइ छ । पदमबहादुरलाई अविश्वासको प्रस्तावमार्फत अटाएर बहुमत कार्यसमतिको निर्णयमार्फत जंगबहादुरलाई अध्यक्ष बनाउने निर्णय गरिएको चन्द्रबहादुरको भनाइ छ ।

ट्रष्ट कार्यसमितिले अभिल्लो वर्ष गेसो अध्यक्ष कृष्णकुमार, निराजन राई, योङहाङ शेर्पा लगायत ५ जनालाई अविश्वासको प्रस्तावमार्फत हटाएर अध्यक्षमा पदमबहादुरलाई निर्वाचित गरेको थियो । निर्वाचित भइसकेपछि बैठक नै नबोलाउने, भएका योजना कार्यान्वयन नै हुन नदिने, नवीकरण नगर्ने जस्ता काम गरेको भन्दै गएको चैत ३ गते पदमबहादुरलाई अविश्वासको प्रस्तावमार्फत हटाइएको थियो ।

बेलायतबाट आएका केही मान्छे बसेर किर्ते गरी ट्रष्टको कार्यसमिति बनाइएको पदमबहादुरको आरोप छ । आफूले नै गोर्खा स्मारकको परिकल्पना गरेको बताउँदै धेरै विषय आफूले उठाउने पदमबहादुरले बताएका छन् ।

बेलायतबाट आएका केही मान्छे बसेर किर्ते गरी ट्रष्टको कार्यसमिति बनाइएको पदमबहादुरको आरोप छ । ‘गोरखामा सेवा गरेका पूर्वका राई, लिम्बु समेतलाई समेटी बनाइएको समावेशी र सहभागितालाई खण्डित गरी एकलौटी गर्न चन्द्रबहादुर, जंगबहादुरको कपट र षडयन्त्रपूर्ण कार्य भएको छ,’ पदमबहादुरले रिटमा भनेका छन्, ‘अध्यक्ष जंगबहादुर र सचिव चन्द्रबहादुरलाई काम गर्न नदिनू, म निवेदकलाई अध्यक्षका रुपमा यथावत काम गर्न दिनु उच्च उदालतबाट आदेश भइ न्याय पाउँ ।’

साल्मेडाँडामा खानेपानी निर्माणमा सरकारबाट बजेट पर्दासमेत पदमबहादुरले निकासी रोक्ने प्रयास गरी दुख दिएको डा. चन्द्रबहादुरको आरोप छ । ‘पदमबहादुर र कृष्णकुमारले स्मारक निर्माणमा पटक पटक असहयोग गरेका छन् । पहिले आफूहरुले उठाएको पैसाको हिसाबकिताब पनि नदिने र काम अगाडि बढ्ने पनि नदिने जंगे पारा पदमबहादुरले देखाउनुभयो,’ डा चन्द्रबहादुरले भने, ‘स्मारक निर्माणमा एउटा थिति बसाल्ने प्रयन्त गरिरहेको हुँ ।’

ट्रस्टबाट काम नभएपछि चन्द्रबहादुले बेलायतमा गोर्खा हेरिटेज गठन गरेर स्मारक निर्माणलाई निरन्तरता दिँदा दुख दिइएको बताए । ‘काम नै अलपत्र पर्ने भएपछि हामीले निरन्तरता दिन खोजेका हौं,’ चन्द्रबहादुरले भने, ‘यसअघि के कसरी पैसा उठाइयो । कहाँ कहाँ खर्च भयो भन्ने थाहा छैन । हामी अहिले सबै कारोबार बैंकमार्फत गछौं ।’

सरकारी बजेटमार्फत काम गर्नुपर्ने भएकाले संस्थालाई व्यवस्थित बनाउन लागिएको उनको भनाइ छ ।

पैसाको हिसाब-किताब छैन, स्मारकको काम ठप्प

स्मारक निर्माण गर्ने भन्दै ठाउँ–ठाउँ आर्थिक संकलन गरियो । संस्थापक अध्यक्ष पदमबहादुरले त्यतिबेला ८/१० करोड रुपैयाँ संकलन भएको बताउँछन् भने चन्द्रबहादुरहरुले १८–२० करोड रुपैयाँ उठेको बताउँछन् ।
संस्थापक अध्यक्ष पदमबहादुरले स्मारक बनाउन सुरुमा ऋणसमेत लिएको बताउँदै भोलि उनीहरुले खोज्दा त्यो फिर्ता गर्नुपर्ने बताएका छन् । उनले उठाएको रकममध्ये ४/५ करोड रुपैयाँमात्र सम्बन्धित ठाउँमा खर्च भएको अरु केकेमा खर्च भयो भन्ने नरहेको अन्यको आरोप छ ।

‘ऋण लिएको भने त्यसको दस्तावेज हुनुपर्‍यो । एउटा आधिकारिक बैंक एकाउन्ट त थिएन भने त्यो पैसा कहाँ, कसरी राखियो,’ डा. चन्द्रबहादुरले भने, ‘२०१६ यताको कति के हो भन्ने नै हिसाब–किताब छैन ।’

स्मारक निर्माण गर्न सहरी विकास मन्त्रालयमार्फत ५ करोड रुपैयाँ बिनियोजन भएको थियो । अहिले त्यो रकमबाट हुने कामसमेत ठप्प छ । ५ करोड रुपैयाँँले स्मारकको खण्ड छुट्याएर गजेन्द्रप्रकाश मल्लले ठेक्का लिएका थिए । उनले राजनीतिक लबिङ र अर्कालाई पेटी ठेक्का दिएका कारण समयमा काम नसकिएको ट्रष्ट कार्यसमितिको भनाइ छ ।

आफूले नै गोर्खा स्मारकको परिकल्पना गरेको बताउँदै धेरै विषयहरु आफूले उठाउने पदमबहादुरले बताएका छन् । गोर्खाहरुको अधिकारको लडाइँ लड्ने गेसोका संस्थापकबीचको द्वन्द्वले उनीहरुले बनाउने भनेको स्मारक निर्माणमा पनि मत बाझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment