Comments Add Comment

सरकारी अड्डामा म्यानपावर व्यवसायीको अनुगमन !

कर्मचारी नतमस्तक, सेवाग्राहीलाई सास्ती

१३ माघ, काठमाडौं । वैदेशिक रोजगार कार्यालय, ताहाचलमा मंगलबार विहानदेखि भीडभाड थियो । विदेश जान श्रम स्वीकृति लिन पुगेकाहरुलाई गेटमा बसेका सुरक्षा गार्डले कागजात हेरेर मात्रै भित्र पठाउँथे । गेटको मुखमै बसेका दलालहरु सेवाग्राहीलाई आउँदा-जाँदा सोधिरहन्थे, ‘ दाइको भित्र के काम हो ?, काम भयो त ?’

मध्यान्ह १२ बजेतिर एकाएक गाडीका लस्कर आइपुगे । दक्षिण भारतीय फिल्ममा देखाइने दृश्यको झल्को दिने गरी गाडीबाट टाइसुट, चश्मा लगाएका केही मानिसहरु झरे । कार्यालयका सुरक्षा गार्डले पनि मुस्काउँदै सलाम ठोके ।

त्यो दृश्यले श्रम स्वीकृति लिन त्यहाँ पुगेकाहरुसँगै हाम्रो पनि ध्यान तान्यो । उनीहरु म्यानपावर व्यवसायी रहेछन् । र, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका क्रममा सरकारी कार्यालय ‘अनुगमन’ गर्न आएका रहेछन् । सरकारी अनुगमनको अभावमा म्यानपावरबाटै कामदार ठगिने क्रम बढ्दै गर्दा व्यवसायी नै नियमनकारी निकायमा अनुगमन गर्न भन्दै पुगेका थिए ।

उनीहरुले श्रम स्वीकृतिका लागि पुगेकाहरुको काम समयमा भए/नभएको चासो दिएनन् । व्यवसायीहरु कार्यालय प्रमुखको कार्यकक्षतिर सोझिए । ठूलो समूह आएको देखिएपछि एक कर्मचारीले कार्यालय छिर्ने च्यानल गेट ताने । लगत्तै व्यवसायीले होहल्ला गरे । उनीहरु जंगिए, ‘मान्छे आएको देख्दा देख्दै सरकारी कार्यालयको गेट किन लगाउने ?’

गेटमा उभिएका कर्मचारीले जवाफ फर्काए, ‘कति मान्छे हुनुहुन्छ,कुन कोठामा अट्नुहुन्छ भनेर कन्फर्म गर्न खोजेको मात्रै हो ।’ तर भिडले होहल्ला गरेपछि रोक्न सकेनन् । गेट धकेल्दै म्यानपावर व्यवसायीहरुको समूह  हुल कार्यालयमा प्रवेश गर्‍यो ।

नतमस्तक कर्मचारी

व्यवसायीहरु सरासर कार्यालय प्रमुख बिनु बज्राचार्य कुँवरको कार्यकक्षमा प्रवेश गरे । केही कर्मचारी स्वागतमा जुटे । बस्ने कुर्सीको अभाव भयो, साँघुरो कार्यकक्षभित्र भटाभट कुर्सी थपियो ।

कार्यालयका अन्य अधिकारीलाई पनि बोलाइयो । श्रम स्वीकृतिको लागि छुट्याइएका विभिन्न इकाइहरुका प्रमुखहरु दौडिँदै आए, एक-अर्काबीच चिना परिचय भयो । भित्र छिर्नासाथ मास्क खोलेका व्यवसायीले कार्यालय प्रमुखलाई पनि मास्क खोल्न भने ।  परिचयको क्रममा थप दबाव दिएपछि उनले मास्क खाेलेर फेरि लगाइन् । तर, व्यवसायीहरू भने मास्क नलगाइ बसे ।

कार्यालयका निर्देशक छत्रबहादुर शाहले सुरुमै व्यवसायीहरुलाई सम्बोधन गरेर भने, ‘तपाईंहरुको आगमनले हामी खुसी छौं, फेरि-फेरि पनि तपाईंहरु आइरहनु पर्‍यो ।’  त्यसपछि चियापान सुरू भयो ।

व्यवसायीका अनेक गुनासा

सरकारी कर्मचारीहरु नतमस्तकझैं देखिएपछि म्यानपावर व्यवसायीहरु जोशिएर बोल्न थाले । संघका महासचिव सुजित श्रेष्ठले आफूहरुले कार्यालयबाट अनेक दुःख पाइरहेको बताए । समयमै काम नहुँदा विदेश उड्ने श्रमिकले पनि सास्ती पाएको भन्दै उनले कार्यालयको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।

संघका प्रथम उपाध्यक्ष कमल तामाङले कार्यालयमा केही व्यवसायीको सेटिङ रहेको भन्दै उनीहरुको मात्र काम खुरुखुरु हुने र अरुको दुःख पाएको गुनासो गरे । उनले कार्यालयमा अनियमितता हुने गरेको प्रसंग पनि उठाए ।

संघका अध्यक्ष विष्णु गैरेले वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, विदेशी नियोग र म्यानपावर कम्पनीबीच समन्वय अभाव हुँदा सबैलाई अप्ठ्यारो परेको बताए ।

कार्यालयबाट प्रवाह हुने सेवा सुस्त र झन्झटिलो भएको उनको गुनासो थियो । ‘कार्यालयमा समयमै काम नहुँदा कति कामदारको फ्लाइट छुट्छ,’ उनले भने, ‘यो कार्यालयलाई चुस्त बनाउन के-के समस्या छन् बताइदिनुस्, हामी समाधानका लागि विभाग र मन्त्रालयमा तपाईंका कुरा राख्छौं ।’

वैदेशिक रोजगारीको अनलाइन प्रणाली, मागपत्र प्रमाणीकरण, पूर्वस्वीकृति, अन्तिम श्रम स्वीकृति लगायतका रहेका समस्या हटाउन आफूहरुकै पहलमा मन्त्रालयले एक समिति बनाएको भन्दै गैरेले कामका लागि म्यानपावरको प्रतिनिधि कार्यायमा आउनै नपर्ने पद्धति विकास गर्न कार्यालयले पहल गर्नुपर्ने बताए ।

व्यवसायीसँग कर्मचारीको पनि गुनासो

व्यवसायीले उठाएका मुद्दामा कर्मचारीले जवाफ फर्काए । व्यक्तिगत र पुनः श्रम स्वीकृति प्रक्रियामा म्यानपावर कम्पनीको भूमिका नहुने भएपनि अवैध काम गर्न दबाव दिएएको उनीहरुको गुनासो छ । आवश्यक कागजात र विवरण विना फाइल विभागमा आउने भएकाले काममा ढिलाइ हुने गरेको उनीहरुको स्पष्टीकरण थियो ।

व्यवसायीहरुले साना-साना विवरण नमिल्दा पनि दुःख दिने गरिएको जवाफ लिए । कर्मच्ाारीहरुले आफूहरु जोखिम मोलेर काम गर्न नसक्ने भएकाले विवरण नमिल्दा फाइल रोकिने गरेको बताए ।

व्यवसायीले दूतावासले माग प्रमाणीकरण गरेर अनलाइनमा डकुमेन्ट नराख्दा आफूहरुले सास्ती भोग्नु परेकाले कार्यालयले नै त्यसमा सहजीकरण गर्नुपर्ने बताए । अनलाइनबाट अप्लाई गरेका फाइलको काम पनि समयमै नहुँदा कार्यालयप्रति नकारात्मक धारणा विकास भएको व्यवसायीको भनाइ थियो ।

कर्मचारीले भने विभाग र मन्त्रालयले पनि कार्यालयप्रति सकारात्मक सोच नराखेको र सेवाग्राहीले पनि कार्यालयलाई घुसको अड्डा मान्ने गरेकाले समस्या भएको उनीहरुको तर्क गरे । फाइल ढिला आउने गरेको र ४ बजेपछि कार्यालयमा बसेर काम गर्दा गलत रुपमा बुझिने गरेको गुनासो पनि कर्मचारीले गरे ।

कार्यालय प्रमुख कुँवरले भने आफू नयाँ भएकाले धेरै कुरा बुझ्न बाँकी रहेको भन्दै बोलिनन् ।

सेवाग्राहीको काम ठप्प

कर्मचारी र व्यवसायीहरुको छलफल चलिरहँदा करिब २ घण्टा सेवाग्राहीको काम रोकियो । कार्यालयका वरिष्ठ अधिकारीहरु छलफलमा बसेपछि प्रक्रिया पुरा भएका कागजातमा अन्तिम हस्ताक्षर हुन पाएन, जसले सेवा लिन आएकाहरु लामो समय प्रतिक्षामा बस्नु पर्‍यो । छलफलका क्रममा केही कर्मचारीहरुलाई ‘फ्लाइट छुट्ने भयो रे सर’ भन्दै सहयोगीमार्फत सन्देश पनि आयो ।

छलफल सकिएपछि करिब २ बजे म्यानपावर व्यवसायीहरु विजयी भावमा बाहिर निस्कए ।

तर, विहानैदेखि भौतारिरहेका सेवाग्राही भने निराश थिए । श्रम स्वीकृतिका लागि विहान साढे १० बजे कार्यालयमा आएर कागजपत्र बुझाएका गुल्मीका पि्रतम कौशल भन्दै थिए, ‘हाकिम ब्यस्त छन् भनेपछि दायित्व सकिने सिस्टम कहिले सकिएला ! ‘

कोरोना महामारीको समयमा पनि भीड व्यवस्थापन नगरेको र समममै काम नभएकोमा उनले असन्तुष्टि जनाए । कौसलले यस्तो गुनासो गर्दैगर्दा कार्यालयका हाकिमहरुले अनुगमनमा आएका म्यानपावर व्यवसायीलाई हात जोडेर विदा गर्दै थिए ।

फोटो/भिडियो ः शंकर गिरी
यो पनि पढ्नुहोस श्रममन्त्रीको सेटिङ ! ठगी धन्दावाल म्यानपावरको निलम्वन फुकुवा 
यो पनि पढ्नुहोस अनुगमन र कारबाही रोक्न म्यानपावर व्यवसायीको आन्दोलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment