+
+

पूर्वमन्त्री डा. डम्बरनारायण यादवको निधन   

रासस रासस
२०७७ कात्तिक २ गते १५:४०

२ कात्तिक, सप्तरी । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आइतबार निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा. यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजयले जानकारी दिए ।

काठमाडौंमा बसोबास गर्दै आएका डा. यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । उनी चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा. यादवको मस्तिष्काघातका कारण निधन भएको अजयले बताए ।

यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री बनेका थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री बनेका थिए । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा. यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न थिए । उनको बथनाहास्थित पैतृक गाउँमा आइतबार साँझ दाहसंस्कार गरिने डा. यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवका एक छोरा र एक छोरी छन् । उनको श्रीमतीको एक वर्षअघि नै निधन भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?