Comments Add Comment

एउटै रकेटमा हालेर चीनले प्रक्षेपण गर्यो १३ वटा स्याटेलाइट

काठमाडौं । चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो ।

शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक उक्त रकेट प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ ।

प्रक्षेपित स्याटेलाइटमध्ये १० वटा व्यवसायिक रिमोट सेन्सिङ्ग स्याटेलाइट हुन्, जो अर्जेन्टिनी कम्पनी स्याटेलोजिकले निर्माण गरेको हो ।

ती १० वटा स्याटेलाइटको हरेकको तौल ४१ केजी छ भने पृथ्वीको कक्षमा आगामी ३ वर्षसम्म काम गर्ने छन् ।

त्यस्तै उक्त रकेटमा चिनियाँ प्रविधि कम्पनीहरुले निर्माण गरेका अरु ३ वटा स्याटेलाइट पनि पठाइएको छ जसबाट रिमोट सेन्सिङका साथै सूचना प्रविधिका विविध वैज्ञानिक परीक्षणको उद्देश्य राखिएको छ ।

त्यसमा एउटा सिक्स–जी परीक्षण स्याटेलाइट रहेको छ । त्यसको तौल ७० केजी छ । उक्त स्याटेलाइटमा टेट्राहर्ज स्याटेलाइट कम्युनिकेसन प्रणाली जडान गरिएको छ । सिक्स–जी परीक्षण स्याटेलाइटको प्रक्षेपणसँगै टेट्राहर्ज अन्तरीक्ष सञ्चार प्रविधिको अन्वेषणमा ऐतिहासिक कदम अघि बढेको चिनियाँ इन्जिनियरहरुको भनाइ छ ।

उक्त स्याटेलाइटका डाटालाई स्मार्ट सिटीको निर्माण, विपदको रोकथाम तथा न्यूनीकरण, भू–योजना तथा वातावरण संरक्षण लगायतका कार्यमा उपयोग गरिने बताइएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment