+
+
Shares

‘छोरालाई कुपोषण भएको रहेछ म धामी, झाँक्रीतिर लागें’

म आफू पनि कुपोषित छु । मजदूरी गरेको पैसाले बजारको चामल किनेर खान्छौं । कुनै दिन खाना पुग्दैन, कहिलेकाहीं त एकछाक मात्रै खाएर दिन कटाउनुपर्छ । छोराछोरीको मुखमा चारो हाल्न धौ–धौ हुन्छ, आफूले कहाँ राम्रो खान पाउनु !

अपुसरा नेपाली (३५) कालीकोट अपुसरा नेपाली (३५) कालीकोट
२०८२ वैशाख २६ गते २०:२२

मेरो नाम अपुसरा नेपाली हो । म कति वर्षकी भए मलाई नै थाहा छैन । तर श्रीमान्‌ले भने अनुसार म ३५ वर्षकी भएँ । मेरो घर कालीकोटको पलाँता गाउँपालिका–५ मा पर्छ । घरमा ९, ७ र ५ वर्षका तीन छोरी र श्रीमान् छन् । श्रीमान् पनि बुढा छन् । छोरीहरू स्कूल जान्छन् ।

मेरो विवाह सानै उमेरमा भएको हो । अहिले त मेरो उमेर थाहा छैन भने विवाह भएको उमेर थाहा हुने कुरै भएन । यति मात्रै थाहा छ कि म विवाह गर्दा एकदम सानी थिएँ । विवाह भइसकेपछि पर सर्ने भएकी हुँ । सानै उमेरमा घरबाट विवाह गरिदिएका हुन् ।

अहिलेसम्म म ७ पटक गर्भवती भएँ । तीन वटा बच्चा खेर गए, ४ वटा छन् । लगातार तीन वटी छोरी जन्मिए । छोरो नहुँदा सबैले अपुतो भनेर हेला गर्थे । धेरै देउतालाई भाकल गरेपछि यो छोरो जन्मिएको हो ।

यही छोरो पनि दिनदिनै बिरामी हुन थालेपछि गाउँमा धामी, झाँक्री, झारफुक केही बाँकी राखिनँ । सबै गरें, तर सञ्चो भएन । धेरै देउतालाई भाकल गरेपछि जन्मिएको यो छोरो पनि तल–माथि भयो भने त हाम्रो किरिया गर्ने मान्छे नै हुनेछैन । गाउँलेहरूले हेला गर्छन् ।

छोरालाई धामी, झाँक्री गरेर पनि सञ्चो नभएपछि घर नजिक पर्ने स्वास्थ्य चौकीमा देखाएँ । त्यहाँका स्वास्थ्यकर्मीले सुर्खेत लगेपछि ठिक हुन्छ भने । तर मसँग छोरालाई सुर्खेत ल्याएर उपचार गर्ने पैसा थिएन । पछि कुपोषण भएकाहरूलाई गाउँपालिकाले सहयोग गर्छ भन्ने सुनेपछि गाउँपालिका गएँ ।

गाउँपालिकाले मलाई सुर्खेत आउने पैसा दियो । मलाई श्रीमान्‌ले लिएर आएका हुन् । म सुर्खेत पनि पहिलो पटक आएकी हुँ । छोरो अहिले १३ महिनाको भयो । यसलाई यहीं पोषण पुनस्र्थापना केन्द्रमा एक–दुई महिना राख्नुपर्छ भनेपछि श्रीमान् घर गएका छन् ।

म यहाँ आएको पनि डेढ महिना भइसक्यो । बिहान, दिउँसो, बेलुका दिनमा ५–६ छाक खाना खुवाउँछु । छोरालाई सञ्चो भएको छ । श्रीमान् लिन आएपछि घर जाने भनेको अझै लिन आएका छैनन् । कहिले आउँछन् थाहा छैन ।

बच्चा जन्मिएपछि आफ्नो दूध आउँदैनथ्यो, भैंसीको दूध खुवाएर हुर्काएकी थिएँ । जन्मेको तीन महिनासम्म दूध खुवाएँ । त्यसपछि लिटो खुवाएकी हुँ । अहिले बच्चालाई पूरै राम्रो भने भएको छैन ।

कालबाट छोरो त बच्यो, तर गाउँमा फिर्ता हुँदा राम्रो खान नपाएपछि बच्चाको अवस्था पहिलेको जस्तै हुन्छ कि भन्ने डर छ ।

खान–लाउन राम्रोसँग पाउँदैनौं, गाई–भैंसी किन्न पैसा छैन । हामीले धेरैजसो नुनको धुलोसँग भात खानुपर्छ । बच्चालाई पनि त्यही खुवाउने हो, आफू पनि त्यही खाने हो । कमाउने श्रीमान् बुढा भइसके । घरको उब्जनीले ६ महिना खान पुग्दैन । गाउँमा पानीको अभाव हुँदा हिउँदमा पाखो बाँझै हुन्छ । कहिले सडक खन्ने काम गर्छु । कहिले गाउँलेकोमा गएर मजदुरी गर्छु । त्यसैले परिवारको पेट भर्ने कि छोरीहरू पढाउने ! एउटाले कमाएर कति जना पालिन सक्थे र !

म आफू पनि कुपोषित छु, हामी राम्रोसँग खान पाउँदैनौं । मजदुरी गरेको पैसाले बजारको चामल किनेर खान्छौं । कुनै दिन खाना पुग्दैन, कहिलेकाहीं त एक छाक मात्रै खाएर दिन कटाउनुपर्छ । छोराछोरीको मुखमा चारो हाल्न धौ–धौ हुन्छ आफूले कहाँ राम्रो खान पाउनु !

बच्चा पाउन स्वास्थ्य चौकी जान पनि पाइनँ । चार वटा बच्चा घरमै पाएँ । उहिलेदेखि परिवारमा समस्या भयो, खान–लाउन पाइएन । सिस्नु सइनु खायौं । धेरै दुःख पायौं । पेट दुख्यो, रगत बग्यो, चक्कर आयो । दुई तीन दिनकी सुत्केरी हुँदा पनि पेटभरी खान पाइएन ।

फेरि सुत्केरी भएपछि १२ दिनसम्म गोठमै बस्नुपर्ने चलन छ । सुत्केरी भएको बेला खाना पकाइदिने समेत कोही हुन्नन्, आफैं पकाएर खानुपर्छ । खाना पकाउने त परको कुरा सुत्केरीलाई न्वारान नभएसम्म नछुने चलन छ । बच्चा पाउन दुःख भयो, पाइसकेपछि पाल्न पनि दुःख भयो ।

(कालीकोट जिल्लाको पलाँता गाउँपालिका–५, की नेपालीसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?