Comments Add Comment

लकडाउन छ, तर दैनिक सयौं मानिस वीरगञ्ज पुग्छन्

१९ चैत, वीरगञ्ज । भारत, मोतिहारीका राज मियाँ काठमाडौंमा वाइरिङको काम गर्थे । कारोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि उनी कामविहीन भए ।

लगातार काम नहुँदा हातमुख जोर्न धौधौ भयो । त्यसैले सँगै काम गर्ने ७ जनमा १७ चैतमा काठमाडौंबाट पैदल नै निस्किए । बुधबार बिहान गण्डकबाट प्रहरीले नियन्त्रणमा लियो ।

‘खान बस्नका लागि पैसा थिएन, राहत पनि मिलिरहेको थिएन । त्यसैले काठमाण्डुबाट हिँडेका हौं,’ उनले भने, ‘यहाँ प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।’

काठमाडौंमै फर्निचरको काम गर्ने बिहार मोतिहारीका मनोज सर्राफसहित तीन जना पनि घर जान भनेर हिँडेका थिए । वीरगञ्ज आइपुग्दा पक्राउ परे । ‘मंगलबार बिहान काठमाडौंबाट पैदल हिँडेका थियौं । बाटोमा ट्रक भेट्यौं र त्यसैमा आएका थियौं’ उनले भने ‘वीरगञ्जमा आइपुग्दा प्रहरीले नियन्त्रणमा लियो ।’

काठमाडौंमै फर्निचरको काम गर्ने रक्सौल परेउवाका लाल मोहम्मद मियाँ पनि श्रीमती र तीन सन्तानसहित घर जान हिँडेका थिए । उनीहरु राति गाडी चढेर जीतपुरसम्म आए । त्यसबाट पैदलै हिडेका उनीहरु ईनर्वा भन्सार पुग्नै लाग्दा प्रहरीले नियन्त्रणमा लियो । उनीहरुलाई लिन भनेर नातामा सालो पर्ने वीरगञ्ज– ११ श्रीपुरका मुख्तार अली आएपनि प्रहरीले दिएको छैन ।

भारतका तैयव अन्सारी काठमाडौंमा काम गर्दै थिए । लकडाउनका कारण काम भएन, खानाकै समस्या हुनथाल्यो । वीरगञ्जका डा. मोहम्मद रफि अन्सारीका काकालाई फोन गरेर समस्या सुनाए । ‘चाचाले म कहाँ आएर बस्नु बोर्डर खुलेपछि जानु भनेर भन्नुभयो’ उनले भने, ‘एउटा साथीले तीन दिन लगाएर बोलेरो गाडीको पास बनाएर ल्यायो । त्यसैमा पाँच जना वीरगञ्ज हिड्यौं ।’

प्रहरीले जहाँजहाँ रोक्थ्यो, उनीहरु त्यही पास देखाउँथे । गण्डक आएपछि अगाडि गाडी जान दिइएको छैन भनेर गाडीवालाले उतारिदिए । ‘पैदल हिड्दै थियौं । प्रहरीले घर कहाँ हो सोध्यो, भारत भन्ने वित्तिकै गाडीमा राखेर ल्यायो’ उनले भने ।

बिहान ७ बजे ल्याएको भएपनि दिउँसो १ बजेसम्म विस्कुत र पानी मात्रै दिएको उनको गुनासो छ ।

ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकायको भवन परिसरमै भेटिइन् अप्सना खातुन । भारत घर भएपनि अप्सना खातुनको श्रीमान कलैयामा मजुदरी गर्छन् । वीरगञ्ज चण्डालचोकमा माइती छ । आमा सकिला विरामी भएको खबर पाएपछि परिवारसहित चण्डालचोक जान निस्किए । कलैयाबाट पैदलै वीरगञ्ज आए ।

तर माइत पुग्नु अगावै प्रहरीले नियन्त्रणमा लियो । ‘लकडाउन थाहा थियो, तर आमालाई सञ्चो नभएकाले निस्कियौं’ उनले भनिन्, ‘वीरगञ्जमा आइपुग्दा प्रहरीले समाएर यहाँ ल्याएर राखेको छ । बिहानदेखि खान पनि पाएको छैन ।’

शिक्षा संकाय भवन परिसरमा भेटिएका जाहिर हवारीको घर सीमावर्ती गाउँ बिहारको सहदेवा सीमा क्षेत्रमा पर्छ । उनी टहलिँदै सीमा क्षेत्रमा आइपुगेका थिए, त्यही बेला प्रहरीले नियन्त्रणमा लियो । ‘सीमा क्षेत्रमै खेत छ, गाउँघरमा आउजाउ भइरहन्छ’ उनले भने, ‘बोर्डरमा आएको बेला प्रहरीले समातेर ल्याइदिए ।’

कोही घर जान भनेर हिँडेका त कोही के कामले हिँडेका ३ सय ६९ जनालाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीकाअनुसार चैत १० गतेबाट अन्तराष्ट्रिय सीमा नाकाबाट आवतजावत रोकेपनि कोही हिँडेरै त कोही गाडीमा वीरगञ्ज पुग्ने क्रम रोकिएको छैन ।

‘लकडाउनमा जो जहाँछन्, त्यही रहनुपर्ने हो । तर विभिन्न जिल्लाबाट मानिसहरु आइरहेका छन्’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र शाहीले भने, ‘उनीहरुलाई के गर्ने कसो गर्ने भन्ने छलफल भइरहेको छ ।’

यसरी मानिस भित्रिँदा संक्रमणको जोखिमसँगै व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी भन्छन्, ‘यसरी ठूलो संख्यामा नागरिक नगर पस्दा नगरबासी असुरक्षित हुन्छन् ।’

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि समन्वय नगरी मानिसहरु जिल्लामा पठाईदिँदा व्यवस्थापनमा समस्या भईरहेको बताएका छन् । ‘ट्रकले, बसले ल्याएको छ, मानिसहरु साइकलमा आइपुगेका छन्’ उनले भने, नाकामा पुगेर फोटो, भिडियो खिचेर हाल्छन् । हैरान भइसकेको अवस्था छ ।’

बारा, पर्सा जान्छु भन्ने वित्तिकै मानिसहरु वीरगञ्ज पठाइदिने उपयुक्त नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment