Comments Add Comment

‘इँटाभट्टाको आगोमा बोरा हाल्दा प्रहरी सँगै थिए’

‘अगाडि सशस्त्रको गाडी, पछाडिको ट्याक्टरमा बोरामा मान्छे’

६ कात्तिक, रौतहट । १२ वर्ष पहिले भएको राजपुर बमकाण्डको आरोपमा क्षेत्र नं. २ का सांसद अफताब आलम पक्राउ परेको विषय यतिबेला देशैभरि चर्चामा छ । ०६४ चैत्र २७ गते भएको सो घटनाका प्रत्यक्षदर्शी समसुल मियाँ विष्फोटपछि आफू राजपुर पुगेको र घटनामा घाइते भएकाहरुलाई इँटाभट्टासम्म लगेको आफूले देखेको दाबी गर्छन् । सोे घटनामा समसुलका ज्वाइँ ओशी अख्तरसमेत मारिएका थिए ।

चैत्र २७ गतेको दिन समसुल बिहान सर्लाहीको लालबन्दीबाट तरकारीको व्यापार गरेर फर्किंदै थिए । समसुल लालबन्दीबाट काठमाण्डौंसम्म तरकारी पठाउने कारोबार गर्थे ।

संविधानसभा निर्वाचनको एक दिनअघि भएकाले चन्द्रनिगाहपुरबाट सरुअठासम्म जाने गाडी पाइएला कि नपाइएला भन्ने चिन्ताका कारण समसुलले आफ्नी छोरीलाई ज्वाइँ ओशी अख्तरलाई मोटरसाइकल लिएर लिन पठाउन भने । छोरीले ज्वाइँ चुनाव प्रचारमा गएको भनेपछि उनले आक्रोशित हुदै ज्वाइँलाई किन पठाएको भनेर कराए ।

‘चुनाव प्रचारका लागि आफताब आलमको मान्छेले राजपुर लिएर गए भनिन् छोरीले, ओशीका ससुरा समसुल भन्छन्, ‘चुनावको एक दिन अगाडि, त्यो पनि राजपुर गएको भनेपछि मलाई मन परेन ।’

मनमा डर लागेकाले चन्द्रनिगाहपुरबाट घर पुग्नासाथ साँझ ज्वाइँ ओशी अख्तरलाई बोलाउन राजपुरतिर हिँडेका समसुलले राजपुर पुग्नुभन्दा अघि नै बाटोमै बिष्फोटको ठूलो आवाज सुने । राजपुरबाट आएको त्यो आवाजले उनलाई बेचैन बनाइसकेको थियो । राजपुर गाउँ पुग्नासाथ गाउँमा मानिसहरु यताबाट उता दौडिरहेको उनले देखेका थिए । उनलाई राजपुरकै सेराजुलले गाउँमा बम विष्फोट भएको बताइएको थियो । आफ्नै आँखा अगाडि बम विष्फोट भएको र त्यसमा तिम्रो ज्वाइँ ओशी अख्तर पनि परेको भन्दै समसुललाई गाउँलेले सुनाएका थिए ।

यो पनि पढ्नुहोस आलम संलग्न अर्को अपराध : जिविस सदस्यलाई झुन्ड्याएर मार्ने उद्योग

‘राजपुर कुडिया बजारको चोकसम्म पुग्दा मान्छेहरुको भागाभाग थियो । विष्फोट भएको ठाउँतिर कसैलाई जान दिइएको थिएन’ चैत्र २७ गतेको साँझ सम्झँदै समसुल भन्छन् ‘प्रहरीहरु र अफताबका मान्छेहरु त्यहाँ थिए । मलाई त्यहाँ जान दिएनन् । डरले गर्दा म गाउँ नजिकैको गहुँबारीमा लुकें ।’

घटनास्थलमा कसैलाई जान नदिएको र त्यहाँको माहोल हेर्दा कसैले देखेपछि आफूलाई पनि मार्छन् भन्ने डरका कारण धेरैबेरसम्म गहुँबारीमा लुकेको उनी सुनाउँछन् । गहुँबारीमा लुकेका समसुलले केही घण्टापछि सशस्त्र प्रहरीको गाडीको पछाडि लागेर एउटा ट्याक्टर इँटाभट्टातर्फ गइरहेको देखेका थिए ।

‘अगाडि सशस्त्रका एसपीको गाडी थियो र पछाडि भएको ट्रयाक्टरमा बोरामा मान्छे कोचेर राखेको थियो’ समसुलले घटना सुनाउँदै भने ‘राति ११ बजेतिरको घटनाको हो यो । एकपछि अर्को बोरा चिमनीमा झारियो । ती बोराहरुलाई केही मान्छेले बोक्दै चिमनीको दाउरा कोच्ने प्वालहरुबाट आगोको मुस्लो निस्केको देखेको थिए ।’

राति इँटाभट्टामा भएका काम गर्ने मान्छेहरुलाई घर पठाएर घाइतेहरुलाई आगोमा पोलिएको उनले बताए । रातिको समयमा सशस्त्र प्रहरीका तत्कालीन एसपीसमेत सोही स्थानमा रहेको उनको दाबी छ ।

समसुलका ज्वाइँ ओशी अख्तरमा वैदेशिक रोजगारीका लागि दुबई गएर दुई महिनाअघि मात्रै गाउँ फर्किएका थिए । निर्वाचनपछि फेरि उनी कामका लागि दुबई फर्किने योजनामा थिए । तर, चुनाव प्रचारका लागि हिँडेका ओशी अख्तर फेरि कहिल्यै फर्केर घर आएनन् ।

प्रहरी प्रशासनकै मिलेमतोमा जघन्य अपराधलाई पनि दबाइएको बताउँदै समसुल भन्छन् ‘छोरा ओशी अख्तरका हत्यारालाई कारवाहीको माग गरिरहेकी आमा रोक्सानालाई पनि पछि अपराधीहरुले मारे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment