+
+

आयुर्वेदिक औषधि र पुष्पगुच्छा बोकेर बिदा भए निको भएका संक्रमित

कोरोना जितेका वृद्ध भन्छन् – आउँदा डराएको थिइन, फर्कदा खुसी छु

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख २६ गते १८:२४

२६ वैशाख, विराटनगर । कोशी अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा विराटनगर महानगरपालिका १७ का ६० वर्षका इजराइल मियाँ हर्षित देखिन्थे ।

कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका उनी आफूलाई सुरुदेखि नै डर नलागेको बताउँछन् । ‘यहाँ आउँदा डराएको थिइन । अहिले डिस्चार्ज हुँदैछु । कोरोना लाग्यो भनेर यहाँ बसे तर मलाई लक्षण देखिएन’ उनले भने ।

तीन थरी आयुर्वेदिक औषधिको पोको र फूलगुच्छा बोकेका इजराइलले थपे ‘हाम्रो जमाती पनि राम्रो भयो ।’

अस्पतालमा बस्दा प्रशासनले राम्रो व्यवहार गरेको उनले बताए । अस्पतालमा रमजान मनाइरहेका उनी नमाज पढ्न र रोजा बस्न अस्पतालले सहयोग गरेको बताउँछन् । ‘अहिले पनि रोजामा (ब्रत) छु ।’ उनले भने ‘यहाँ बस्दा नमाज पढ्न पनि पाएँ, खुसी छु ।’

लगातार दुई पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि शुक्रबार इजराइलसँगै ७२ वर्षका अर्का संक्रमित पनि डिस्चार्ज भए । डिस्चार्ज भएका ८ जनामा कोरोनाको लक्षण देखिएको थिएन । ‘मलाई पनि कुनै लक्षण देखिएन’ डिस्चार्ज पछि उदयपुरका ४१ वर्षका मुख्तार मियाँले भने ‘स्वस्थ्य छु ।’

शुक्रबार डिस्चार्ज भएकाहरुलाई अस्पतालले आयुर्वेदिक औषधि र फूलगुच्छा दिएर बिदाइ गरेको थियो ।

डिस्चार्ज भएकाहरुलाई डावर च्यवनप्रास, अश्वगन्धा र गिलोई गरी तीनथरीका आयुर्वेदिक औषधि दिइएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । सो औषधि आन्तरिक क्षमता वृद्धिका लागि संघीय सरकारले पठाएका कारण वितरण गरिएको उनले बताइन् ।

९ वैशाखमा त्रसित र हतास मुद्रामा भर्ना भएकाहरु शुक्रबार डिस्चार्ज हुँदै गर्दा हर्षित देखिन्थे । डिस्चार्ज भएका ८ मध्ये एक महिलासहित पाँच जना उदयपुरका, २ जना विराटनगरका र एकजना भारत नयाँ दिल्लीका थिए ।

विदेशीको गुनासो –‘एउटा शौचालय प्रयोग गर्नुपर्‍यो ’

कोरोना संक्रमण देखिएकामध्ये १८ जनालाई कोशी अस्पतालको ठूलो हलमा राखिएको थियो । सो हलमा १६ जमाती र अन्य बसेका थिए । ठूलो हल भएका कारण अस्पतालले दुरी कायम गरेर बेड राखेको थियो ।

शुक्रबार डिस्चार्ज हुँदै गर्दा भारतीय जमातीले धेरै जनाले एउटै शौचालय प्रयोग गर्नुपरेको गुनासो गरे । उनले शौचालय बाहेक अस्पतालको अन्य सेवा ठीकै रहेको बताए ।

घर जाने कि मर्कज ?

शुक्रबार डिस्चार्ज भएकामध्ये महिलालाई उदयपुर पठाइने र सातजनालाई भने विराटनगरको रानी मर्कजमा राखिने प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरले बताएका थिए ।

बुधबार डिस्चार्ज भएका ६ जना भारतीय नागरिकलाई पनि मर्कजमा नै राखिएको छ ।

शुक्रबार डिस्चार्ज भएका उदयपुरका स्थानीय भने घर जान पाउने आशमा थिए । कोरोना पून बल्झिन सक्ने जोखिम हुने भएकाले रानी मर्कजमा बस्नुपर्छ भन्दै चिकित्सकले सम्झाउँदा उनीहरुले असजिलो महुसुस गरेका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?