
१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् ।
पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु आरोहणमा आफू पनि जान पाएको भए अझ बढी धुमधाम हुन्थ्यो होला भने । ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले भने, ‘अझ बढी धुमधाम हुन्थ्यो ।’ त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने ठट्टासमेत प्रधानमन्त्रीले गरे ।
माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै उनले अब उप्रान्त राज्यले आरोहीलाई अवार्ड दिने घोषणासमेत गरे । आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन गरे । आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै उनले अनुभवलाई हल्का रुपमा नलिन समेत आग्रह गरे ।
गच्छेअनुसार सहयोग गर्ने वचन
प्रधानमन्त्री ओलिले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने आश्वासनसमेत दिएका छन् ।
‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस, धेरै नसकौंला, गच्छेअनुसार सहयोग गर्छ,’ ओलीले भने ।
केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपाल गरिब देश भएको भन्दै राज्यबाट सहयोग नपाएको बताए ।
नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । हिउँदयाममा विश्वको दोस्रो अग्लो माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु आज काठमाडौं फर्किएका छन् ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4