Comments Add Comment

वार्षिक लक्ष्यको ६४ प्रतिशत बजार अनुगमन तीन महिनामै

८ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षमा तय गरेको लक्ष्यको ६४ प्रतिशत बजार अनुगमन तीन महिनामै सम्पन्न गरेको छ । आर्थिक वर्षको तीन महिना अर्थात कात्तिक पहिलो सातासम्म विभागले ६४४ वटा अनुगमन गरेको हो ।

विभागले यस आर्थिक वर्षमा एक हजार वटा बजार अनुगमन गर्ने लक्ष्य लिएको थियो । नयाँ ऐनअनुसार प्रदेश र स्थानीय तहमा पनि बजार अनुगमनको अधिकार प्रत्यायोजन गरेपछि विभागले अघिल्लो वर्षको तुलनामा कार्य क्षेत्र र लक्ष्य संशोधन गरेको छ । उपत्यकाभित्र र बाहिर तीज दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी तरकारी तथा फलफूल, मासुजन्य पदार्थ, खाद्यान्न, खानेपानी, होटल रेष्टुरेन्ट, लत्ता कपडा, विद्युतीय सामान, भाइमसला, फूलमाला लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।

कात्तिक पहिलो सातासम्मको बजार अनुगमन क्रममा २४५ वटा व्यवसायीविरुद्ध कारबाही गर्दै विभागले ४७ लाख १५ हजार रुपैयाँ जरिवाना रकम संकलन गरेको छ । यस्तै ४६ वटा फर्मको कारोबार रोक्का गरिएको, १२३ व्यवसायिक फर्मलाई स्पष्टीकरण सोधिएको, १९९ वटालाई सुधारका लागि निर्देशन दिएको, ११ वटा फर्मको नमूना परीक्षणका लागि संकलन गरिएको, २ वटा फर्मको अनुसन्धान जारी रहेको विभागले जनाएको छ । अनुगमन क्रममा ३ हजार ५८० रुपैयाँ बराबरको खाद्य वस्तु नष्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment