Comments Add Comment

अर्थतन्त्रको पछिल्लो झलक : मूल्यवृद्धि उकालो, व्यापारघाटा ओरालो

६ कात्तिक, काठमाडौं । बिहीबारमात्रै विश्व बैंकले डुईङ विजनेश सम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गरेको छ । जहाँ नेपालमा व्यवासय गर्ने वातावरण सुधार भएको देखिन्छ ।

विश्व् बैंकले यो रिपोर्ट सार्वजनिक गर्नु ठिक एक दिन अगाडि बुधबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको थियाे । यो विवरणले सरकारका समर्थक र आलोचक दुवैथरिलाई बोल्ने ठाउँ दिएको छ ।

दुई महिनामा अर्थतन्त्रका केही सूचक सकारात्मक छन् त केही नकारात्मक छन् । खासगरी निर्यात वृद्धि र आयात घट्दा सरकार समर्थकहरु दंग परेका छन् । तर, रेमिट्यान्समा आएको गिरावट र मूल्य वृद्दिले गर्दा आलोचकहरुलाई पनि मसला मिलेको छ ।

अर्थतन्त्रका केही सूचकहरुको अब चर्चा गरौं  :

मूल्यवृद्धि झण्डै दोब्बर

दुई महिनाको यस अवधिमा मूल्यवृद्धि उकालो लागेको छ । राष्ट्र बैकका अनुसार भदौमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रह्यो । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ३.८६ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्यवृद्धि अधिक रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

समीक्षा महिनामा नेपालको वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा ३.९९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ३.८६ प्रतिशत र भारतको ३.७० प्रतिशत रहेको थियो ।

व्यापार घाटा ओरालो

चालु आर्थिक वर्षको दुई महिनामा कूल व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको रहेको छ । अघिल्लो आवको तुलनामा दुई महिनामा व्यापार घाटा ३.०५ प्रतिशतले कम भएको हो । उक्त आवको सोही अवधिमा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । अन्य सूचकको तुलनामा ब्यापारघाटाले भने अर्थतन्त्रका लागि राम्रो संकेत गरेको छ ।

यस वर्ष क्रमशः निर्यात वृद्धि र आयातमा भएको संकुचनले व्यापार घाटा न्यूनिकरणको संकेत देखिएको हो । दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापार भने २ खर्ब ४८ अर्ब ५५ लाख रुपैयाँ बराबरको भएको छ ।

नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत प्रष्ट वृद्धि भएको छ । तथ्यांकअनुसार यस वर्ष दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.५ प्रतिशत रहँदा आयातको हिस्सा ९२.५ प्रतिशत रह्यो । अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सामा २५.३८ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आवमा निर्याताके हिस्सा मात्र ५.९ प्रतिशत रहँदा आयातको हिस्सा ९४.१ प्रतिशत रहेको थियो ।

खस्कियो रेमिट्यान्स

मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण मानिन्छ । जसका कारण विदेशिएका नेपालीहरुले पठाएको रेमिट्यान्सले धानेको अर्थतन्त्र भनेर नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्ने गरिन्छ । अर्थतन्त्रमा महत्वपूर्ण भूमिका भएको भनिएको रेमिट्यान्स घटेको छ ।

लगातार बढिरहेको रेमिट्यान्स एक्कासी चालु आर्थिक वर्षको भदौ मसान्तसम्म घटेको हो । यस अवधिमा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेर १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ भित्रिएको थियो ।

विदेशी विनिमय सञ्चिति

राष्ट्र बैंकको तथ्यांकअनुसार बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३१.१ प्रतिशत, ६९.६ प्रतिशत र ३०.२ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपात क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट वृद्धि भइ २०७६ भदौ मसान्तमा १० खर्ब ७८ अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ भदौ मसान्तमा ९ अर्ब ४४ करोड कायम भएकोछ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ भदौ मसान्तमा रु.९ खर्ब ३२ अर्ब ६० करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१ खर्बए ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ भदौ मसान्तमा १ खब ४६ अर्ब ३३ करोड पुगेको छ । २०७६ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

सेयर बजार डामाडोल

अर्थतन्त्रको ऐना मानिने पुँजी बजारको हालत पनि राम्रो छैन । २०७५ भदौ मसान्तमा १२५६.५ विन्दुमा रहेको नेप्से सूचकांक २०७६ भदौ मसान्तमा ८.४ प्रतिशतले ह्रास भइ ११५०.७ कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकांक १२५९.० रहेको थियो ।

नेप्से परिसूचकमात्रै होइन सेयर बजारको पुँजीकरण समेत घटेको छ । पुँजीकरण वाषिर्क विन्दुगत आधारमा २.३ प्रतिशतले ह्रास भइ २०७६ भदौ मसान्तमा १४ खर्ब ६१ अर्ब ५४ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो ।

२०७६ भदौ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २१८ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १५५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत्कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७५ भदौमा सूचीकृत कम्पनीको संख्या १९६ रहेको थियो ।

सूचीकृत हुने कम्पनीहरुको संख्या बढे पनि सेयर बजारको पुँजीकरण भने एक वर्षमा करिब एक खर्ब रुपैयाँले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment