Comments Add Comment

अमेरिकी विदेशमन्त्रीमा ब्लिन्केनको मनोनयनलाई सिनेटको स्वीकृति

१४ माघ, काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले मंगलबार राष्ट्रपति जो बाइडनले विदेशमन्त्रीका लागि गरेको एन्टोनी ब्लिन्केनको मनोनयन स्वीकृत गरेको छ । मंगलबार उनको मनोनयनको विषयलाई लिएर सिनेटमा भएको मतदानमा मनोनयनको पक्षमा ७८ र विपक्षमा २२ मत खसेको थियो ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा बाइडनको विदेश नीति फरक हुनेछ । यस्तोमा ब्लिन्केन उक्त नीति कार्यान्वयनको लागि सक्षम रहेको सिनेटरहरुले बताएका छन् । सिनेटमा सुनुवाइको क्रममा ब्लिन्केनले बाइडन प्रशासनले यमनमा साउदीले गर्दै आएको सैन्य कारबाहीको लागि अमेरिकी सैन्य सहयोग रोक्ने र ओबामा प्रशासनले सन् २०१५ मा गरेको न्युक्लियर सम्झौतामा फर्किने बताएका थिए ।

इरानसँगको सम्बन्ध ब्लिन्केनको लागि निकै महत्वपूर्ण हुने विश्लेषकहरुले बताउँदै आएका छन् । इरान सम्झौतामा फर्किनु अमेरिकाको लागि त्यति सहज नहुने केहीले बताउँदै आएका छन् । तर, ब्लिन्केनले भने इरानसँग अब लामो समयको लागि विश्वसनीय सम्झौता हुने बताएका छन् । गत वर्ष इरानी जनरल कासिम सुलेमानीको हत्या गरिनुले उक्त क्षेत्रमा अमेरिका कम सुरक्षित भएको ब्लिन्केनको भनाइ छ ।

चीनसँगको नीतिमा भने ट्रम्प प्रशासनकै नीतिलाई निरन्तरता दिइने ब्लिन्केनको भनाइ छ । यद्यपि ट्रम्पका केही कदममा भने उनले असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment