
८ पुस, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा क्रिसमसमा पनि कोरोना भाइरस (कोभिड–१९) को लागि लगाइएको प्रतिबन्ध नहट्ने भएको छ । सिड्नीका अधिकारीहरुले सामाजिक भेलामा लगाइएको रोक क्रिसमससम्म नै जारी रहने बताएका हुन् । यद्यपि १० जनासम्मको भेलालाई भने छूट दिइएको छ । बुधबार सिड्नीमा कोरोनाका आठ नयाँ संक्रमित फेला परेका थिए । यससँगै मानिसहरुमा कोरोना संक्रमण नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
पछिल्लो एक सातामा सिड्नीमा कोरोनाका ९८ नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो तीन दिनमा मात्रै सिड्नीका एक लाख २४ हजार मानिसमा कोरोना परीक्षण गरिएको छ । अस्ट्रेलियाका अन्य क्षेत्रहरुमा भने पछिल्लो केही समययता कोरोनाका कुनै संक्रमित फेला परेका छैनन् ।
गत साता सिड्नीमा कोरोना संक्रमण देखिएसँगै सिड्नीमा कोरोना नियन्त्रणको लागि मानिसहरुको भेलामा रोक लगाउने घोषणा गरिएको थियो । नयाँ संक्रमण सिड्नीको नर्थन बिच क्षेत्रमा देखिएको हो ।
सिड्नीकी प्रिमियर ग्लाडिज बेरेजिक्लियनले अझै पनि अधिकारीहरुले सबै कन्ट्याक्ट ट्रेसिङ गर्न नसकेको बताएकी छिन् । त्यसैले लकडाउन आइतबारसम्म कायम राख्ने निर्णय गरिएको उनको भनाइ छ । उनले अहिलेसम्म सिड्नीमा सामुदायिक संक्रमण नदेखिएको भए पनि त्यसबाट बच्नका लागि अहिलेदेखि नै प्रयास थाल्नुपर्नेमा उनको जोड छ । स्थानीयहरुलाई आफ्नो क्षेत्रबाट बाहिर जान पनि रोक लगाइएको छ ।
प्रतिक्रिया 4