
२६ वैशाख, काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएका सांसद दिउँसो ४ बजे हुने बैठकमा सहभागी हुन नपाउने सम्भावना बढेको छ ।
शुक्रबार संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना कम रहेको संसद सचिवालयले जनाएको छ ।
शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
उनीहरुको रिपोर्ट संसद बैठकअघि आउने वा नआउने टुंगो छैन ।
संसद सचिवालय अन्तर्गतका स्वास्थ्य इकाइका डा. पुष्प रिजालले शुक्रबार संकलन गरिएका सांसदहरुको रिर्पोट साँढे ४ बजेअघि आउन सम्भव नरहेको बताए । ‘साढ चार देखि ५ बजेपछि रिपोर्ट आउन सक्छ’ उनले भने ।
राष्ट्रिय सभाले शुक्रबार स्वाब संकलन गरिएकाहरुको रिपोर्ट आउन नसक्ने भएपछि उनीहरुलाई बैठकमा सहभागी नगराउने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाले यसबारे निर्णय गरिसकेको छैन ।
तीबाहेक ५४ जना सांसद भने अझै स्वाब संकलनमा छुटेका छन् ।
शुक्रबार संसद बैठकअघि २ सय १२ जना सांसदको मात्र रिपोर्ट आएको छ । उनीहरुमध्ये १ सय ७९ जना प्रतिनिधिसभा सदस्य र ३३ जना राष्ट्रियसभा सदस्य छन् । उनीहरुमा कोरोना संक्रमण नभएको पाइएको इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाका ४ जना सदस्य निलम्बित छन् भने राष्ट्रियसभाका एक जना सदस्य मनोनित हुन बाँकी छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार शुक्रबार स्वाब संकलन गरिएका सांसदहरुको परीक्षण रिपोर्ट बेलुकीसम्म आउन सक्छ ।
संसद सचिवालयका अनुसार बिहिबार स्वाब संकलन गरिएका ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । यीमध्ये २१२ सांसद र अरु संसद सचिवालयका कर्मचारी हुन् ।
प्रतिक्रिया 4