+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 1

डिम्याट खाता भनेको के हो ?

२०८० चैत  ११ गते ११:१४ २०८० चैत ११ गते ११:१४

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने खाता हो । डिम्याट अंग्रेजी शब्द डिम्याटेरियलाइजेसन (Dematerialization) को छोटकरी रूप हो । यस अंगे्रजी शब्दको नेपाली अर्थ अभौतिकीकरण हो । अर्थात् विभिन्न सूचीकृत कम्पनीहरूमा शेयर लगानी गरेका लगानीकर्ताहरूले आफूले धारण गरेको शेयरलाई विद्युतीय रूपमा भण्डार गर्न तयार गरिएको खातालाई डिम्याट खाता भनिन्छ ।

उदाहरणका लागि बैंकमा नगद जम्मा गरेर राख्न बैंक खाता खोलिए जस्तै गरी आफूसँग भएको शेयर प्रमाणपत्रलाई जम्मा गरी विद्युतीय माध्यमबाट राख्नका लागि डिम्याट खाता खोलिन्छ । यसरी खोलिएको डिम्याट खातामा विभिन्न सूचीकृत कम्पनीका शेयर, म्युचुअल फन्डका एकाइ, ऋणपत्र आदि सुरक्षित तवरले राखिएको हुन्छ ।

जसरी तपाइँले बैंक खातामा राखेका कागजी नोटको मोबाइलबाटै विद्युतीय रूपमा प्रयोग गर्न सक्नुहुन्छ, ठिक त्यसैगरी तपाइँले आफ्नो स्वामित्वमा रहेका शेयर लगायत धितोपत्रलाई विद्युतीय कारोबार गर्न मिल्ने गरी डिम्याट खातामा राख्न सक्नुहुन्छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबारका लागि १ साउन २०७३ बाट लगानीकर्ताले अनिवार्य रूपमा डिम्याट खाता खोल्नुपर्ने तथा डिम्याट भएका धितोपत्रहरू मात्रै कारोबार हुने नियम बनाएको छ । यसकारण लगानीकर्ताहरूले धितोपत्रको प्राथमिक बजार वा दोस्रो बजारमा शेयर खरिद-बिक्री गर्नको लागि अनिवार्य रूपमा डिम्याट खाता हुुनुपर्दछ । डिम्याट खातामा लगानीकर्ताहरूले शेयर, म्युचुअल फन्डका एकाइ, ऋणपत्र आदि भण्डार गर्न सक्नुहुन्छ । त्यस्ता धितोपत्र किनेपछि यही खातामा जम्मा हुन्छ भने बेचेपछि यही खाताबाट घटेर जान्छ ।

पहिले पहिले लगानीकर्ताहरूले शेयर, म्युचुअल फन्डका एकाइ र ऋणपत्र खरिद गरेपछि कागजी प्रमाणपत्र (भौतिक प्रमाणपत्र) पाउने गर्दथे । त्यस्ता कागजी प्रमाणपत्रको कारोबार पश्चात् नामसारी हस्तान्तरण, भण्डारण गर्ने र बिक्री गर्ने प्रक्रिया निकै झन्झटिलो थियो । समय पनि धेरै लाग्ने गर्दथ्यो । जसले गर्दा शेयर बजारमा लगानीकर्ता र कारोबारीको संख्या समेत थोरै थियो ।

डिम्याट खाताको प्रयोगले शेयर बजारमा लगानी गर्न र कारोबार गर्न निकै सजिलो बनाइदिएको छ भने भौतिक प्रमाण जल्ने, हराउने, चोरी हुने लगायत घटना नहुने तथा कारोबारमा पनि नामसारी भएर आउन लाग्ने प्रक्रिया समेत निकै छोटो भएको छ ।

डिम्याट खाताका मुख्य विशेषता

१. विद्युतीय भण्डारणः
डिम्याट खातामा तपाईले प्राथमिक बजार (आईपीओ) तथा दोस्रो बजार (स्टक एक्सचेन्ज) बाट खरिद गरेका धितोपत्रहरूलाई नहराउने वा क्षति हुन नदिने गरी विद्युतीय रूपमा भण्डारण हुन्छ । यसले भौतिक प्रमाणपत्रको आवश्यकतालाई हटाउँछ र लगानी व्यवस्थापनलाई सजिलो बनाउँछ ।

२. केन्द्रीय निक्षेपः
नेपालमा केन्द्रीय निक्षेप निकायका रूपमा सूचीकृत कम्पनीहरूको तथा सूचीकृत अन्य धितोपत्रहरूको निक्षेप व्यवस्थापन तथा सञ्चालन गर्ने जिम्मेवारी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले पाएको छ । केन्द्रीय निक्षेप निकायको रूपमा यसले सम्पूर्ण सूचीकृत धितोपत्रहरूको कस्टोडियनको रूपमा कार्य गर्दछ । यस निकायले यसरी कार्य गर्नको लागि बैंक, वित्तीय संस्था तथा सेबोनबाट लाइसेन्स पाएका अरू कम्पनीलाई निक्षेप सदस्यको सदस्यता वितरण गर्दछ । तिनीहरूलाई निक्षेप सदस्य (डीपी) भनिन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा सीडीएस एण्ड क्लियरिङ लि.बाट सदस्यता प्राप्त गरेका डीपीमा गएर आफ्नो डिम्याट खाता खोल्छन् । डिम्याट खातालाई सजिलोसँग सञ्चालन गर्न सीडीएससीले ‘मेरो शेयर’ नामको अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । यसलाई अनलाइनमा meroshare.cdsc.com.np सञ्चालन गर्न सकिन्छ ।

३. सहज लेनदेनः
डिम्याट खाताको प्रयोग गरेर सूचीकृत शेयर, म्युचुअल फन्ड, ऋणपत्रहरू खरिद बिक्री गर्न तथा नयाँ लगानी गर्न सकिन्छ । जब तपाइँले कुनै प्राथमिक बजारबाट वा दोस्रो बजारबाट शेयर वा अन्य धितोपत्रहरूको खरिद गर्नुहुन्छ, त्यो शेयर वा धितोपत्र तपाइँको डिम्याट खातामा जम्मा हुन्छ र यदि तपाइँले बेच्नुभएको खण्डमा तपाइँको डिम्याट खाताबाट घटाइन्छ । यसबाहेक विभिन्न घरायसी, अदालती वा अंशबन्डाको माध्यमबाट हुने स्वामित्व हस्तान्तरण पनि डिम्याट खाता मार्फत विद्युतीय रूपमै हुन्छ ।

४.पहुँच र सुविधाः
डिम्याट खाताले तपाइँको लगानीमा सहजता प्रदान गर्दछ । तपाइँले शेयर, खरिद बिक्री गरेको विवरण अनलाइनमा हेर्न सक्नुहुन्छ ।

५. कागजरहित कारोबारः
डिम्याट खाताको प्रयोगले खरिदकर्ता र बिक्रीकर्ता बीच लगानीसँग सम्बन्धित कागजी कामलाई विस्थापित गरेको छ । यसले समयको बचत गर्नुका साथै भौतिक प्रमाणपत्रमा जस्तो हराउने, च्यातिने, जल्ने वा अरू किसिमले नष्ट हुने जोखिमलाई कम गरेको छ ।

६.लागतः
डिम्याट खोल्न र नियमित सञ्चालन गर्न शुल्क लाग्छ । यो समयसापेक्ष परिवर्तन भइरहन्छ । हाल डिम्याट खाता खोल्न रु.५० र खाताको वाषिर्क सञ्चालन शुल्कको रूपमा रु.१०० गरी पहिलो पटक रु.१५० तिर्नुपर्छ । त्यसैगरी प्रत्येक वर्ष नवीकरणको लागि रु.१०० तिर्नुपर्छ । यसबाहेक अनलाइन सेवा मेरो शेयर लिंदा थप रु.५० वाषिर्क रूपमा तिर्नुपर्दछ ।

डिम्याट खाता सञ्चालनः कसले के गर्छ ?
(फ्लोचार्टको चित्र)
धितोपत्र खरिद-बिक्री प्रक्रियालाई सरल बनाउने डिम्याट खाता सञ्चालनमा विभिन्न पक्ष जोडिएका हुन्छन् । तिनीहरू कसले के काम गर्छन् ? चर्चा गरौं :

१.केन्द्रीय निक्षेप निकायः सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले केन्द्रीय निक्षेप निकायको रूपमा धितोपत्रहरूको विद्युतीकरणका लागि आवश्यक पर्ने नियम, विनियम, सर्कुलर तथा प्रणालीहरूको व्यवस्था गरी लागू गर्ने गर्दछ । यस निकायले निक्षेपकर्ताहरूबाट निक्षेप भएको सबै धितोपत्रहरूलाई डिम्याट खातामा सुरक्षित तवरले राख्ने कार्यको जिम्मेवारी वहन गर्दछ । यसलाई हामीले सामान्य भाषामा कस्टोडियन सम्बन्धी कार्य गर्ने भन्दछौं । यस निकायले ग्राहकहरूको डिम्याट खाता खोलिदिन तथा धितोपत्रहरूको विद्युतीय रूपमा निक्षेप राख्ने आफ्नो निक्षेप सदस्यहरूलाई सदस्यता दिई तिनीहरूलाई आवश्यक पर्ने प्रणालीहरू प्रदान गर्नुका साथै तिनीहरूले गरेको कार्यको अनुगमन तथा निरीक्षण समेत गर्दछ ।

केन्द्रीय निक्षेप निकायले डिम्याट खाता सम्बन्धी कार्य बाहेक अर्को महत्वपूर्ण कार्य पनि गर्दछ । यस अन्तर्गत यस निकायले विभिन्न सूचीकृत धितोपत्रहरूको शेयर रजिष्ट्रारको रूपमा कार्य गर्ने शेयर रजिष्ट्रार संस्थाहरूलाई सूचीकृत हुन आउने कम्पनीको धितोपत्रलाई अभौतिकीकरण गर्न आवश्यक पर्ने प्रणाली प्रदान गर्ने कार्य गर्दछ । यसका साथै सूचीकृत धितोपत्रका धारकको किताब वा शेयरधनी किताबलाई समेत व्यवस्थापन गर्न आवश्यक प्रणाली प्रदान गर्ने कार्य गर्दछ । यसले शेयर रजिष्ट्रार कम्पनीले गरेको कार्यलाई समेत सुपरीवेक्षण गर्ने कार्य गर्दछ ।

२. लगानीकर्ताः  धितोपत्रको स्वामित्व ग्रहण गर्ने व्यक्तिगत लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरू जस्तै म्युचुअल फण्ड, बैंक, वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरू, इन्भेष्टमेन्ट कम्पनी, विभिन्न पेन्सन फण्डहरू, प्राइभेट इक्विटी वा अन्य कोषहरूले आफूसँग रहेको धितोपत्रलाई विद्युतीय रूपमा जम्मा गर्न डिम्याट खाता खोली सो खाता सञ्चालन गर्नुपर्दछ । लगानीकर्ताहरूले आफ्नो आवश्यकता बमोजिम आफू नजिकै रहेको डीपीमा डिम्याट खाता खोल्न सक्दछन् । यसरी खोलिएको खातामा हिजोआज प्राथमिक बजार वा दोस्रो बजारबाट खरिद गरिएको शेयर विद्युतीय रूपमा जम्मा हुने गर्दछ । यदि कोही-कसैसँग पहिलेदेखिकै कागजी प्रमाणपत्र अझै पनि बाँकी रहेको छ भने त्यो कागजी प्रमाणपत्र कुन कम्पनीको हो र सो कम्पनीको शेयर रजिष्ट्रार कुन संस्था हो त्यहाँ गएर आफूसँग रहेको भौतिक शेयरलाई अभौतिक गर्न प्रक्रिया अगाडि बढाउनुपर्दछ ।

लगानीकर्ताहरूले शेयर वा अन्य धितोपत्रहरूको खरिद वा बिक्रीका लागि वा आफूले खरिद गरिएको शेयरलाई विद्युतीय रूपमा जम्मा गरी राख्नका लागि डिम्याट खाता खोल्नुपर्दछ । साथै आवश्यकता अनुसार धितो बन्धकी राख्न, धितो बन्धकी हटाउन वा अन्य विभिन्न कार्यहरू गर्नको लागि आफ्नो डिम्याट खाता रहेको डीपी मार्फत डिम्याट खाताको सञ्चालन गर्दछन् ।

३. निक्षेप सदस्य (डीपी):  निक्षेप सदस्यहरू मध्यस्थकर्ता वा एजेन्ट हुन् । यिनीहरूले लगानीकर्ताहरूलाई विद्युतीय माध्यमबाट केन्द्रीय निक्षेप निकायको प्रणालीमा जोड्ने काम गर्छन् । निक्षेप सदस्यको रूपमा कार्य गर्नको लागि विभिन्न बैंक, वित्तीय संस्था तथा इन्स्योरेन्स कम्पनी वा तिनीहरूका सहायक कम्पनी वा धितोपत्र बोर्डबाट अनुमति लिएका मर्चेन्ट बैंकर वा धितोपत्र ब्रोकर हुनुपर्दछ । यिनीहरूले नेपाल धितोपत्र बोर्ड निक्षेप सदस्यको रूपमा कार्य गर्ने अनुमति लिई सिडिएस एण्ड क्लियरिङ लि.बाट निक्षेप सदस्यको सदस्यता लिइएको हुनुपर्दछ । यिनीहरूले लगानीकर्ताहरूलाई डिम्याट खाता खोल्न, धितोपत्र जम्मा गर्न, धितोपत्र हस्तान्तरण गर्न, धितोपत्र रोक्का राख्न, धितोमा राखेर कर्जा लिने लगायत कार्यमा सहयोग गर्छन् ।

४. धितोपत्र जारी गर्ने कम्पनीः सूचीकृत कम्पनी, ऋणपत्र वा म्युचुअल फन्डका एकाइ जारी गर्ने संस्था (धितोपत्र निष्काशनकर्ता) आदि धितोपत्र जारी गर्ने कम्पनीहरू हुन् । यिनीहरूले सबैभन्दा पहिले आफ्नो धितोपत्र सर्वसाधारणमा निष्काशन गरेर बाँडफाँड गरेपछि शेयर रजिष्ट्रार संस्था नियुक्त गरी केन्द्रीय निक्षेप प्रणालीमा आफ्नो सम्पूर्ण धितोपत्रलाई अभौतिकीकरण गर्ने कार्य गर्दछ । यसरी अभौतिकीकरण कार्य भएपछि बाँडफाँडमा परेका सबै लगानीकर्तालाई सो धितोपत्र निष्काशन गर्ने कम्पनीको शेयर रजिष्ट्रारले डिम्याट खातामा शेयर जम्मा गरिदिने कार्य गर्दछ ।

डिम्याट प्रणालीले कसरी काम गर्छ ?

  • लगानीकर्ताले डीपी अर्थात् निक्षेप सदस्यकोमा डिम्याट खाता खोलेका हुन्छन् ।
    धितोपत्र निष्काशनकर्ता कम्पनीले बिक्री प्रबन्धक मार्फत सर्वसाधारणमा शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सर्वसाधारणमा शेयर बिक्रीको आहृवान गर्दछन् ।
    यसरी शेयर निष्काशनको आहृवान गरेपछि मेरो शेयर मार्फत विद्युतीय रूपमा वा भौतिक रूपमा लगानीकर्ताहरूले शेयर खरिदका लागि आवेदन दिन सकिन्छ । विद्युतीय माध्यमबाट वा भौतिक रूपमा जसरी आवेदन दिए पनि डिम्याट खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्दछ ।
    तोकिएको मितिभित्र सबै बिक्री गर्न राखिएको शेयर खरिद आवेदन प्राप्त भएमा बिक्री प्रबन्धकले तोकिएको मितिमै बिक्री बन्द गर्दछन् । यदि आवेदन पूरा नभएको खण्डमा यस्तो आवेदनको मिति थप गरिन्छ ।
    निवेदन दिने म्याद सकिएपछि यसरी निष्काशन गरिएको धितोपत्रको बाँडफाँड हुन्छ ।
    यसरी बाँडफाँड गरिएपछि निष्काशनकर्ता कम्पनीले आफ्नो कम्पनीको धितोपत्र किताब व्यवस्थापन तथा सञ्चालनका लागि शेयर रजिष्ट्रार नियुक्ति गर्दछन् ।
    नियुक्ति गरेको शेयर रजिष्ट्रारले सीडीएससीमा निष्काशन गरिएको धितोपत्रको अभौतिकीकरणको प्रक्रिया अगाडि बढाउँदछन् ।
    सीडीएससीमा अभौतिकीकरणको कार्य सम्पन्न भएपछि शेयर रजिष्ट्रार संस्थाले बाँडफाँडमा परेका सबै लगानीकर्ताहरूको डिम्याट खातामा शेयर पठाउने कार्य गर्दछन् । यसरी प्राथमिक निष्काशनका क्रममा आईपीओ, एफपीओ वा हकप्रदको शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ ।
    यस पछि निष्काशनकर्ता कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकरणका लागि गएर सूचीकरण भएपछि यस्तो कम्पनीले जारी गरेको धितोपत्रको कारोबार दोस्रो बजारबाट हुन सक्दछ ।

संक्षेपमा, डिम्याट प्रणालीमा सीडीएससी, धितोपत्र धनी, धितोपत्र निष्काशनकर्ता, बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा मध्यस्थकर्ताको रूपमा काम गर्ने डीपी जोडिएका हुन्छन् । यिनीहरूले धितोपत्रको विद्युतीय कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँछन् ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’...

डिम्याट खाता

बीओआईडी भनेको के हो ? 

१६ अंकको डिम्याट खाता नै बीओआईडी (लाभग्राही पहिचान नम्बर) हो । डिम्याट खाता खोल्ने ग्राहकलाई खाताको सबै जानकारी र बीओआईडी...

डिम्याट खाता

डिम्याट खातामा गर्न हुने/नहुने काम

१. धितोपत्रको विवरणहरू सधैं सुरक्षित राख्नुपर्छ । समय–समयमा डिम्याट खातामा भएको विवरण प्रिन्ट निकालेर सुरक्षित राख्नु बुद्धिमानी हुन्छ । २....

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

0 %

पढिसक्नुभयो !