+
+
Shares

औद्योगिक क्षेत्रभित्रका ग्यारेज र गैरउत्पादनमूलक उद्योगलाई उत्पादनमूलकमा रूपान्तरण हुन अल्टिमेटम

नयाँ नियमावली लागु

लिमिटेडले पुरानो नियमावली खारेज गरी नयाँ ‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३’ लागु गर्दै यस्तो व्यवस्था गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रभित्रका गैरउत्पादनमूलक उद्योग र ग्यारेजलाई उत्पादनमूलक उद्योगमा रूपान्तरण गर्न समयसीमा तोकेर निर्देशन जारी गरेको छ ।
  • लिमिटेडले नयाँ ‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३’ लागु गर्दै गैरउत्पादनमूलक उद्योगलाई उत्पादनमूलकमा बदल्न ३ वर्षको समय दिएको छ ।
  • सवारीसाधन मर्मत केन्द्रले ५ वर्षभित्र रूपान्तरण नगरे जग्गा तथा भवन बहाल सम्झौता रद्द गरिने चेतावनी लिमिटेडले दिएको छ ।

१० कात्तिक, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रभित्र सञ्चालित गैरउत्पादनमूलक उद्योग र सवारीसाधन मर्मत केन्द्र (ग्यारेज/वर्कसप) लाई उत्पादनमूलक उद्योगमा रूपान्तरण हुन समयसीमा तोक्दै निर्देशन जारी गरेको छ ।

लिमिटेडले पुरानो नियमावली खारेज गरी नयाँ ‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३’ लागु गर्दै यस्तो व्यवस्था गरेको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै लिमिटेडले गैरउत्पादनमूलक उद्योग–व्यवसायलाई उत्पादनमूलक उद्योगमा परिवर्तन गर्न ३ वर्षको समय अवधि दिएको जनाएको छ । यसका लागि प्रवेश शुल्कसमेत छुट दिने व्यवस्था गरिएको छ ।

यसअघि नै औद्योगिक क्षेत्रभित्र सञ्चालन हुँदै आएका सवारीसाधनको मर्मत केन्द्र (सर्भिस सेन्टर, ग्यारेज वा वर्कसप) लाई ५ वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे उनीहरूको जग्गा तथा भवन बहाल सम्झौता नै रद्द गरिने चेतावनी लिमिटेडले दिएको छ ।

नयाँ नियमावलीको विनियम ५ अनुसार प्राथमिकता क्रममा नपरेका र क्षेत्रभित्र सञ्चालन गर्न अनुचित ठहरिएका उद्योग–व्यवसायको साविककै उद्देश्य कायम राखी सम्झौता नवीकरण नहुने व्यवस्था समेत गरिएको छ ।

गैरउत्पादनमूलक उद्योगलाई पूर्ण निरुत्साहित

नयाँ नियमावली जारी भएपछि गैरउत्पादनमूलक उद्योग–व्यवसायलाई औद्योगिक क्षेत्रभित्र थप निरुत्साहित गरिएको छ । अबदेखि कुनै पनि उत्पादनमूलक उद्योगलाई गैरउत्पादनमूलक उद्योगमा हस्तान्तरण गर्न, परिवर्तन गर्न, गैरउत्पादनमूलक उद्देश्य थप गर्न वा गैरउत्पादनमूलक उद्योगसँग एकापसमा गाभ्न पूर्णरूपमा निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि लिमिटेडले २०७१ सालमा नियमावली र निर्देशिका लागु गरी खुला प्रतिस्पर्धाबाट जग्गा र भवन बहालमा दिने र उत्पादनमूलक उद्योगलाई मात्र प्राथमिकता दिने प्रक्रिया सुरु गरेको थियो ।

२०७१ सालपछि औद्योगिक क्षेत्रभित्र कुनै पनि नयाँ ग्यारेज वा वर्कसप स्थापना नभए पनि त्यसअघि नै प्रवेश गरेकाहरू सञ्चालनमै थिए । नयाँ नियमसँगै अब ती पुराना ग्यारेजले पनि अनिवार्य उत्पादनमूलक उद्योगमा जानुपर्ने छ ।

२०१९ सालमा अमेरिकी सरकारको सहयोगमा नेपालको पहिलो औद्योगिक क्षेत्रका रूपमा बालाजु औद्योगिक क्षेत्रबाट सुरु भएको लिमिटेडले हाल मुलुकभरि १० वटा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ ।

बालाजु, पाटन र हेटौँडाजस्ता औद्योगिक क्षेत्रले सञ्चालनको ६ दशक पार गरिसकेका छन् भने सबैभन्दा पछिल्लो गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र (राजविराज) ले पनि स्थापनाको ४०औं वर्षमा प्रवेश गरेको छ ।

हाल यी औद्योगिक क्षेत्रभित्र ७ सयभन्दा बढी उद्योग सञ्चालनमा छन्, जसबाट करिब २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यी उद्योगले देशको आर्थिक गतिविधि र राजस्वमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?