Comments Add Comment

र्‍याप भनेको भजन होइन, तर….

मेरो ७ वर्षे छोराको मुखमा झुण्डिएको छ भि–टेनको गीत– हामी यस्तै त होनी ब्रो । उ गाउँदै हिँड्छ यस्ता शब्दहरु–

झ्याप हुादै हिँड्छु म…
नयाँ र्‍याप सुनाइदिन्छु ल…
थाइल्यान्डको माल हान्छु
बनारसको पान खान्छु
भात खान्छु बेलायतको
हग्न आउँछु काठमाडौं

कक्षा १ मा पढ्ने बच्चाले ‘थाइल्यान्डको माल हान्छु’ भन्ने शब्दको निहितार्थ पक्कै बुझेको छैन । तर, यदि तपाईंले टिकटक हेर्ने गर्नुभएको छ भने धेरै युवतीहरुले यिनै शब्दमा रमाउँदै अभिनय गरेको देख्नुभएकै होला । यो टिकटकमा भाइरल नै भएको गीत हो ।

हो, र्‍‍याप भनेको भजन होइन । यसमा ‘स्ल्याङ वर्ड’ प्रयोग गर्ने चलन विश्वव्यापीरुपमै छ । तर, यसको पनि सीमा हुन्छ । र्‍‍यापका नाममा अश्लील र नराम्रो सन्देश दिने शब्दहरु प्रयोग गर्नु अनुचित हो ।

गीत भनेको साहित्यकै एक विधा हो । यसले मन मस्तिष्कलाई छुनुपर्छ । सकारात्मक भाव जागृत गर्नुपर्छ । त्यो नसके पनि कम्तिमा नकारात्मक भावचाहिँ उत्पन्न गर्नुहुँदैन ।

भिटेनलाई अश्लीलता फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीको बर्दीमा गाँजा सेवन गरिरहेको फोटो पनि फेसबुकमा हालेको आरोप पनि छ उनीमाथि ।

भिटेन पक्राउ परेपछि मैले उनले गाएका अन्य केही गीतहरु सुनेँ । सबैजसो गीतमा उनले छाडा शब्दहरू घुसाएकै पाएँ । मानौं, अश्लीलता नै र्‍‍यापको सबैभन्दा आधारभूत तत्व हो । .. चि… चा…मु… जस्ता शब्दहरु उनका धेरै गीतमा प्रयोग भएका छन् । छाडा शब्दकै कारण भिटेनमाथि स्टेजमै आक्रमणका घटना पनि भएका थिए ।

गीत सुन्ने कुनै निश्चित वर्ग त हुँदैन । तर, र्‍‍यापका दर्शक/स्रोता भनेका खासगरी युवा युवती हुन् । छाडा शब्दले उनीहरुलाई चाँडै आकर्षित गर्न सक्छ र, त्यस्तो गीतले चाँडै भ्युज पनि बटुल्छ । गीतको लोकप्रियता बढ्दै जाँदा बालबालिकासम्म पुग्छ । सबैभन्दा ठूलो खतरा यहीँ छ ।

मेरोजस्तै धेरै अभिभावकका बच्चाहरुले भिटेनको गीत गुन्गुनाउँछन् होला । उनीहरुले के सिक्छन् ? रक्सी, चुरोट, गाँजा खान ? महिलालाई ‘माल’ भन्न ?

यही गीतका थप केही शब्दहरुः

थरीथरी चुरोट खान्छु, थरीथरी रक्सी
थरीथरी खैरे भेट्छु अन्तर्राष्ट्रिय हब्सी
पुलिस चौकीभित्र गर्छु दारु खाँदै मस्ति
करोडौंको लोन दिएँ शाहरुख खानलाई अस्ति
हाँस्छु हँसाउँछु म, नाच्छु नचाउँछु
चिल्याक्स पारामा मासु चपाउँछु
झाडू लगाउँछु म डाडू ठटाउँछु
पार्टी हान्न आइज बरु दारु मगाउँछु
गाँजा सल्काउँछु म गाना घन्काउँछु
नचाइदिन्छु आमा, बाबु दाजु र भाउजू
जुत्ता लगाउँछु म डोकसाइड
पाइन्ट लगाउँछु म कोटराइज
डन्ठेहरुलाई फक साइन
अनि हान्दै हिँड्छु म थगलाइफ

बोलीचालीमा प्रहरीलाई ‘डन्ठे’ धेरैले भन्लान् । तर, यही शब्द गीतमा प्रयोग गर्न मिल्दैन । ‘डन्ठेलाई फक साइन’ भन्नु अभद्र मात्र होइन, आपत्तिजनक नै हो । त्यसैले यसमा प्रहरीको ध्यान खिचिनु स्वाभाविक थियो ।

भिटेनका लागि सच्चिने अवसर

भिटेन अहिलेको पुस्ताका सबैभन्दा लोकप्रिय र्‍‍यापर हुन् । युवायुवतीमा उनको गज्जबको क्रेज छ । अश्लीलताकै सहारामा उनले यो क्रेज बनाएका पक्कै होइनन् । उनमा प्रतिभा छ । तीन करोड जनसंख्या भएको देशमा एउटा र्‍‍यापले २ करोड भ्युज बटुल्न त्यसमा केही दम हुनैपर्छ ।

‘हामी यस्तै त होनी ब्रो’ गीत भर्खरै युट्युवमा आएको होइन । महिनौं अगाडि अपलोड भएको र टिकटकमा भाइरल भएको गीतमा अहिले आएर मात्र किन प्रहरीको ध्यान गयो ? सम्भवतः यसअघि उनको लोकप्रियताले गर्दा प्रहरी हच्किएको थियो । अस्ति मात्रै ‘तिहार गीत’ लाई उछृंङ्खल तरिकाले प्रस्तुत गरेको भनेर गायक दुर्गेस थापालाई पक्राउ गरेको प्रहरीले राम्रै प्रतिक्रिया पायो । त्यसैले भिटेनलाई समात्ने आँट गरेको हुनुपर्छ ।

युट्युवबाट गीत हटाउने शर्तमा दुर्गेस त छुटे । तर, भिटेनमाथि चाहिँ प्रहरीले कडा रवैया देखाएको छ । उनको गीत युट्युवबाट हटाएर मात्र प्रहरीले सन्तोष मानेन । उनीमाथि मुद्दा नै चलाउने तयारी गरेको छ ।

भिटेनप्रति प्रहरीको आक्रोश पनि सम्भवतः उनका गीतमा प्रहरीप्रति लक्षित केही शब्दहरुकै कारण हुनुपर्छ । तर, यसले उनका फलोअर्सहरुमा आक्रोश पैदा गर्न सक्छ । तटस्थ व्यक्तिहरुले पनि उनलाई मुद्दामै लैजानुभन्दा प्रहरीले एकपटक मौका दिँदा राम्रो हुन्छ भन्ने ठानेका छन् । आइन्दा छाडा शब्दहरु प्रयोग नगर्ने शर्तमा छाडिदिएको भए हुन्थ्यो भन्ने धेरैको मत छ ।

भिटेनका लागि यो सच्चिने अवसर हो । अश्लील र छाडा शब्दहरुको सहारा बिना पनि उनले आफ्नो क्रेजलाई यथावत् कायम राख्न सक्छन् । र्‍‍यापको कलात्मक पक्षमा उनी अब्बल छन् । शब्द चयनमा मात्रै सावधानी अपनाए हामीले हाम्रा बच्चाहरुले उनका गीत गाउँदा चिन्तित बन्नुपर्ने थिएन । कम उमेरमै आज उनले जुन ख्याति कमाएका छन्, त्यो लोभलाग्दो छ । उनले आफूलाई अलिकति सच्याएर यो ख्यातिलाई दिगो बनाउनुपर्छ ।

भिटेन यसकारण पनि सच्चिनु आवश्यक छ कि आज उनको नक्कल वा अनुशरण गर्ने युवाहरुको ठूलो जमात छ । र्‍‍यापरका रुपमा आफूलाई चिनाउन चाहने धेरैले उनलाई पछ्याउनेछन् । उनले अश्लीलता सिकाए भने नेपाली र्‍‍याप झनै विकृत भएर जाने छ । अहिले तपाईं युट्युवमा धेरै ‘र्‍‍याप ब्याटल’ देख्नुहुन्छ । जसमा छाडापनको पराकाष्टा हुन्छ । ती सबैमा प्रहरीले आँखा पुर्‍‍याएर साध्यै छैन । त्यसैले नयाँ पुस्ताका र्‍‍यापरहरुलाई भिटेन जस्ता स्टारहरुबाट सही स्कुलिङ आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment