+
+
Shares

‘कुपोषण अन्त्य गर्न कर्णालीमा आमामाथि गरिने व्यवहार बदल्न जरूरी छ’

कर्णालीको कुपोषण हटाउन चामल वा भिटामिन बाँडेर हुँदैन । किनकि खानाको अभावका कारण कर्णालीका बालबालिका कुपोषित भएका हुँदै होइनन् । यहाँ आमाप्रति गरिने संस्कार, संस्कृति र परम्परागत व्यवहार नै बदल्न जरूरी छ ।

डा. नवराज केसी, बालरोग विशेषज्ञ डा. नवराज केसी, बालरोग विशेषज्ञ
२०८२ वैशाख २६ गते २०:००

पृथ्वीका अन्य प्राणीलाई हुर्कन गाँस, बास र कपास मात्र भए पुग्छ । तर मानिस यस्तो प्राणी हो जसलाई गाँस, बास र कपासले मात्रै पुग्दैन । शारीरिक, मानसिक, सामाजिक, संस्कृतिक रूपमा स्वस्थ हुन सिङ्गो समाज पनि स्वस्थ हुनुपर्दछ । किनकि व्यक्तिको शारीरिक बनोट र मानसिक विकासमा समाजको चालचलन र बानीव्यहोराले विशेष अर्थ राख्छ ।

कर्णालीका सबै आमा र बालबालिका किन पूर्ण रूपले स्वस्थ छैनन् ? अर्थात् कर्णालीका बालबालिकाहरू किन कुपोषित छन् ? भन्ने कुरा जान्न कर्णालीको आर्थिक परिवेश, समाज र संस्कृति बुझ्नुपर्दछ ।

कर्णालीमा पुरुष दाजुभाइ, कमाउन र पेशा व्यवसायका लागि बाहिर हुनुहुन्छ । एकातर्फ घरको सम्पूर्ण काम महिला दिदी–बहिनीको काँधमा छ । यही जिम्मेवारीका कारण आमाहरूले न आफूले समयमा खाना पाउनुहुन्छ न बच्चालाई दूध खुवाउन पाउनुभएको छ ।

अर्कातर्फ गर्भावस्थादेखि आमालाई उचित स्याहारसुसार चाहिन्छ । बालबालिकाको ७० प्रतिशत वृद्धि विकास आमाको गर्भमै हुन्छ । जन्मपछि हरेक बालबालिकाले काखमा बस्दा मेरी आमा कति खुशी र तनावमुक्त छिन् भनेर बुझिरहेको हुन्छ । तर गर्भावस्था र सुत्केरी अवस्थामा श्रीमतीले श्रीमान्को साथ पाउन सक्ने अवस्था छैन । यसले गर्दा पनि कर्णालीका आमा र बालबालिका कुपोषित छन् ।

कुपोषणको दोस्रो कारण हाम्रो संस्कार, संस्कृति र परम्परा हो । नियम र कानूनले बालविवाहलाई बन्देज गरेको छ । तर हाम्रो समाजमा परम्पराकै रूपमा अहिले पनि बालविवाह भइरहेको छ । कलिला आमाबाट जन्मेका बालबालिका कुपोषित हुने उच्च जोखिम हुन्छ ।

अझ कतिपय ठाउँमा त बालबालिकाप्रति गरिने गलत चालचलन छन् । उदाहरणका लागि कुनै बालबालिका धेरै रोयो, पातलो दिसा गर्‍यो भने आमाले खाना बार्नुपर्ने चलन छ । आमालाई पोषणयुक्त खाना खुवाउनुको सट्टा दाल र भात मात्रै खुवाउने चलन छ ।

त्यस्तै महिनावारी अवस्थामा फलफूल र दूध–दही खानुहुन्न भन्ने गलत चलन हाम्रै समाजमा छ । यस्ता गलत आनीबानी, चालचलन, परम्परा र संस्कृतिका कारण पनि बालबालिका कुपोषणको शिकार भएका छन् ।

कर्णालीका बालबालिका कुपोषित हुनुको अर्को कारण पुरुषवादी सोच हो । घरमा खाना पाकेपछि प्रायः शुरूमा पुरुषलाई दिइन्छ । परिवारका अन्य सदस्यले खाएपछि मात्रै आमाले खाना खाने चलन छ । यहाँ सुत्केरी आमालाई समेत पहिले खान दिने चलन छैन । यस्तो आनीबानीका कारण कतिपय अवस्थामा आमाले पेटभरी खान पाउँदैनन् । कालान्तरमा उनीहरूमा रगत र पोषणको कमी हुन्छ ।

यही चालचलनका कारण कर्णालीका ५० प्रतिशत महिला भित्रभित्रै कुपोषणको शिकार भएका छन् । शारीरिक र मानसिक रूपमा कमजोर छन् । कमजोर आमाबाट जन्मिने बालबालिका कम सिर्जनशील र कम सहनशील हुन्छन् । यदि, कर्णालीका आमा र बालबालिकालाई कुपोषणबाट बचाउने हो भने सबभन्दा पहिले हाम्रो संस्कृतिका कारण आमा र बच्चामा पर्ने नकारात्मक पक्षलाई रोक्नुपर्दछ ।

कुपोषणको अर्को कारण जातीय विभेद हो । संविधान र कानूनले जातीय विभेद निर्मूल भयो भने पनि कर्णालीका गाउँ–गाउँमा सदियौंदेखि जातीय विभेदले जरो गाडेर बसेको छ । कर्णालीमा झन्डै ३० प्रतिशत दलित समुदाय छन् । हुनत दलितभित्रै पनि अझै ठूलो विभेद छ ।

अब जातीय विभेद कुपोषणसँग कसरी जोडिएको छ भनेर केलाउन हाम्रो समाज बुझ्नुपर्दछ । प्रायः दलितहरूको बसोबास खोलानालाको छेउछाउमा छ । अधिकांश दलितसँग आफ्नो जग्गा–जमिन छैन । भएको जग्गा–जमिन पनि उर्वर छैन । उब्जनी भएको अन्नबाली पनि पोषणयुक्त छैन । जग्गा–जमिन नहुनेहरूले पेट पाल्नकै लागि ज्याला–मजदुरी गर्नुपर्ने बाध्यता छ ।

किनेर खान दलितहरू आर्थिक रूपमा सम्पन्न छैनन् । मुश्किलले पेट पालिरहेका दलित समुदायका आमाहरूले पोषणयुक्त खाना पाउनु टाढाको विषय भयो । यसको प्रत्यक्ष असरका कारण दलित समुदायका आमाहरू कम सृजनशील र कमजोर मानसिकताबाट ग्रसित छन् । यसरी कर्णालीमा जातीय विभेदसँग गरिबी जोडिएको छ ।

कर्णालीमा कुपोषण हटाउन सरकारी र गैरसरकारी निकाय वर्षौंदेखि लागिपरेका छन् । तर कुपोषण हटाउँछु भनेर लागेका निकायले पनि यो कुरा बुझेका छैनन् । कर्णालीको कुपोषण हटाउन खाना दिएर वा भिटामिन मात्रै बाँडेर हुँदैन । म त भन्छु खानाको अभावका कारण कर्णालीका बालबालिकाहरू कुपोषित भएका हुँदै होइनन् । आमाप्रति गरिने हाम्रो संस्कार, संस्कृति र परम्परा नै बदल्न जरूरी छ ।

दुई वर्षअघि जाजरकोटमा भूकम्प गएपछि आमा र बालबालिकाको उपचार गर्न गाउँ–गाउँमा पुगें । तर कतै पनि खानाको अभाव देखिनँ । सबैका करेसाबारीमा लटरम्म फलफूल र सागसब्जी थिए । मह थियो र कुखुरा थिए । खान जान्ने हो भने कर्णालीमा पोषणको भण्डार छ । यहाँ पोषणको कमी होइन, अन्य प्रदेश भन्दा धेरै पोषणयुक्त खानाहरू छन् ।

काठमाडौंवासी भन्दा कर्णालीवासीले पोषणयुक्त खाना खाइरहेका छन् । तसर्थ कर्णालीलाई अर्को दृष्टिबाट हेर्न र बुझ्न जरूरी छ । अहिले त एआईको जमाना छ । बालबालिका इन्टरनेटको माध्यमबाट नयाँ–कुराहरू सिक्छन् । कुपोषण हटाउने हो भने विश्वविद्यालय होइन, प्राथमिक तहकै विद्यालयमा लगानी गर्नुपर्छ । सानै उमेरदेखि पोषणयुक्त खाना खान सिकाउनुपर्छ ।

जहिले पनि आमा र बालबालिकाको सम्बन्ध एकदमै गहिरो हुन्छ । गर्भवती महिला र तीन वर्षसम्मको बालबालिकामा गरिने राज्यको लगानी ठूला–ठूला विश्वविद्यालयमा गरिने लगानीभन्दा महत्वपूर्ण हुन्छ । हाम्रो दिमागको ७० प्रतिशत कुराहरू बौद्धिक होस् वा भावनात्मक, सबै आमाको कोख र काखमा विकसित हुन्छ ।

यदि एउटा महिलाको पेटभित्र बच्चा छ र ती महिलालाई त्रास देखाइन्छ, राम्रोसँग खान दिइँदैन, कुटपिट गरिन्छ भने उनको शरीरमा एक प्रकारको त्रासको रसायन बन्न थाल्छ । त्यो रसायन गर्भभित्र रहेको बच्चाको गिदीमा रगतको माध्यमबाट जान्छ र काखमा भएको बच्चाको गिदीमा आमाको दूधबाट जान्छ । त्यसले भावनात्मक विकास हुने बच्चाको गिदीमा नकारात्मक असर पारिदिन्छ ।

अनि पछि गएर बच्चालाई राम्रै कुरा भन्दा वा राम्रै कुरा पढाउँदा पनि त्यसलाई उसले नकारात्मक अर्थात् हिंसात्मक रूपले लिन्छ । अन्ततोगत्वा त्यही बच्चा अगतिलो डाक्टर, नेता वा अरू केही बन्छ । यो कुरालाई हामी सबैले नबुझेसम्म परिवर्तन हुनेवाला छैन ।

कुनै पनि देशको विकास र समृद्धिले त्यहाँका नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । नागरिकको स्वास्थ्य अवस्था र बुद्धिको स्तरले सो देशको विकास र समृद्धिमा अर्थ राख्छ । कुपोषणको दुष्चक्र पुस्तौं पुस्तासम्म रहने र यसले वंशाणुगत नकारात्मक प्रभाव पार्ने प्रमाणित भएको छ ।

अर्थात् हाम्रा पुर्खाहरूमा कुपोषण थियो भने हामीले हाम्रो शरीरमा पोषणको सन्तुलन मिलाए पनि कुपोषणको समग्र प्रभाव र दुष्चक्रबाट बाहिर निस्किन थप पुस्तासम्म कुर्नुपर्ने हुनसक्छ । अहिले भएका र चलेका कार्यक्रमबाट मात्र कुपोषण हट्न असम्भव जस्तै छ । यो राज्यका निकायलाई पनि थाहा भएकै कुरा हो ।

यो प्रदेशका हरेक इन्डिकेटर माथि उकास्ने हो भने तीनै तहका सरकारहरूले गम्भीर रूपमा कुपोषणलाई विकासको एजेन्डा बनाउनुपर्छ । पीठो बाँड्ने पैसा स्थानीय उत्पादन र खानपानको शिक्षामा खर्चिनुपर्छ । यसका लागि राज्य गम्भीर बन्न आवश्यक छ ।

(एक दशकदेखि कर्णालीमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?