Comments Add Comment

बाँसको ढुंग्रोमा पकाइएको चिया र बिरयानीको स्वाद

सिएमा तीन पटक फेल भएका काफ्लेको सफल योजना

११ माघ, काठमाडौं । बाँसको गबुवा (ढुंग्रो)मा पकाइएको चियालाई बाँसकै जालीले छानेर बाँसकै कपमा कहिलै खानुभएको छ ? चिया मात्रै होइन, काठमाडौंमै हरियो बाँसमा राखेर पकाएको बिरयानीको स्वादसमेत चाख्न पाइन्छ । यसको लागि काठमाडौंको मैतीदेवीसम्म भने पुग्नैपर्ने हुन्छ ।

मैतीदेवीको सेतोपुलबाट रातोपुलतर्फ १०० मिटरजति अघि जाँदा दायाँतर्फ एउटा बाँसैबाँसले बनेको कटेज भेटिन्छ । झण्डै तीन दर्जन ग्राहक बस्न सक्ने क्षमताको सो कटेजमा बस्ने कुर्सीदेखि खाना खाने टेबुलसम्मका सबै संरचना बाँसबाट नै निर्माण गरिएको छ । अहिले यो रेस्टुरेन्टको मुख्य आकर्षण नै बाँसमा पकाएका परिकारहरू हुन् ।

झण्डै एक वर्षअघि बाँसको गौवामा पकाएको बिरयानीको स्वादबाट सुरु भएको यो रेस्टुरेन्ट अहिले बिरयानीभन्दा पनि बाँसमा पकाएको चियाका कारण चर्चित बनेको छ । सामाजिक सञ्जालमा चर्चित भएपछि अहिले दैनिक डेढ सयभन्दा धेरै ग्राहकहरू बाँसमा पकाएको चिया खान ‘ब्याम्बो बिरयानी’मा आउने गरेको रेस्टुरेन्ट सञ्चालक विवश काफ्ले बताउँछन् ।

अहिले चिया र बिरयानी पकाउने हरियो बाँस झापाको बुधबारेबाट ल्याउने गरिएको छ । चिया पिउने बाँसको कप पनि बुधबारेमै बन्ने गर्छ ।

झापाबाट ल्याइएको लामो बाँसलाई सुरुमा २ फिट लामो गौवाको आकारमा काटेर राखिन्छ । एकातर्फ आँख्ला भएको गौवाको अर्काेपट्टिको प्वालबाट चियापत्ती, चिनी, दूध र पानी राख्ने गरिन्छ । बिरयानी बनाउने तरिका पनि यही हो । आवश्यक सामग्री राखिसकेपछि झण्डै ५ मिनेटसम्म भट्टीमा बालेपछि चिया तयार हुन्छ । बिरयानीको लागि भने १५देखि २० मिनेटसम्म लाग्छ ।

एकपटक चिया या बिरयानी बनाएपछि त्यो गौवालाई पुनः प्रयोग गर्न मिल्दैन । त्यसकारण त्यसलाई त्यही भट्टीमा दाउराको रुपमा बाल्ने गरिन्छ । एउटा गौवामा ४ देखि ६ कपसम्म चिया बन्ने गरेको काफ्ले बताउँछन् ।

काफ्ले हिजोआज एक दिनमा ५ देखि ७ घना बाँस चिया तथा बिरयानी पकाउनको लागि खर्च हुने गरेको सुनाउँछन् ।

सिएमा फेल भएपछि स्वाबलम्बनको बाटो

तीनवटा व्यवसायमा सफलता हासिल गरिसकेका काफ्लेको विगत भने त्यति सुखद् छैन । २०६९ सालमा काठमाडौं छिरेका उनमा सुरुमा सिए पढ्ने धोको थियो । उनी काठमाडौंमा नै आधारभूत कोर्स लिएर थप अध्ययनको लागि भारतको नयाँदिल्ली पुगे ।

सिएको परीक्षामा पटकपटक अनुत्तीर्ण भएपछि उनी पढाइ छाडेर फेरि नेपाल आएर कमर्स पढ्न थाले । ज्यान पाल्नको लागि विश्वज्योति मल र पुतलीसडकको कमटेकमा काम गरेका उनी ती कुनै पनि काममा लामो समय टिक्न सकेनन् । त्यसपछि उनको यात्रा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) तिर लम्कियो । उनी एनसेटमा पनि लामो समयसम्म टिक्न सकेनन् । त्यसपछि २०७३ सालबाट उनको स्वावलम्बनतिरको यात्रा सुरु भयो ।

उनले सुरुमा पुरानो बानेश्वरमा भक्का हाउस भनेर एउटा व्यवसाय सुरु गरे । त्यो उनको मामासँगको सहकार्यमा खुलेको थियो । व्यवसाय गर्दागर्दै ग्राहकहरुकै सुझावबाट उनको योजना मटिया हाउसतिर पुग्यो । उनी भन्छन् ‘भक्का खान आएका एकजना ग्राहकले मटियाको योजना दिएका हुन् ।’

भक्का हाउस खोल्ने बेलामा आफूले गरेको ५ लाखको ऋण लगानीले नै बिस्तारै तीनवटै व्यवसायलाई टेको दिन सकिएको उनी बताउँछन् ।

उनले मटिया हाउसको योजना बनाउँदा भक्का हाउसलाई भुलेनन् । बरु दुवैलाई सँगै लैजाने योजना बनाए । भक्का हाउस र मटिया हाउस अहिले पनि सञ्चालनमै छन् । उनको तेस्रो योजना अनुरूप ब्याम्बो बिरयानीको सुरुवात गत वर्षको कात्तिक महिनाबाट भएको हो ।

कसरी बन्यो ‘ब्याम्बो टी’ को योजना ?

काफ्ले आफ्नो योजनालाई विस्तार गर्न चाहन्थे । नेपाली खानाको परिकारको परिधिमा रहेर उनले आफ्नो योजनालाई घुमाउँदा घुमाउँदै इण्डोनेसियाली संस्कृतिमा रहेको पाकशैलीलाई आफ्नो दिमागमा ल्याए । बाँसको भाँडामा खानेकुरा पकाउने संस्कृति विशेषगरी इन्डोनेसिया र चीनमा प्रचलनमा छ । त्यही शैलीलाई उनले नेपाल भित्र्याउने प्रयास गरे ।

दक्षिण भारतीय परिकारको रूपमा रहेको बिरयानी त काठमाडौंको धेरै ठाउँमा पाइन्छ । तर बाँसमा पकाएको बिरयानी भनेपछि उनको ‘ब्याम्बो बिरयानी’ अरूभन्दा फरक ब्राण्डको रूपमा विकास हुँदै गयो ।

रेस्टुरेन्ट खोल्ने बेलामा काफ्लेले सबैखाले नेपाली खाना बनाउने उद्देश्य राखेका थिए । तर बाँसमा पकाएको बिरयानीले अरू परिकारलाई बिस्तारै छायामा पार्दै लग्यो । अन्ततः उनको रेस्टुरेन्ट बाँसमा पकाएको बिरयानी र चियाको लागि विशेष बन्दै गयो ।

कात्तिकदेखि सुरु भएको ब्याम्बो बिरयानीले बिस्तारै बजार लिँदै थियो । चैतदेखि सुरु भएको लकडाउनका कारण व्यवसाय फेरि शून्यमा झर्यो । काफ्लेको तेस्रो व्यवसायको रफ्तारलाई कोरोना महाहारीले ब्रेक लगाइएको थियो ।

बिस्तारै समाज न्यु नर्मलमा फर्किँदै गरेपछि गत असोजदेखि ‘ब्याम्बो बिरयानी’ले नयाँ परिकारसहित आफ्नो सेवा सुरु गरेको थियो । बाँसमा पकाउने बिरयानीमात्रै रहेको रेस्टुरेन्टले असोजदेखि ‘ब्याम्बो टी’ अर्थात् बाँसमा पकाएर दिने चियालाई समेत ब्राण्डिङ गर्न थाल्यो ।

ब्याम्बो टीको ब्राण्ड विस्तार गर्ने सोच बनेपछिको योजना स्मरण गर्दै काफ्ले सम्झन्छन्, ‘चिया खानको लागि त बाँसको आँख्लाबाट बनाइएको कप हुन सक्थ्यो । तर पकाउने कसरी ? यत्तिकैमा इण्डोनेसियाको परम्परागत पाकशैलीलाई सम्झिएँ । यसले स्वास्थ्यलाई पनि घाटाभन्दा पनि नाफा नै गर्दाे रहेछ । त्यसैले यही ब्राण्डलाई अगाडि बढाउने योजना जुर्यो ।’

बाँसको गौवालाई दनदनी बलिरहेको आगोमा हालेर पकाउने परिकारले धेरै ग्राहकलाई लोभ्याएको सञ्चालक काफ्ले बताउँछन् ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment