Comments Add Comment

डब्ल्यूएचओको टोलीसँग भेट्न पाउनुपर्ने वुहानका आफन्त गुमाएका कोरोना पीडितको माग

Photo Credit : AP

१४ माघ, काठमाडौं । चीनमा सबैभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति भएको वुहान सहरमा कोरोनाबाट मृत्यु भएका मानिसका आफन्तहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का टोलीसँग भेट्न पाउनुपर्ने माग गरेका छन् । अहिले डब्ल्यूएचओको टोली कोरोनाको उत्पत्तिबारे अनुसन्धानका लागि चीनमा रहेको अवस्थामा वुहानका कोरोनाबाट आफन्त गुमाएका मानिसहरुले भेट्न पाउनुपर्ने माग गरेका हुन् । उनीहरुले चीन सरकारले आफूहरुलाई बोल्न नदिएको आरोपसमेत लगाएका छन् ।

महिनौं लामो वार्तापछि चीनले डब्ल्यूएचओको टोलीलाई कोरोना उत्पत्तिबारे अनुसन्धानको अनुमति दिने निर्णय गरेको थियो । यद्यपि चीनले उनीहरुलाई वुहानमा प्रमाणहरु संकलन गर्ने र त्यहाँका मानिसहरुसँग वार्ता गर्ने अनुमति दिने संकेत भने गरेको छैन । चीनले यो टोलीले वुहानका वैज्ञानिकहरुसँग मात्र यस विषयमा कुराकानी गर्न सक्ने बताएको छ ।

जनवरी १४ मा चीन आइपुगेको डब्ल्यूएचओको टोली क्वारेन्टिनमा छ । क्वारेन्टिन बसाइको अवधिमा उनीहरुले चिनियाँ वैज्ञानिकहरुसँग भर्चुअल संवाद भने गरिरहेका छन् ।

सन् २०२० को फेब्रुअरीमा कोरोनाबाट आफ्ना पिता गुमाएका चाङ हाइले भने, ‘मलाई विशेषज्ञहरुको टोली झुट फैलाउने उपकरण बन्दैन भन्ने आशा छ ।’ चाङका पिता गत वर्ष वुहान भ्रमणमा जाँदा संक्रमित भएका थिए र संक्रमणको कारण उनको मृत्यु भएको थियो । चीनको यो रोगलाई बेवास्ता गर्दै लुकाउन खोजेको कारण यसले भयावह रुप लिएको चाङको भनाइ छ ।

साथै प्रशासनले पनि कोरोनाबाट आफन्त गुमाएका मानिसहरुलाई यसबारे बाहिर नबोल्न चेतावनी दिँदै आएको छ । गत महिना वुहानको बारेमा रिपोर्टिङ गरेकी एक नागरिक पत्रकारलाई चार वर्षको जेल सजाय सुनाइएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार डब्ल्यूएचओले सार्वजनिकरुपमा चीनको प्रशंसा गरिरहेको भए पनि डब्ल्यूएचओका अधिकारीहरुले भने आन्तरिक बैठकमा चीनबाट कोरोनाबाट पर्याप्त सूचना नआएको गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment