Comments Add Comment
कास्कीमा निर्वाचन तयारीबारे छलफल :

खबरदार भन्नै पर्‍यो, चुनाव भए लड्नै पर्‍यो !

कास्कीमा थपिए १० हजार मतदाता

१३ माघ, पोखरा । प्रतिनिधि सभा विघटन असवैधानिक भएको भन्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी संसद विघटन असंवैधानिक भन्दै आन्दोलनमा छन् भने निर्वाचन आयोग वैशाख १७ र २७ को मध्यावधि चुनावको तयारीमा छ ।

त्यसक्रममा जिल्ला निर्वाचन कार्यालय कास्कीले मंगलबार राजनीतिक दलसहित सरोकारकालालाई तयारीबारे जानकारी दिन र छलफलका लागि भन्दै बोलाएको थियो ।

छलफलमा नेकपा ओली समूहका कास्की कार्यालय सदस्य दामोदर बैरागी, कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाट, राप्रपा कास्कीका नेता गणेश ढकाल सहभागी थिए ।

निर्वाचनबारे दलीय चासो बुझ्न खोजेपछि बैरागीले रानाभाटलाई ब्यंग्य गरे, ‘उहाँहरुलाई गाह्रो छ । खबरदार यसो गर्न पाइँदैन पनि भन्नै पर्‍या छ, कार्यकर्तालाई चुनाव भयो भने त लड्नुपर्छ है भन्नु पर्‍या छ ।’

कार्यक्रम हलमा हाँसो गुञ्जियो । कांग्रेस सचिव रानाभाटले बैरागीलाई जवाफ दिए, ‘कदम गलत हो भन्नैपर्‍यो, तर अदालतले फैसला के गर्छ, त्यो पनि मान्नै पर्‍यो ।’ प्रधानमन्त्री ओलीको कदमको सदर गरेर अदालतले संसद विघटन गर्ने फैसला गरे त चुनावमा जान्न भन्दा घाटा हुन सक्ने रानाभाटको भनाइ थियो ।

अहिलेको अवस्थामा बढी उत्साही वा बढी निरुत्साही दुबै हुन जरुरी नरहेको बैरागीले थपे । रानाभाटले चिन्ता व्यक्त गरे, ‘बरु फैसला पो ढिला होला जस्तो भयो ।’

संसद विघटनको मुद्दामा कांग्रेसभित्र दुई धार छ । कांग्रेस सभापति शेरबहादुर देउवा चुनावाके पक्षमा देखिएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रधानमन्त्रीको कदम कुनै असंवैधानिक भएकाले संसद पुन:स्थापनाको पक्षमा छ ।

कांग्रेस कास्कीका सचिव रानाभाटले सर्वोच्च अदालतले विघटनलाई सदर गरे फैसला स्वीकारेर चुनाव जाँदा कांग्रेसलाई फाइदै हुने कार्यकर्ताको आशय व्यक्त गरे ।

राप्रपा भने चुनावको पक्षमा उभिएको छ ।

छलफलमा नेकपाको प्रचण्ड–माधव समूह, जनता समाजवादी लगायतका दलका प्रतिनिधि भने थिएनन् ।

निर्वाचन कार्यालयले यसअघिका बैठकमा ओली र प्रचण्ड–माधव दुबै समूहलाई बोलाएको थियो । तर अहिले नेकपाको दुबै समूहको दाबीलाई अस्वीकार गरिसकेकाले जिल्लामा नेकपाकै नाममा पत्र लेखेर जिल्ला पार्टी कार्यालयमा पठाइएको थियो । यद्यपि प्रचण्ड माधव समूहलाई फोनबाट जानकारी गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । ‘कास्कीमा क्रियाशील नेकपा, कांग्रेस, राप्रपा, जनता समाजवादी, जनमोर्चा र साझा विवेकशीललाई खबर गरेका हौं,’ न्यौपानेले भने, ‘कांग्रेस, नेकपाको एक समूह र राप्रपा बाहेकका साना दल आउनुभएन ।’

छलफलमा निर्वाचन कार्यालय कास्कीका प्रमुख भीमसेन कार्कीले तोकिएको मितिमै निर्वाचन गर्न कास्कीमा तयारी गरेको बताए । ‘केन्द्र र स्थल तोक्ने, सहकायम नाम दर्ता अधिकारी तोकिसकेका छौं,’ कार्कीले भने, ‘सबै स्थानीय तहमा सूचना प्रकाशित गर्ने, मतदाता नामावली अध्यावधिक गर्ने काम चलिरहेको छ ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले तोकिएको मितिमै निार्वाचन गर्नका लागि सुरक्षा संयन्त्र तम्तयार अवस्थामा रहेको बताए । सुरक्षा थ्रेट हुन नदिन सुरक्षा योजना तयार पारिएको ढकालको भनाइ थियो ।

कास्कीमा निर्वाचनको तयारीसँगै ५ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकिएको छ । कास्की ५ मतदान केन्द्र थप्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । जिल्लामा मतदाता बढेसँगै ५ मतदान केन्द्र थप्न सिफारिस गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।

कास्कीमा अद्यावधिक तथ्यांक अनुसार कास्कीमा ९९४२ जना मतदाता बढेका हुन् । कास्कीमा १ लाख ४० हजार ७ सय ६१ महिला, १ लाख २४ हजार ६ सय ३१ पुरुष र ४ तेस्रोलिंगीसहित २ लाख ६५ हजार २ सय ९६ जना मतदाता छन् । २०७४ को निर्वाचनमा कास्कीमा २ लाख ५५ हजार ४ सय ५४ जना मतदाता थिए ।

वर्ष मतदाता मतदान केन्द्र मतदान स्थल
२०७० १ लाख ९७ हजार ६६० २९९
२०७४ २ लाख ५५ हजार ४ सय ५४ ३१७ १५०
२०७७ पुस ५ सम्म २ लाख ६५ हजार २ सय ९६ ३२२ (प्रस्तावित) १५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment