Comments Add Comment

लाप्राक बस्ती अधुरै छाडेर बाहिरियो एनआरएनए

दुई कार्यकाल फेरियो तर काम सकिएन

७ कात्तिक, गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माणबाट हात झिकेको छ ।

दुई बर्षमा बस्ती निर्माण गर्ने भन्दै २०७२ सालको अन्तिमबाट काम थालेको एनआरएनएले अझै घरहरु बनाइसकेको छैन । पूर्वाधार निर्माणका काम पनि बाँकी नै छ । तर निवर्तमान अध्यक्ष भवन भट्टको कार्यकालको अन्तिम दिन असोज २७ गते एनआरएनए लाप्राकको बस्ती निर्माणबाट अलग भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, एनआरएनए र धार्चे गाउँपालिकाबीच भएको सम्झौताअनुसार अब लाप्राकको बस्ती पुनर्निर्माणको काममा एनआरएनए सहभागी हुने छैन ।

हेर्नुहोस् समझदारीपत्र

अझै बनेका छैनन् घरहरु

२०७२ को विनाशकारी भूकम्पले लाप्राकको बस्ती ध्वस्त बनाएपछि गुप्सीपाखामा सार्न एनआरएनएले करिब १८.३७ हेक्टर वनको क्षेत्रफलमा ५ सय ७३ घर बनउन थालेको थियो । घरको स्ट्रक्चर बने पनि तलामा काठ छाप्ने कामका बाँकी छ । शौचालयहरु पनि बनेको छैन ।

तर आर्थिक अभाव भएको भन्दै एनआरएनएले बस्तीको बाँकी काम गर्न नसकिने बतायो । त्यसपछि प्राधिकरणले एनआरएनए र गाउँपालिकालाई राखेर त्रिपक्षीय छलफल भयो । प्राधिकरणले घर निर्माणको जिम्मा प्राधिकरणकै भएको बतायो । ‘घर निर्माणको बाँकी काम एनआरएनएले नै गर्नुपर्छ किनकी भूकम्प पीडितलाई सरकारले या त तीन लाख दिने हो या घर,’ पुनर्निर्माणका प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अनलाइनखबरसँग भने, ‘यो कामका लागि सरकारले थप रकम दिन सक्दैनौं ।’

गाउँपालिकाले विकल्प दियो, एनआरएनएले त्यसको लागत व्यहोर्छ भने जनतासँग मिलेर काम हामी काम गर्छौं । त्यसअनुसार घरको बाँकी काम र शौचालय निर्माणका लागि चाहिने रकम एनआरएनएले गाउँपालिकालाई दिने भएको छ ।

लागतबारे अध्ययन गर्न प्राधिकरण, एनआरएनए र गाउँपालिकाका प्रतिनिधि रहेको प्राविधिक टोली बनेको छ ।

पूर्वाधार निर्माण अन्यौलमा

घरहरु मात्र बनेर भएन, खानेपानी वितरण, ढल निर्माण, आन्तरिक सडक बनाउनुपर्ने हुन्छ । सुरुमा यो सबै कामको जिम्मा एनआरएनएले लिएको थियो ।

तर घरसमेत बनाउन नसक्ने भन्दै पन्छिएपछि यो कसरी निर्माण गर्ने भन्ने अन्यौल कायमै छ । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले यसका लागि पुनर्निर्माण प्राधिकरण, एनआरएनए र गाउँपालिकाले स्रोत खोज्ने बताउँछन् ।

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले भने प्राविधिक समितिले यसको लागतबारे रिपोर्ट बुझाएपछि थप निर्णय लिइने बताए । उनले भने, ‘घरहरु बन्यो भने पूर्वाधारको हकमा कुनै न कुनै रुपले सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो सोच छ ।’

गैरआवासीय नेपाली संघका तत्कालनि अध्यक्ष शेष घलेको पालामा बस्ती निर्माण सुरु भएको थियो । तर लापरवाही र ढिलासुस्तीका कारण बस्ती निर्माणले गति लिएन ।

घलेले दुई कार्यकाल पूरा गरे भने भवन भट्टले एक कार्यकाल सकियो । भर्खरै मात्र कुमार पन्त नयाँ अध्यक्ष चुनिएका छन् तर एनआरएनएले विश्वभर आर्थिक संकलन गरेर बनाएको बस्ती भने अझै बनेको छैन ।

निर्माण नसकिँदै २९ असोजमा एनआरएनएका तत्कालीन अध्यक्ष भट्ट लाप्राक पुगेर गाउँपालिका अध्यक्षलाई बस्ती निर्माणको सम्पूृर्ण व्यवस्थापन पक्ष हस्तान्तरण गरेका थिए । स्थानीय उम्नी गुरुङलाई निर्माण सम्पन्न भएको एउटा घरको चावीसमेत हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

तर लाप्राककै ४९ परिवारले एकीकृत बस्तीमा घर नपाएको र कतिपयलाई दोहोरो पर्न गएकोसमेत रहेको अध्यक्ष गुरुङले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment