
४ असार, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित भएको छ ।
बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाको मिति पछि सारिएको जानकारी दिए । प्लस टुको रिजल्ट नआउँदासम्म प्रवेश नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको र सोहीअनुसार प्रवेश परीक्षाको मिति सारिएको उनले बताए ।
प्रवेश परीक्षाका लागि सूचना कुन कानुन अनुसार निकालिएको हो ? भन्दै सांसदहरुले रौनियारलाई प्रश्न गरेका थिए । जवाफमा रौनियारले भने, ‘पुरानै कानुनअनुसार हो । हाल चिकित्सा शिक्षा आयोगले कुनै निर्णय गरेको छैन । त्यसैले शिक्षा मन्त्रालयको पत्रअनुसार पुरानै ऐनअनुसार काम अगाडि बढाइएको थियो । तर, अहिले शिक्षा मन्त्रालयकै आग्रहअनुसार मिति सारिएको छ ।’
प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो । त्यो सूचना चिकित्सा शिक्षा ऐनविपरित भन्दै मंगलवारको बैठकमा सांसदहरुले प्रतिष्ठानले निकालेको प्रवेश परीक्षाको सूचना रद्द गर्न माग गरेका थिए ।
बुधबार उपकुलपति रौनियारले परीक्षाको मिति सारिएको जानकारी दिए । छिटो चिकित्सा शिक्षा आयोग गठन गर्न र प्रवेश परीक्षाको सन्दर्भमा ठोस निर्णय दिने वातावरण बनाउनका लागि उनले समितिलाई आग्रह पनि गरे ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा आयोगले नै एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने र सोही अनुसार हुने ब्यवस्था छ ।
प्रतिक्रिया 4