३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीर मुद्दाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच द्विपक्षीय र क्षेत्रीय मुद्दाबारे कुराकानी भएको हो ।
ट्रम्पले परिस्थिति अप्ठ्यारो भए पनि सकारात्मक कुराकानी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् । ट्रम्पले लेखेका छन्, ‘मेरा दुवै साथीहरु मोदी र खानसँग व्यापार, रणनीतिक साझेदारी तथा भारत र पाकिस्तानबीच काश्मीरमा देखिएको तनाव कम गर्नेबारे कुरा भयो । परिस्थिति अप्ठ्यारो छ, तर कुराकानी राम्रो छ ।’
Spoke to my two good friends, Prime Minister Modi of India, and Prime Minister Khan of Pakistan, regarding Trade, Strategic Partnerships and, most importantly, for India and Pakistan to work towards reducing tensions in Kashmir. A tough situation, but good conversations!
— Donald J. Trump (@realDonaldTrump) August 19, 2019
भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जाको खोस्ने र लद्दाखलाई अलग राज्य घोषणा गर्ने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पसँग गरिएको वार्तालाई अर्थपूर्ण मानिएको छ । किनभने जम्मू कश्मीर मुद्दा संयुक्त राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदमा पनि पुगिसकेको छ ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणमा ट्रम्पले कश्मीर मुद्दामा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए । तर, मोदीले त्यसलाई नकार्दै पाकिस्तानसँग मात्र वार्ता गर्ने बताएका थिए ।
Prime Minister @narendramodi had a telephone conversation today with @POTUS H.E. Mr. Donald Trump. Their thirty-minute conversation covered bilateral and regional matters and was marked by the warmth and cordiality which characterises the relations between the two leaders.
— PMO India (@PMOIndia) August 19, 2019
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल ट्वीटर ह्यान्डलबाट ट्रम्पसँग आधा घण्टा टेलिफोन वार्ता भएको जानकारी दिइएको छ । ट्वीटरमा लेखिएको छ, ‘३० मिनेटको कुराकानीमा द्विपक्षीय र क्षेत्रीय मामलाबारे छलफल भयो र सौहार्दतामा जोड दिइयो जुन दुवै नेताबीचको सम्बन्धको विशेषता हो ।’
भारतीय मिडियाका अनुसार मोदीले पाकिस्तानतर्फ संकेत गर्दै केही नेताहरुले अति उग्र बयान दिनु र भारतविरोधी हिंसालाई बढावा दिनु क्षेत्रीय शान्तिको लागि ठीक नरहेको बताएका थिए । उनले सीमापार आतंकवाद र हिंसाबाट मुक्त हुनु जरुरी रहेकोमा समेत जोड दिए । मोदीले सुरक्षित र लोकतान्त्रिक अफगानिस्तान निर्माणको लागि भारत प्रतिबद्ध रहेको जानकारी पनि ट्रम्पलाई गराएका थिए ।