Comments Add Comment

मापदण्ड विपरीत प्रदेश २ का मन्त्रीले लगाए कोरोना खोप

१४ माघ, जनकपुरधाम । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् ।

बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए ।

तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको साटो मन्त्रीले लगाएका छन् ।

प्रदेशका आन्तरिक मामिलामन्त्री यादवले पहिलो खोप लगाएका छन् । कोरोना खोपलाई लिएर अफवाह समेत रहेकाले त्यसलाई चिर्न आफूले खोप लगाएको मन्त्रीको दाबी छ ।

प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादव पनि त्रास हटाउन मन्त्री आफैंले खोप लगाएको बताए । डा. यादवले अघि भने, ‘मन्त्रीज्यू पनि पोजेटिभ हुनुभभएको थियो । उहाँ पनि त ठूलो फ्रन्टलाइनर हो । दैनिक हजार जना व्यक्तिसम्म भेटनुहुन्छ ।’

पहिलो दिन ७३३ जनाले लगाए खोप

यसैबीच बुधबार प्रदेश २ मा ७३३ जनाले खोप लगाएका छन् । सबैभन्दा बढी सप्तरीमा खोप लगाइएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र नेपाल प्रहरी अस्पताल रुपनीमा १४६ जनाले खोप लगाएका छन् । गजेन्द्रनारायण सिंह अस्पतालमा ७६ र नेपाल प्रहरीको अस्पतालमा ७० जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

पर्सामा ११३ जनाले खोप लगाउँदा सर्लाहीमा १२९ जनालाई खोप लगाइएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक विजय झाका अनुसार सिरहामा १ सय १० जना, धनुषामा १ सय २ जना, बारामा ७० जना, महोत्तरीमा ३७ र रौतहटमा २६ जनाले कोरोनाबिरुद्वको खोप लगाएका छन् ।

खोपका लागि आठ वटै जिल्लामा ९ केन्द्र र १४ वटा बुथ निर्माण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको लागि प्रदेश २ मा ३४ हजार ८०४ जनाका लागि खोप पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment