
१३ चैत, काठमाडौं । नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गरेका छन् । शुक्रबार बिहान फोहोर लिएर औखरपौवा गएका गाडीलाई उनीहरुले ठूलोखोलाको सडकमै रोकेका हुन् ।
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नुवाकोटका स्थानीय १६ वटा विद्यालयमा थप ५१ जना शिक्षक दरबन्दी माग्दै फोहोर फाल्न अवरोध गरिएको हो ।
‘उहाँकहरुका मागबारे हामीले शिक्षा मन्त्रालयलाई जानकारी गारएका थियौं, मन्त्रालयले शिक्षा विभागलाई शिक्षक दरबन्दी थप गर्न निर्देशन दिएको छ, त्यसअनुसार विभागको टोली अहिले कुन विद्यालयमा कुन विषयका शिक्षकको दरबन्दी आवश्यक छ भनेर अध्ययनमा छ,’ उनले भने, ‘होली पर्वको पूर्वसन्ध्यामा उहाँहरुले हामीले आग्रह गर्दागर्दै छिटो गर्न माग गरेर फोहोर फाल्न दिनुभएन ।’
स्थानीयले भने यसअघि तत्कालीन मुख्यसचिव लिलामणि पौडेलको रोहबरमा भएको निर्णय र काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएकाले फोहोर फल्न रोक्नुपरेको बताएका छन् ।
माग पूरा नभएसम्म फोहोर फल्न नदिइने स्थानीयको चेतावनी छ । तर, महानगरपालिकाले काम अघि बढिसकेकाले अवरोध गर्नुको कुनै औचित्य नहुने बताएको छ ।
‘भोलि शनिबार छ, त्यसपछि होलीका विदा छन्,’ वातावरण विभाग प्रमुख श्रेष्ठले भने,‘ पूरा हुने क्रममा रहेको मागलाई नै तेर्साएर फोहोर फल्न रोक्नु जायज होइन ।’
प्रतिक्रिया 4