मोलर प्रेग्नेन्सी गर्भावस्था सम्बन्धि दुर्लभ समस्या हो । सामान्यतया गर्भावस्थामा क्रममा ओभम स्पर्मको सम्पर्कमा आएमा भु्रणमा परिणत हुन्छ । जबकी मोलर प्रेग्नेन्सीमा ओभम (अण्डाशयबाट निस्कने अण्डा) स्पर्मको सम्पर्कमा त आउँछ, तर त्यसबाट भ्रुणको विकास भने हुँदैन ।
बरु असामान्य मासुको डल्ला वा लम्प्स (गिर्खा) बन्ने गर्छ । यो अवस्थालाई चिकित्सकीय भाषामा गेस्टेनशल ट्रोफोव्लास्टिक डिजिज (जी टी डी) तथा हाइडेटिडिफार्म मोल पनि भन्ने गरिन्छ ।
महिलाको उमेर धेरै भएमा पनि यो समस्या आउने गर्छ । त्यस्तै, गर्भाधानका क्रममा कुनै समस्या आएमा वा कुनै प्रकारको गल्तीका कारण पनि यो समस्या निम्तिने गर्छ । त्यसबाहेक, अण्डा वा स्पर्ममा अणुवांशिक समस्या भएमा तथा क्रोमोजममा गडबडी भएमा पनि यो समस्या निम्तने गर्छ ।
यद्यपी, यो समस्या आफैमा हानीकारक भने हुँदैन । समयमै पत्ता लगाएको खण्डमा यसको उपचार सम्भव छ । तर त्यसको लागि मोलर प्रेग्नेन्सीबारे जान्न आवश्यक छ ।
आखिर के हो त मोलर प्रेग्नेन्सी ? कसरी रोकथाम गर्ने ?
के हो मोलर प्रेग्नेन्सी ? कसरी हुन्छ ?
मोलर प्रेग्नेन्सी भएमा ट्रोफोव्लाष्टमा असामान्य तरीकाले वृद्धि हुने गर्छ, र गर्भवती महिलाको गर्भनालमा कोशिका बन्न थाल्छ । केही प्रेग्नेन्सीमा विकासशील भ्रुण हुँदैन । मेडिकल साइन्सले मोलर प्रग्नेन्सीलाई दुई भागमा विभाजित गरेको छ ।
पूर्ण मोलर प्रेग्नेन्सी
मोलर प्रेग्नेन्सी तब हुने गर्छ , जब स्पर्मले खाली अण्डा फर्टिलाइज गर्दछ । अण्डा खाली भएकै कारण त्यहाँ बच्चा पनि बस्दैन । यद्यपी, अण्डा फर्टिलाइज भएकै कारण त्यसमा प्लासेन्टा सामान्य रुपले विकास हुने गर्छ र गर्भावस्थामा हुने हर्मोनको वृद्धि पनि सामान्य तरीकाले हुन्छ । गर्भावस्थाको सुरुवाती चरणमै अल्ट्रासाउण्ड गरेको अण्डमा भ्रुणको अनुपस्थिति पत्ता लगाउन सकिन्छ ।
आशिंक मोलर प्रेग्नेन्सी
पूर्ण मोलर प्रेग्नेन्सीको तुलनामा आशिंक मोलर प्रेग्नेन्सी कम हुने गर्छ । आशिंक प्रेग्नेन्सी तब हुने गर्छ, जब दुईटा स्पर्मद्वारा अण्ड फर्टिलाइज हुने गर्छ । यसबाट जुम्ल्याहा भु्रणको विकास हुनुको साटो गर्भनालमा सामान्य टिस्यूको साथमा असामान्य टिस्यू पनि बन्न थाल्छ । जसले गर्दा गर्भमा भ्रुण त बन्छ, तर केही समय उक्त भु्रणको विकास बन्द हुन थाल्छ । जसका कारण सुरुवाती चरणमा नै महिलाको गर्भपात हुन थाल्छ ।
मोलर प्रेग्नेन्सीमा धेरै कम महिलाको गर्भमा जुम्ल्याहा बच्चा बस्दछ जसमा एकको विकास सही तरीकाले हुने गर्छ भने अर्कोको विकास राम्ररी हुँदैन । जसका कारण असामान्य भु्रणले स्वस्थ भु्रणलाई हानी पु¥याई गर्भावस्थाको अन्त्य समेत हुने गर्छ ।
कसरी पत्ता लगाउने मोलर प्रेग्नेन्सी ?
मोलर प्रेग्नेन्सीका सुरुवाती लक्षण सामान्य प्रेग्नेन्सीसित धेरै हदसम्म मिल्ने गर्छ । जस्तै मोलर प्रेग्नेन्सी भएमा विटा एससीजीको स्तर ह्वात्तै बढ्नुका साथै वाकवाकी लाग्ने गर्छ । त्यसबाहेक, मोलर प्रेग्नेन्सी भएमा जटिल समस्या देखिने गर्छ । जस्तै, रक्तश्राव हुने, भु्रण चलेको महसुस नहुने इत्यादी । किनकी यो सबै लक्षण सामान्य प्रेग्नेन्सीको लक्षण हैन ।
मोलर प्रेग्नेन्सीमा चिकित्सकद्धारा पेल्विक परीक्षण गरेमा शरीरमा भएको असामान्य र हाई एचसीजीको मात्रा पत्ता लाग्ने गर्छ । यदी पेटमा असामान्य तरीकाको सानो वा ठूलो गर्भासय भएमा पनि यो जाचद्धारा मोलर प्रेग्नेन्सी पत्ता लगाउन सकिन्छ ।
गर्भवती महिला वा गर्भावस्थामा गरिने सोनोग्राम यस्तो जाँच हो जसमा मोलर प्रेग्नेन्सी भएमा टेष्टको रिपोर्टमा असामान्य प्लासेन्टा अर्थात ‘क्लस्टर अफ ग्रसेप’ देखिने गर्छ ।
मोलर प्रेग्नेन्सीको कारण
मोलेर प्रेग्नेन्सी आणुवंशिक हुन्छ । र, यो समस्याका कारण परिवारका सदस्य पिडित हुने सम्भावना बढ्ने गर्छ । यदी परिवारमा पहिला कसैलाई यो समस्या भैसकेको छ, लामो समयसम्म गर्भनिरोधक चक्कीको सेवन गर्नुहुन्छ वा धेरै पटक गर्भपात भएको छ भने पनि त्यस्ता कारणले गर्दा मोलर प्रेग्नेन्सी हुने सम्भावना बढ्ने गर्छ ।
त्यस्तै, महिलाहरुमा प्रोटिन, भिटामिन ए तथा फ्याटको कमी भएमा पनि मोलर प्रेग्नेन्सी हुने सम्भावना उच्च हुने गर्छ ।
विशेषगरी २० वर्ष भन्दा कम उमेरका तथा ३५ वर्ष भन्दा माथिका महिलामा मोलर प्रेग्नेन्सी हुने सम्भावना धेरै हुने गर्छ ।
मोलर प्रेग्नेन्सीका लक्षण
मोलर प्रेग्नेन्सी भएमा यसको लक्षण सामान्य प्रेग्नेन्सीमा झै देखिने गर्छ । विशेषगरी गर्भ बसेको पहिलो तीन महिना महिलाहरुमा जुन किसिमको लक्षण देखिन्छ, मोलर प्रेग्नेन्सीमा पनि त्यस्तै लक्षण देखिने गर्छ ।
यसबाहेक पनि मोलर प्रेग्नेन्सी भएमा यी लक्षण देखिने गर्छ ।
–महिनावारी नहुनु
–मर्निङ्ग सिकनेस
–थकाई लाग्नु
–वाकवाकी हुनु तथा वान्ता हुनु
–पाठेघर असामान्य तरीकाले बढ्नु
–रक्तश्राव हुनु
–हाइपर थाइराइडिज्मको लक्षण देखिनु
–मुटुको ढुकढुकी बढ्नु
–तौल कम हुनु
–मांसपेशी कमजोर हुनु
–उच्च रक्तचाप
–खुट्टा तथा पैताला सुन्निनु
के छ उपचार ?
मोलर प्रेग्नेसीको उपचार दुई तरीकाले गर्न सकिन्छ । फेरी गर्भवती हुन चाहनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प भनेको हिस्टेरेक्टोमी हो, जहाँ महिलाहरुको शरीरबाट गर्भाशय हटाइने गरिन्छ । तर यदी तपाई फेरी आमा बन्न चाहनुहुन्छ भने यसको लागि तपाई डाइलेशन र क्यूरेटेज छान्न सक्नुहुन्छ ।
डाक्टर कुनै विशेष औजारको मद्दतले सर्विक्सको एक सानो भागलाई काट्ने गर्छन् । यस प्रकृयामा कुनै किसिमको जोखिम हुँदैन । तैपनि डाक्टरहरु नियमित चेकजाच गर्न सल्लाह दिने गर्छन् ।
साथै, फेरी गर्भधारण गर्नका लागि कुनै समस्या नहोस् भन्नका लागि चिकित्सकहरु यस प्रकृयाका क्रममा रगतको जाँच गर्न पनि सुझाव दिने गर्छन् जसले एचसिजीको स्तर सामान्य भए, नभएको पुष्टि गर्छ । गर्भधारण गर्नमा कुनै प्रकारको समस्या छ र फेरी गर्भधारण गर्न चाहनुहुन्छ भने यो उपाय अपनाएर सिन स्वस्थ तथा सुरक्षित रुपमा गर्भधारण गर्न सकिन्छ । तर यसको लागि यो स्थितिलाई बुझेर सही उपचार आवश्यक छ ।
प्रतिक्रिया 4