+
+
Shares

माथिको दबाव भन्दै मलाई सिस्नुपानीको देउसीबाट हटाइयो : शैलेन्द्र सिम्खडा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १४:०६

८ कात्तिक, काठमाडौं । सिस्नुपानी नेपालले हरेक वर्षको तिहारमा आयोजना गर्ने हास्यव्यंग्यात्मक ‘देउसी–भैलो’ यसपाली अलि खल्लो हुने भएको छ । कारण, व्यंग्यकवि शैलेन्द्र सिम्खडाको प्रस्तुति यसपालि रहने छैन ।

चोटिला व्यंग्य कवितामार्फत लोकप्रियता आर्जन गरेका सिम्खडा पछिल्ला दुई वर्षको देउसीका आकर्षण बनेका थिए । यसपालि भने माथिबाट दबाब आएको भन्दै आयोजकले आफूलाई प्रस्तुतिबाट वञ्चित गराएको सिम्खडाले बताएका छन् ।

‘चार–पाँच वर्षपछि लागेर उहाँहरुले मलाई देउसीमा सहभागी गराउनुभयो । मैले दुई वर्ष प्रस्तुति दिएँ, जसलाई निकै मन पराइएको पनि थियो । यसपालि पनि मैले आफ्नो तयारी गरिसकेको थिएँ । तर उहाँहरुले मलाई नेताहरुले अप्ठ्यारो मानेकाले यो देउसीमा तपाईंलाई समावेश गर्न सकेनौं भनेर पन्छाउनुभयो,’ अनलाइनखबरसँग सिम्खडाले भने ।

सिम्खडाका अनुसार सिस्नुपानी नेपालका अध्यक्ष टंक आचार्यसँग उनले कुरा गरेका थिए । ‘मेरो प्रस्तुति रहेमा नेताहरु नआउने जस्तो भाव व्यक्त गर्दै उहाँले गज्याङगुजुङ कुरा सुनाउनुभयो,’ सिम्खडाले भने, ‘मलाई पन्छाउन उहाँले नेताहरुको बहाना बनाएको हो वा साँच्चिकै दबाब आएको हो दैव जानुन् ।’

आफ्नो प्रस्तुती नेतालाई बिझाउने र दर्शकलाई रिझाउने खालका हुने भन्दै दर्शकलाई बिझाउने र नेतालाई रिझाउने बाटोमा सिस्नुपानी गएको हो भने त्यो दुर्भाग्यपूर्ण हुने बताए ।

सिम्खडाको व्यंग्य कवितामा राजनीतिक नेतृत्व र चरित्रमाथि कटु प्रहार गरिएको हुन्छ ।

तर, आफ्नो प्रस्तुतीमाथि अहिलेसम्म कुनै पनि नेताले असन्तुष्टि प्रकट गरेको उनको अनुभव छैन । ‘मैले हास्यव्यंग्य क्षेत्रमा ३७ वर्ष बिताएँ । मेरो व्यंग्य वीपी कोइराला, मरिचमानसिंह, गणेशमान सिंहदेखि अहिलेका केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा सबैले हेर्नुभएको छ । तर आजसम्म कसैले तेरो यस्तो भएन भनेर भन्नुभएको छैन । एउटा कार्यक्रममा प्रचण्डसित भेट हुँदा आफैं हात मिलाउन आएर म तपाईंको फ्यान हुँ भन्नुभएको थियो । केपी ओलीले त आफ्नै रुप र आवाजको नक्कल गरिएको व्यंग्य पनि पचाइरहनु भएको छ । त्यसैले नेताहरुबाटै दबाब आयो होला भन्नेमा मलाई त्यति विश्वास चाहिँ छैन’ उनले भने ।

यस विषयमा सिस्नुपानी नेपालका अध्यक्ष आचार्यसँग प्रश्न गर्दा उनले सिम्खडासँग आफ्नो कुरै नभएको दाबी गरे ।

साथै सिम्खडाको प्रस्तुती नराख्न आफूलाई कतैबाट दबाब नआएको पनि प्रष्ट पारे । आचार्यले भने, ‘हामी बाहिरका कलाकारहरुलाई पालैपालो मौका दिने गर्छौं । दुईवटा देउसीमा उहाँ (सिम्खडा)ले प्रस्तुती दिनुभयो । यसपाली उहाँलाई राखिएको छैन । यो हाम्रो निर्णय हो । अमूक नेताको दबाबमा परेर उहाँलाई हटाएका होइनौं ।’

सिस्नुपानीकै हास्यव्यग्य कलाकार मनोज गजुरेलले यदि कसैको व्यंग्यलाई लिएर नै माथिबाट दवाव आएको हो भने त्यो बेठिक कुरा भएको बताए । ‘सिम्खडाजीको विषयमा मलाई विस्तृत थाहा भएन । मैले चाहिँ अहिलेसम्म दबाब महसुस गरेको छैन,’ उनले भने ।

प्रधानमन्त्रीका कारण सर्‍यो कार्यक्रम

२३ वर्ष अगाडि स्थापना भएको सिस्नुपानी नेपालले केही वर्षयता तिहारमा शीर्ष नेताहरुलाई निम्त्याएर व्यंग्यात्मक देउसी भैलो आयोजना गर्ने गरेको छ । यसपाली शनिबार कार्यक्रम आयोजना गर्ने तयारी भए पनि प्रधानमन्त्रीको आग्रहपछि एक दिन सारिएको स्रोतले बतायो । प्रधानमन्त्री अहिले अजरवैजान भ्रमणमा छन् ।

‘प्रधानमन्त्रीले आफू विदेशबाट फर्केपछि कार्यक्रम गर्न सन्देश पठाउनुभएपछि ९ गतेको कार्यक्रम १० गतेलाई सारिएको हो,’ स्रोतले भन्यो । कार्यक्रम आइतबार साँझ हुने छ । यसपाली सिस्नुपानीको व्यंग्यात्मक देउसीसँगै मनोज गजुरेल र सिताराम कट्टेल धुर्मुसको प्रहसन कार्यक्रमको आकर्षण रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?