Comments Add Comment

सांसदको प्रश्न : ठूला नेता जसले जहाँ बोलाए पनि गइदिने ?

२२ मंसिर, काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा आइतबार ठूला नेताको गाउँस्तरका कार्यक्रम मोहबारे छलफल भयो ।

केही दिनअघि पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल मकवानपुरको मनहरी गाउँपालिकास्तरीय कार्यक्रमको प्रशिक्षणमा गएको विषयमा पनि कुरा उठ्यो ।

‘त्यो पालिका स्तरिय कार्यक्रतालाई प्रशिक्षण दिन म पनि सक्थेँ नि ! ठूला नेताहरु नै ताक्छन् । मलाई पनि बोलाइएको थियो तर, गइनँ’ नेकपा नेता तथा समिति सभापति रामनारायण बिडारीले भने ।

समिति सदस्य सुमनराज प्याकुरेल भन्छन्, ‘यस्तै, हो भने प्रचण्ड (नेकपाका अध्यक्ष पुष्पकमल दाहाल) लाई पनि गाह्रो हुन्छ । जसले जहाँ जस्तो ठाउँमा बोलाए पनि गइदिने ?’

अध्यक्ष दाहालको सचिवालयका अनुसार आइतबार उनी कीर्तिपुरस्थित दुई वटा विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भए ।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पार्टीको काममा केन्द्रित हुनुपर्नेमा भवन हस्तान्तरण जस्तो कार्यक्रममा प्रमुख अतिथि हुँदै हिँडेकोतर्फ संकेत गर्दै नेकपाकै सांसद प्याकुरेलले अध्यक्ष दाहालको टिप्पणी गरेका हुन् ।

आइतबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल त्रिभुवन विश्वविद्यालयले बल्खुमा निर्माण गर्न लागेको भवनको शिलान्यास गर्न पुगेका थिए ।

त्रिविले बल्खुस्थित जनप्रशासन क्याम्पस नजिकै ‘नेशनल एटमोस्फेरिक रिसर्च एण्ड इन्भारोमेन्टल रिसर्च ल्याब्रोटरी (नारेल) को आवासीय भवन निर्माण गर्न लागेको छ । अनुसन्धान केन्द्रका लागि निर्माण गर्न लागिएको भवन शिल्यान्यास गर्न पुगेका मन्त्री पोखरेलले त्यहाँ करिब एक घण्टा बिताए ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका अर्का सदस्य बिना पोखरेल पछिल्लो दुई दशकमा हरेक कार्यक्रममा ठूला नेता वा मन्त्री उपस्थित हुने वा गराउने प्रवृत्ति मौलाएको बताउँछिन् ।

नेकपाबाटै राष्ट्रिय सभा सदस्य भएकी पोखरेल भन्छिन्, ‘२०५७ सालसम्म स्थानीय स्तरका कार्यक्रममा सोही क्षेत्रका नेता नेतृत्वदायी भूमिकामा हुन्थे । तर, ०५७ पछि परिस्थिति बदलियो, जहाँ पनि ठूला नेता, ठूला नेताहरुकै चाहना पनि त्यस्तै देखिन्छ, कार्यकर्तामात्रै दोषी छैनन् ।’

तल्लो तहका कार्यककर्ताले आफूलाई ठूला नेता भेट्ने र कार्यक्रममा सहभागी हुने वातावरण बनाउने ‘टुल्स’ का रुपमा प्रयोग गर्ने गरेको केही सांसदको गुनासो छ ।

‘अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलको समय के छ ? एउटा कार्यक्रम राखेको, भेट्ने समय मिलाइदिन पर्‍यो, कार्यक्रममा जानुपर्छ भनिदिन पर्‍यो भनेर फोन गर्छन्’ नेकपाकै एक सांसद भन्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment