+
+

ट्राफिकमा धेरै सुधार भएको छ, हिजोजस्तो विकराल छैन : आईजीपी खनाल

‘मलेसिया जाँदा १० किमी हिँड्न ४० मिनेट लाग्यो, नेपालमा दशै मिनेट मात्र हो’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते ११:५६
Photo Credit : फाइल तस्वीर

५ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको बताएका छन् । युवा परिचालन वर्ष–२०७६ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै खनालले ट्राफिक व्यवस्थापन र नियन्त्रणका लागि पद्धति बसाल्ने काम भइरहेको बताए ।

‘अहिलेको जमाना ट्राफिक व्यवस्थापन र नियन्त्रण गर्ने भनेको पद्धतिले हो, हामीसँग भएका संरचनामा ट्राफिक प्रहरीले अहोरात्र खटिएर काम गरिरहेको छ’, उनले भने, ‘धेरै सुधारका काम भएका छन् । हिजो जस्तो विकराल छैन ।’

उनले मलेसियामा जाँदा १० किलोमिटरको बाटो हिँड्न ४० मिनेट लागेको स्मरण गराउँदै भने, ‘यहाँ त १० किमीबाट हिँड्न १० सै मिनेट मात्र हो ।’ उनले सरकारको सहयोगमा केही ट्राफिक लाइट मर्मत भएर सुधार भएको पनि स्मरण गराउँदै भने, ‘नेपाली इञ्जिनियरले पनि ट्राफिक लाइट मर्मत गर्न सक्छन् भन्ने पनि प्रमाणित भइसकेको छ ।’

उनले सडकमा दिनरात खटिने ट्राफिक प्रहरीको दर्दनाक अवस्था देखेर भत्ताको व्यवस्था मिलाइएपछि सडकमा काम गर्न जाँदा जवान उत्साहित भएको बताए । उनले भने, ‘हामी बैंकक, चीन, भारतदेखि अन्य देशको अवस्था हरौं र हामी कहाँ छौं हेरौं ।’ उनले आफू प्रहरी निरीक्षक र डीआईजी हुँदा ट्राफिक महाशाखामा काम गरेको स्मरण गर्दै धेरै परिवर्तन भएको सुनाए ।

उनले ठमेल क्षेत्रमा जाँदा अहिले राहतको अनुभूति हुने बताउँदै भने, ‘पशुपतिको अवस्था पनि सुधारिएको छ । भित्री सडकमा सवारीसाधन प्रवेश निषेध गर्दा तीर्थालुलाई सहज भएको छ ।’

ट्राफिक व्यवस्थापनमा सम्पूर्ण संघसंस्था जागरुक हुनु पनि सकरात्मक भएको उनले बताए । तर, ट्राफिक व्यवस्थापनमा टड्कारो रुपमा रहेको समस्या भनेको सडकको संरचना र सडकलाई अनुशासित बनाउने पूर्वाधार रहेको खनालको भनाइ छ ।

‘तर, यसका लागि माननीय गृहमन्त्रीज्यूमार्फत रोड म्यापको रुपमा अर्थ मन्त्रालयमा प्रहरी प्रधान कार्यालयबाट योजना प्रस्तुत गर्ने काम सुरु भइसकेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?