Comments Add Comment

‘१० मिटर वर रोकियौं र सबैजना एकसाथ केटुको चुचुरोमा पुग्यौं’

राति एकदमै जाडो थियो, त्यो अहिले म शब्दमा व्यक्त गर्न सक्दिनँ । केही साथीहरू अब यतैबाट फर्किने कि भन्ने सोचमा पनि थिए । माइनस ६५ डिग्री सेल्सियस तापक्रम थियो । हामी त्यसबेला माउन्ट केटुको क्याम्प-३ मा थियौं । समिट हुने हो वा नहुने भन्ने निश्चित थिएन । त्यसबेला दुःख कति थियो, त्यो म कसरी भनौं ? यसरी बुझ्नुहोस् कि कुनै ठूलो अपरेसन गर्नु अगाडि औषधि दिएर बेहोस बनाइन्छ नि ।

हो, त्यस्तै खालको अनुभव तपाईं परिकल्पना गर्नुहोस् । तर म र मेरो टिमको एउटै मात्र लक्ष्य थियो, नेपाल ८ हजार मिटरभन्दा अग्ला हिमालको घर हो । १४ वटा हिमालमध्ये ८ वटा हाम्रोमा छ। तर यी हिमालको पहिलो आरोहणको कीर्तिमान विदेशीका नाममा छ । पक्कै पनि विदेशी साथीहरूको ‘स्पोन्सर’ ठूलो थियो होला । उनीहरूलाई सबैतिरबाट सहयोग भए होला तर पनि वास्तविक खेलाडी त हामी थियौं नि। सम्भवतः तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीपछि सबैभन्दा ठूलो समाचार आज बनेको छ।

यो वर्ष केटु आरोहणमा जाने मेरो कुनै योजना थिएन । तर समाचार हेर्दा ४० जनाभन्दा विदेशी आरोही जसरी पनि केटुको नाममा बाँकी रहेको यो कीर्तिमानी आफ्नो देशको नाममा लैजाने योजनामा रहेको थाहा पायौं । यो सुनेपछि फटाफट झोला प्याक गरेर लागियो पाकिस्तानतिर ।

यो किन महत्वपूर्ण छ त ?

आजको दिनमा पनि हामीले हाम्रो हक लिन सकेनौं भने भविष्यको पिढीका लागि केही गर्न सक्दैनौं भन्ने अनुभूति मलाई भयो, मेरो टिमलाईं भयो । के गर्नु हजुर, गरिब देशमा जन्म भयो । न त हाम्रो सरकार बलियो छ, न त हामी नै । चित्त दुख्छ, नेपालमा विदेशमा भन्दा धनी-धनी दाजुभाइ पनि हुनुहुन्छ । कसैले पनि हामीलाई सपोर्ट गरेनन्। टिमका सबै सदस्यले आफ्नो गोजीको पैसा झिकेर हामी पाकिस्तानतिर लागेका हौं । तर भन्छन् नि देशले के दियो, त्यो नसोच्नु आफूले देशलाई के दियो भनेर प्रश्न गर्नु । हो, हामीलाई त्यस्तै भावनाले अगाडि डोहोर्‍याएको हो।टिमको सबै सदस्यलाई भित्र मनदेखि नै नेपालका लागि यो गर्नुपर्छ भन्ने थियो। हामीले एउटै लक्ष्य पूरा गर्न ज्यानको बाजी लगाएर अगाडि बढ्यौं । मान्छे लोभी जात हो । उसलाई सधैं नामको लोभ हुन्छ। यो सफलता विश्वमा ओलम्पिक वा वर्ल्डकप जितेभन्दा ठूलो हो । न्युज मात्र हेर्नुहुन्छ भने विश्वभर दुई अर्बभन्दा बढी मानिसमा यसको प्रचार भएको छ । कसले गर्‍यो ? नेपालीले गर्‍यो ।

समिट अगाडि हामी १० मिटरको दुरीमा रोकियौं । किनकि यो जस टिम लिडरले मात्र लिने कुरा होइन । सबै दाजुभाइको काँधमा ३५ किलोभन्दा बढीको भारी थियो । त्यो चिसो हिउँमा, बेगले चलेको हावालाई चिर्दै हामी एक साथ चुचुरामा पुग्यौं । यसबाट हामीले दिन खोजेको सन्देश थियो, विश्वमा हामी एक भयौं भने सबथोक गर्न सक्छौं । विभाजनबाट केही पनि गर्न सक्दैनौं । यो शक्तिशाली सन्देश दिएका छौं ।

देश गरिब भएपनि मन ठूलो छ । सोच फराकिलो छ। हामी सकारात्मक सन्देश विश्वभर पुर्‍याउन सफल भएका छौं। यसमा सबै टिम सदस्यको ठूलो योगदान छ। यो इतिहास अब कहिले पनि मेटिने छैन । आरोहणका दौरान हामीले नेपालको झण्डा लगेर गएका थियौं । यो झण्डा आज हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गरेका छौं।

प्रधानमन्त्रीज्यू, हामी तपाईंको छोराहरू हो । तपाईं हाम्रो अभिभावक हो । तपाईंको छोराहरूले आज विश्वमा छाति फुलाएर, ज्यान ठोकेर परिचय दिन सक्ने काम गरेर फर्किएका छन् ।

(केटु हिमाल आरोहण गरी नेपाल फर्किएपछि आज बालुवाटारमा प्रधानमन्त्रीबाट सम्मान थाप्ने कार्यक्रममा टिम लिडर निर्मल पूर्जाले व्यक्त गरेको आरोहण अनुभव)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment