0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

मल नउठाउने २६ पालिकालाई मन्त्रालयको अल्टिमेटम, तुरुन्तै नलगे सिधै किसानलाई बेचिने

ती पालिकाले तुरुन्तै मल नउठाए कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १९:१२

२७ जेठ काठमाडौं । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको बताएको छ ।

ती पालिकाले तुरुन्तै मल नउठाए कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ ।

मन्त्रालयले गरेको पछिल्लो निर्णय अनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ र डोटी जिल्लाका स्थानीय तहले तोकिएको परिमाणको मल नउठाएको कृषि सामग्री र साल्ट ट्रेडिङको तथ्यांक छ ।

साथै, कैलाली गोदावारी नागपालिकाले २१ हजार २ सय ३० किलो, गौरीगञ्ज नगरपालिका ६ हजार ६ सय ९० किलो, जानकी गाउँपालिका १० हजार २ सय ५० किलो र धनगढी महानगपालिकाले २१ हजार ५ सय किलो रासायनिक मल नउठाएको मन्त्रालयले जनाएको छ ।

यस्तै कञ्चनपुर जिल्लाका केही पालिकाले पनि रासायनिक मल उठाएका छैनन् । भीमदत्त नगरपालिकाले १ लाख ६ हजार ८ सय किलो र बेदकोट नगरपालिकाले १ लाख ६ हजार ४ सय किलो मल उठाएका छैनन् ।

यसैगरी अछाम जिल्लामा पर्ने ५ वटा स्थानीय तहमध्ये साँफेबगर नागरपालिका, बन्नीगढ जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले मल लैजान बाँकी छ ।

खेतीपातीको मुख्य सिजन धान रोपाइँ सुरु भइसके पनि सम्बन्धित निकायले मल ढुवानी नगरेपछि किसानलाई मलको समस्या देखिन थालेको छ ।

स्थानीय तहले रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय नगर्दा किसानसम्म मल समयमै पुग्न नसकेको अवस्था छ । वर्षे धान रोपाइँ समय नजिकिँदै गर्दा मल वितरणमा भएको ढिलाइले किसान प्रभावित हुने जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेशले पाउने कोटामध्ये हाल कृषि सामग्री कम्पनी मार्फत उपलब्ध हुने रासायनिक मलमध्ये कैलालीमा ५२ प्रतिशत र कञ्चनपुरमा ३२ प्रतिशत मल वितरण हुने व्यवस्था छ ।

बाँकी १६ प्रतिशत मल डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, अछाम र डोटी लगायत अन्य जिल्लाका स्थानीय तहलाई छुट्याइएको छ । तर, यी जिल्लाका सरोकारवाला निकायले मल लैजान नसकेको मन्त्रालयले बताएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा साल्ट ट्रेडिङ मार्फत वितरण हुने मलमध्ये कैलालीमा ३४ प्रतिशत र कञ्चनपुरमा ५४ प्रतिशत हिस्सा छ । बाँकी १२ प्रतिशत मल अन्य जिल्लाका स्थानीय तहमा वितरण गरिने व्यवस्था रहे पनि ती जिल्लाबाट अपेक्षित रूपमा मल उठान हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा ४३ पालिकाले रासायनिक मल बिक्री गर्दै आएका छन् । यसमध्ये १७ पालिकाले लगे पनि २६ पालिकाले मल लैजान नसकेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?