Comments Add Comment

सत्तारुढ नेकपाको सभा : खाजा र दुई सय भत्ता !

दलित, बालबालिका, ज्येष्ठ नागरिक र महिलाको बढी प्रयोग

१३ माघ, सप्तरी । दिउँसोको २ बजे । सप्तरी सदरमुकाम राजविराजमा घाम लागेको थिएन । कुहिरोले डम्म ढाकेको अवस्थामा स्थानीय राज रंगशालामा व्यक्तिको चहल-पहल ठूलै थियो । कति शान्त भएर बसेका थिए भने कतिपय मानिसहरु यता-उता ओहोर-दोहोर गरिरहेका थिए । चिसो हावा बगिरहँदा कतिजना कठ्यांगि्ररहेका थिए ।

यही रंगशालामा थिए सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ नकटीरायपुरका भोला सदा ।  भीडभन्दा अलि पर अञ्दाजी ५० बर्षका देखिने उनी तीनजना महिलासँग बसिरहेका थिए ।

चिसो हावा बढ्दै गएपछि उनले आफ्नो साथमा ल्याएको धोती महिलाको सहयोगमा पट्याउन थाले । पुरानो धोती पट्याएर ओढे । तैपनि उनको शरीर थर्र..थर्र.. काँपिरहेको देखिन्थ्यो ।

तराईको यो जाडोमा घरबाट निस्किने मानिसहरु कमै हुन्छन् । तर, भोला सदा भने घरदेखि १० किलोमिटर टाढा सदरमुकामसम्म आए । ठूलै संकट परेर उनलाई घरभन्दा बाहिर आउनुपरेको अवस्था भने होइन । २ सय रुपैयाँ र खाजा खुवाउने लोभ देखाएर उनीसहित नकटीरायपुरका १५ जनालाई एउटा ट्याक्टरमा बसाएर राजविराज ल्याइएको रहेछ ।

उनीहरुलाई यहाँ प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी -नेकपा) ले आयोजना गरेको आमसभामा सहभागी गराउन ल्याइएको हो ।

‘प्रतिव्यक्ति २ सय रुपैयाँ दिने र खाजा दिने भन्दै आफूहरुलाई यहाँ ल्याइएको छ’ भोलाले भने, ‘अहिले जाडोमा कुनै काम पनि पाउँदिनँ । कम्तिमा २ सय रुपैयाँ त आउँछ भनेर आएको हुँ ।’

भोलासँगै बसिरहेकी सोही ठाउँकी मुक्तादेवी सदाले आफूहरुको घर नजिकै ट्याक्टर पठाएर स्थानीय नेता दुर्गा ठाकुरले कार्यक्रममा ल्याएको बताइन् । ‘भोक पनि लागिसकेको छ,’ उनले भनिन्, ‘खाजा कतिखेर दिन्छ, थाहा छैन ।’

सत्तापक्षीय नेकपाको प्रदर्शनमा तिरहुत गाउँपालिका वडा नम्बर ३ गोइठीबाट झण्डै ६० जना मुसहर समुदायका व्यक्ति पनि आएका छन् । उनीहरुलाई पनि खाजा दिने गरी स्थानीय नेताले यहाँ ल्याएका हुन् । ‘हामीलाई बस चढाएर यहाँ ल्याइएको छ’ गोइठीबाट आएका परमेश्वर सदाले भने, ‘खाजा खान भन्दै स्थानीय उमेश डाक्टरले ४ हजार रुपैयाँ दिएका छन् । त्यो रुपैयाँको खाजा किनिसकेका छौं । अब सभा सकिएपछि खाएर घर फर्किने हो ।’

कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाबाट सभामा सहभागी हुन आएका १५ बषर्ीय बालक इसराइलले आफू र आफ्ना साथीलाई म्याजिक चढाएर यहाँ ल्याइएको बताए । ‘स्थानीय नेता इकाइलले सभामा गए खाजा खुवाउने र ५ सय रुपैयाँ दिने भनेपछि यहाँ आएको हुँ’ साथीहरुसँगै रहेका उनले भने ।

अत्यधिक जाडो रहेको समयमा नेकपाले कार्यक्रम गरिरहँदा राज रंगशालाको एउटा कुनो भरिएको थियो । केही मान्छे छिटफुट भएर बसिरहेका थिए । रंगशालाको खुल्ला आकाशमुनि बस्ने अधिकांश गरीब र दलित समुदायका थिए । उनीहरुमध्ये पनि मुसहर समुदायका अत्यधिक ।

ओली समूहको सभामा ल्याइएकामध्ये हामीले चार दर्जन व्यक्तिसँग कुराकानी गर्दा अधिकांशले खाजा र रकम दिने भन्दै यहाँ ल्याइएको प्रतिकृया दिए ।

बालबालिका, ज्येष्ठ नागरिक र महिलाको बढी प्रयोग

नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेल, मन्त्रीहरु प्रभु साह, लीलानाथ श्रेष्ठ, जुली महतो, नेताहरु रघुबीर महासेठ, सत्यनारायण मण्डल, सुमनराज प्याकुरेलसमेतले सम्बोधन गरेको कार्यक्रममा अधिकांश महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई ट्याक्टर, म्याजिक र बसमा चढाएर रंगशालासम्म ल्याइएको खुलेको छ ।

कार्यक्रममा सहभागी भएका बिष्णुपुर गाउँपालिका गोरगम्माका अन्दाजी १५ बषर्ीय कमलेश सदाको शरीरमा पुरानो ज्याकेट भए पनि आधा शरीर खाली थियो । यत्रो जाडोमा आधा शरीर ढाक्न नपाएका उनी नेकपा ओली समूहको झण्डा बोकेर साथीहरुसँगै खुल्ला आकाशमुनि रंगशालामा रमाइरहेका थिए । उनका साथमा थिए गाउँकै राकेश सदासहितका साथीहरु ।

उनीहरुले आफूलाई साँझमा खाजा खुवाउने भन्दै गाउँकै प्रकाश ठाकुरले कार्यक्रममा सहभागी गराउन ल्याएको बताए । ‘साँझमा खाजा दिने भनेपछि हामी आएका हौं’ बालक राकेश सदाले भने, ‘त्यही भएर ट्याक्टर चढेर आयौं ।’

छिन्नमस्ता गाउँपालिकाको गोविन्दपुरका बरसी सदा ७० बर्षका भए । माघ महिनाको शीतलहरीमा एउटा पुरानो च्यादर ओढेर उनी यहाँ आइपुगेका हुन् । उनले पनि आफूलाई खाजा खुवाउने भन्दै ल्याइएको बताए । उनीसँगै ६० देखि ७० बर्ष उमेर समूहका ७ जना ज्येष्ठ नागरिक भीडभन्दा अलि टाढा बसेर गफ गर्दै थिए । ती ज्येष्ठ नागरिकहरुले आफूलाई बिनोद यादव, राजनारायण यादवसहितकाले बसमा बसाएर ल्याएको सुनाए ।

तिरहुत गाउँपालिका ३ की खकरी देवी सदा आफ्ना ९ बषर्ीय नातिलाई बोकेरै यहाँ आइन् । ‘कहिल्यै मेरो साथै छोड्दैन । त्यही भएर बोकेरै आएकी हुँ’ उनले भनिन्, ‘जाडोमा आउने मन त थिएन । तर, गाउँका अरु मान्छेले जान कर गरेपछि यहाँ आएको हुँ ।’

पार्टीको नामै थाहा छैन

‘कुन पार्टीको कार्यक्रममा आउनुभएको ?’ उत्तरमा रुपनी गाउँपालिकाका भोला सदाले भने, ‘माओवादीको कार्यक्रममा !’

भोलाजस्तै कार्यक्रममा सहभागी हुन गाउँ-गाउँबाट आएका दलित समुदायका व्यक्तिलाई कुन पार्टीको कार्यक्रममा आएको हो भन्ने जानकारी नै थिएन । कतिपयले कम्युनिष्ट भने, कतिपयले एमाले । नेताहरु को-को बोलिरहेका छन् भन्ने कुरा पनि धेरैलाई थाहा भएन ।

सुरुङ्गा नगरपालिका वडा नम्बर ५ का ६९ बषर्ीय बिन्दे मण्डलले केपी ओलीलाई हेर्न र भाषण सुन्न आफूलाई यहाँ ल्याइएको बताए । ६२ बषर्ीया जितनी चौधरी र ७३ बर्षीया अनारवती देवी सदाले पनि ओलीले भाषण गर्ने भन्दै गाउँका नेताहरूले यहाँ ल्याएको बताइन् ।

तर, यहाँ आएपछि ओलीलाई नदेखेको उनीहरुको भनाइ छ । ‘खोई त प्रधानमन्त्रीज्यू देखिनुभएन’ बिन्देले भने, ‘स्थानीय नेताले झूठो भनेका रहेछन् ।’

नेताहरुले के भने ?

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक रहेको दाबी गरे । उनले ओलीकै हस्ताक्षरमा टिकट वितरण हुने बताए । ‘प्रचण्डजी चुनाव जित्नु छ भने पार्टीमा आउनुस्’ उनले भने ।

प्रधानमन्त्रीमाथि लगाइएको आरोप फिर्ता लिएर चुनावमा भाग लिए प्रचण्ड र नेपालको स्थान पार्टीमा सुरक्षित रहने उनले दोहोर्‍याए ।

शहरी विकास मन्त्री प्रभु साहले तत्कालीन माओवादीले बोकेको एजेण्डा आफ्नो स्वार्थ पूर्तिका लागि बिक्री गरेको आरोप लगाए ।

जनमुक्ति सेनाको तलब लुट्नेहरु असली माओवादी हुन नसक्ने भन्दै उनले घाइते जनमुक्ति सेनाको उपचार गर्ने निर्णय गरेर प्रधानमन्त्री ओलीले उनीहरुप्रति सम्मान प्रकट गरेको दाबी गरे ।

कानुनमन्त्री लीलानाथ श्रेष्ठले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्नु जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गरे । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले प्रतिनिधि सभाको विघटन प्रधानमन्त्रीको सही कदम भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment