Comments Add Comment

बाहुनलाई भेट्दा कम्युनिष्ट, अरुलाई भेट्दा आदिवासी !

पासाङ शेर्पा, सामाजिक लोकतान्त्रिक पार्टी

जसले नेकपा एमालेबाट अशोक राईलाई अलग गरायो, आफूले नसकेर एमाओवादीसँग गुहार मागेर भए पनि एमाले फुटाउन सफल भयो, आज तिनै व्यक्तिलाई अशोक राईले साथ दिनुभएन । यही कारणले गर्दा यतिबेला संघीय समाजवादी र सामाजिक लोकतन्त्रवादी नामका दुईवटा पार्टीहरु अस्थित्वमा देखा परेका छन् । अशोक राई नेतृत्वको संघीय समाजवादी न त चार दलतिर, न ३३ दलतिर छ, । तर, चैतन्य सुब्बा र पासाङ शेर्पालगायतले नेतृत्व गरेको सामाजिक लोकतात्रिन्क पार्टी चाहिँ यतिबेला ३३ दलीय मोर्चामा छ । यही सन्दर्भमा पूर्वएमाले सभासद एवं सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पासँग अनलाइनखबरले किन तपाईहरु अशोक राईसँग मिल्नुभएन र ३३ दलीय मोर्चामा आवद्ध हुनुभयो भन्ने प्रश्न गर्दा उहाँले भन्नुभयो- एउटा माक्र्सवादी पार्टी छाडेर फेरि अर्को माक्र्सवादी पार्टी खोल्नुले पार्टी छाडेको र अर्को पार्टी खोलेको पुष्टि गर्न सक्दैन । यसै कारण हाम्रो बाटो अलग भयो ।’

pasang-sharpa

एमाले छाडेपछि सो पार्टीका नेताहरुसँग भेटघाट हुँदैछ कि टुट्यो ?

– व्यक्तिगतरुपमा विभिन्न कार्यक्रमहरु, विवाह, मलामीजस्ता ठाउँमा हिजोको सम्वन्धका नाताले उहाँहरुसँग भेटघाट हुन्छ । त्योबाहेक अरु कुनै तरिका र प्रयोजनबाट भेटवार्ता भएको छैन ।

एमाले नछाड्नुपथ्र्यो भन्दै फकाउँदैनन् कसैले ?

– अनौपचारिकरुपमा एमालेमा धेरै नजिकमा बसेका नेता र साथीहरुले भन्नुहुन्छ तिमी फर्केर एमालेमै बसौं । असहमतिका कुरा के छ ? हामीले खास मुद्दाकै कारण असहमत भएको ठानेका छौं । त्यसका कारण मुद्दामा कसरी सहमतिमा आउन सक्छौं, बसौं र एउटै भएर अघि बढौं भन्नुहुन्छ । तर, औपचारिक रुपमा कुनै प्रस्ताव आएको छैन ।

एमालेले हामी पनि आदिवासी जनजाति विरोधी हैन भन्छ, किन छाडेको एमाले ?

– त्यो त संविधानसभाको ४ वर्षे कार्यकालमा उहाँहरुको गतिविधिबाटै देखिन्छ आदिवासीविरोधी हो कि हैन । पूर्वमा लिम्बुवान मागिरहँदा लिम्बुवान स्वीकार गरिन्न भन्ने उहाँहरु नै हुनुहुन्छ, एमालेका सबै नेतालाई भन्दिँन म तर, स्थायी कमिटीमा बस्ने नेताहरु । किरातीहरुले किरात प्रदेश माग्दा हुँदैन भन्ने उहाँहरु नै हो । गुरुङहरुले आफ्नो पहिचान मागेर नामांकन मात्र गरिदेऊ भन्दा तमुवान कुनै हालतमा स्वीकार हुँदैन भन्नुभो । थरुहट, ताम्सालिङ, नेवा हुँदैन भन्नुभो, अझ शेर्पा र भोट प्रदेश त घाँटी छिनाए पनि स्वीकार्य हुँदैन भनेर संविधानसभाभित्र संविधान बनाउने क्रममा जन्मदेखिको बल लगाएर आदिवासीको पहिचानको विरोध गर्ने उहाँहरु नै हो । त्यसो भएकाले आदिवासीको पहिचानमा आधारित संघीय संरचनाको नामांकनसमेत स्वीकार गर्न नचाहनेले आदिवासी विरोधी हैन भनेर कसरी विश्वास गर्ने ?

हामीले आत्मनिर्णयको कुरा गरिरहँदा आदिवासीलाई आत्मनिर्णयको अधिकार दिन सकिन्न भनेर विरोध गर्ने उहाँहरु नै हो । राष्ट्रिय चिन्ह गाई नराखी हुँदै हुन्न भनेर चारफुट उफ्रने उहाँहरु नै हो । त्यसकारण आदिवासीको अधिकार एमालेका नेताहरुले बोक्न सकेन भनेर नै त्यहाँबाट निस्किएको हो ।

तर, एमालेबाट निस्केर अशोक राई र तपाईहरुले छुट्टै पार्टी बनाउनु भो, किन संगै जानुभएन ?

– अशोक राईलाई एमालेबाट विद्रोह गर्ने तहसम्म पुर्‍याउने एक पात्र म पनि हुँ । मैले जानेका विभिन्न तारिका, बुझेका सरसम्वन्ध प्रयोग गरें । हामी सबैलाई थाहा छ, अशोक राई एमालेको स्थायी कमिटीमा हुञ्जेलसम्म आदिवासी जनजातिको पहिचानका लागि भनेर आवाज उठाएको हामीले देखेको, सुनेको छैनौं । तथापि आदिवासीको छोरो हो भने हामी आदिवासीले विद्रोह गराउने काम गर्‍यौं र आदिवासी जनजातिको मुद्दालाई लिएर विद्रोह गरेपछि नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो । त्यो के हो भने नेपालका आदिवासी, जनजाति, मधेसी, दलित लगायतका उत्पीडित समुदायले उठाएका मुद्दामा आधारित राजनीतिक शक्ति निर्माण गर्नुपर्छ भन्ने हो । हामीलाई यी मुद्दामा नेपालको राजनीति राम्रोसँग चल्छ भन्ने विश्वास छ ।

तर, उहाँले उत्पीडितहरुले उठाएका मुद्दाहरुमा आदिवासीवाद, बहुल राष्ट्रवाद, सामाजिक लोकतन्त्रमा विश्वास गर्न सक्नु भएन । अन्ततः उहाँले फेरि माक्र्सवादी पार्टी नै निर्माण गर्नुभो । माक्र्सवादी पार्टी छाडेर फेरि अर्को माक्र्सवादी पार्टी खोल्नु त नेपालमा कम्युनिष्टहरु फुट्ने टुट्नेको क्रम मात्र हो । त्यसले आदिवासी जनजनति, दलित, मधेसीकोे मुद्दाका लागि पार्टी छाडेको अर्थात अर्को पार्टी खोलेको पुष्टि गर्न सक्दैन । यसै कारण हाम्रो बाटो अलग भयो ।

तथापि अशोकजीले एमालेबाट बिद्रोह गर्नु भो । विचार बोक्न नसके पनि आदिवासीका लागि विद्रोह गरेँ भन्नुभो, यो उहाँका लागि र हाम्रा लागि सकारात्मक कुरा हो ।

 तर, उहाँहरुले पनि संघीय समाजवादी पनि आदिवासी जनजातिहरुकै पार्टी हो भन्नु भएको छ । तपाईहरुबीच एकता हुनसक्छ ?

-यो मैले बोलेको शब्द हैन । भाइ एमाले बन्यो भनेर सबैले भनिरहेका छन् । जनतालाई प्रष्ट भन्नुपर्छ कि आदिवासी जनजाति, दलित, मधेसीको पार्टी हो भने भन्नसक्नुपर्छ आदिवासी जनजाति, दलित, मधेसीको पार्टी हो । अर्थात उत्पीडितहरुले उठाएको मुद्दामा आधारित पार्टी हो भन्न सक्नुपर्छ । यदि वामपन्थी हो भने कम्युनिष्ट पार्टी नै हो भनेर भन्नुपर्छ । माक्र्सवादलाई सिद्धान्त मानेर आदिवासी जनजातिको पार्टी हो भन्नु तर्कसंगत हुन्न ।

त्यसैले उहाँहरुले जे भनिराख्नुभएको छ, जुन ढंगले आदिवासीका लागि खोलिएको पार्टी भन्नुहुन्छ । अनि यसो बाहुनहरुसँग भेट भयो भने यो कम्युनिष्ट पार्टी हो, आदिवासी जनजातिको हैन भन्नुहुन्छ । जनजाति देख्यो भने खाँटी जनजातिको पार्टी हो है भन्नुहुन्छ । यसरी त सधै भ्रम छर्न सकिँदैन । बाहुन क्षेत्रीले धेरै चलाख छन्, कुन उद्देश्यले खोलेको भन्ने थाहा छ । जनजातिहरु पनि चलाख भइसकेका छन् । माक्र्सवाद बोकेर जनजातिको पार्टी हो भन्दा त विस्तार थाहा भइहाल्छ नि के हो भनेर ।

अशोक राईलाई एमालेबाट बिद्रोह गराउन माओवादीको पनि भूमिका छ भन्छन् नि ? बास्तविकता के हो ।

– मेरो पहिलो भूमिका के थियो भने संविधानसभामा ककसले उठाएको मुद्दामा पार्टीका नेताहरुबीचमा तिब्र मतभिन्नता आएपछि एक प्रकारको सामाजिक ध्रुवीकरण आयो । त्यो क्रममा अशोक राईलाई सभासहरुबीच धेरैपटक उठबस गराउने काम, एमालेका सभासद नभएका जनजाति नेता कार्यकर्तासँग छलफल परामर्श गराउने काम दर्जनौंपटक मैले नै आयोजना गरेको थिएँ । त्यसपछि अशोक राईमा आत्मविश्वास देखियो कि मैले एउटा निर्णय लियो भने आदिवासी जनजातिहरुले समर्थन गर्छन । तर, पनि जीवनको उत्तरार्धमा आएर यस्तोखालको निर्णय लिँदा राजनीतिक जीवन नै जोखिममा पर्छ कि भन्ने डर कायमै थियो । जनजातिहरु सहयोग गछौं त भन्छन्, तर, टुंगोमा पुग्छ कि पुग्दैन भन्ने उहाँको मनमा थियो । त्यसपछि मैले केही आदिवासी जनजाति पार्टीका नेताहरु, एमाओवादीका नेताहरुसँग कुरा गरेको थिएँ कि उहाँलाई आत्मबल बढाइदिनुस् है । हामीले धेरैपटक प्रयास गरेपछि अशोक राई नजिक त आउनु भएकोछ तर, यतिकै विद्रोह गर्नुहुन्छ जस्तो लागेको छैन । तपाईहरुको तर्फबाट पनि आत्मबल बढाइदिनुस् है भनेको हो मैले । पछि भेटघाट भएको छ भन्ने जानकारी आएको छ, तर, के कुरा भयो थाहा छैन ।

एमाओवादी अध्यक्ष प्रचण्डले पनि सहयोग गर्नु भएको छ भन्ने हो ?

– जस जसलाई भन्नु पर्ने हो, मैले भनेको थिए । उहाँहरुले केले आत्मविश्वास बढाइदिनुभयो थाहा छैन । तर, त्यसपछि विद्रोह गर्नुभयो । यसलाई मैले मेरो सफलताका रुपमा हेरेको छु, अन्यथा मानेको छैन ।

जे होस, संघीय समाजवादी बन्नमा एमाओवादीको पनि भूमिका छ ?

-माओवादीको मात्र हैन । अशोक राईलाई उत्पीडितहरुको मुद्दा बोकेर नेतृत्व गरिदिओस्, इमान्दार, राम्रो छवि भएको नेता र एउटा पार्टीको हाइकमाण्डमा बसेर काम गरेको नेता । त्यसकारण उत्पीडितहरुको राजनीतिक शक्तिको नेतृत्व गरिदिओस भन्ने सबैको दबाव पनि थियो, आग्रह पनि थियो । जातीय संघ संस्थाहरुको अनुरोध पनि थियो । सबैले आफ्नो तरिकाले आफ्नो काम गरे ।

तर, अशोक राईलाई उत्साह बढाउनुभयो, विद्रोह गराउनुभयो अनि छाडिदिनुभयो हैन ?

-उत्साह बढाउने काम गर्‍यौं । तर, उहाँले आदिवासीवादलाई विश्वास गर्नुभएन । भन्नुहुन्थ्यो आदिवासीवादमा विश्वास छैन र मैले बुझेको पनि छैन । मैले जीवनभर माक्र्सवादमा बसेको, यो बुढेसकालमा छोड्न सक्दिँन भन्नुभएको थियो ।

जे अपेक्षा गरेर विद्रोह गराएको त्यो नहुँदा तपाईलाई पछुतो लागेको छ ?

– लाग्दैन । यथास्थितिबाट अलिकति अगाडि आउनु नै यात्राको सुरुवात हो । अब उहाँ न अर्धमाक्र्सवादी भएर बस्न सक्नुहुन्छ न अर्धआदिवासीवादी भएर । त्यसमा पनि अनेकखालका भ्रमका समाचार बाकेर राजनीतिमा त त्यस्तो चल्दैन । उहाँको यो अस्पष्ट नीतिबाट चल्दैन ।

एमालेलाई धेरैले लिंग छुट्याउन नसकिने भन्छन्, अशोक राईलाई पनि त्यही भन्न खोज्नुभएको हो ?

– एमालेको स्कुलिङ नै यस्तै हो । ममा पनि थियो होला थोरबहुत ।

अशोक राईले चाहिँ माक्र्सवाद नछाडेकै कारण पार्टी अलग-अलग गठन गर्नुभयो । तर, बैद्य माओवादीजस्तो कडा माक्र्सवादीसँग मोर्चाबन्दी गरेर हिँड्नुभएको छ, किन ?

– हामी त यहाँ माक्र्सवाद, आदिवासीवाद हुने भनेर भेला भएका हैनौं । चारदलको सिण्डिकेट र राष्ट्रपतिबाट जारी भएको २५ बुँदे खारेज गरी राष्ट्रिय सहमतिबाट संविधानसभाको निर्वाचन सम्पन्न गर्न र त्यसरी गराउने चुनावमा कुनै क्षेत्रबाट औंला उठाउने ठाउँ नदिन भेला भएका हौं ।

तर, ३३ दलमा पनि बैद्य माओवादीको सिण्डिकेट छ भन्ने छ नि ?

– हाम्रो त सामूहिकतामा चलेको छ । ३३ दलीय मोर्चामा काम गर्न कार्यदल छ । त्यसले गरेको गृहकार्यबारे ३३ दलीय मोर्चामा छलफल गरेर मात्र कार्यान्वयन हुन्छ ।

माओवादीको पोखरा बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको थियो । ३३ दलले रोकेको हो ?

– मुलुक सहमतिबाट अगाडि बढोस् भन्नेमात्र हाम्रो प्रयास हो । बैद्यको सिण्डिकेट चल्ने भएको भए पोखरा बैठकको निर्णय लागू हुने थियो होला । पछि राजावादीहरुसँगको सहकार्यको कुरा आयो, त्यो पनि लागू हुन सकेन । त्यसमा म लगायतका साथीहरुको भूमिका थियो । हामी सबै मिलेर बैद्यलाई ठिक अवधारणा सार्वजनिक गर्न लगाएका हौं । हामीले एकलौटी वार्ता टोली गठन गर्दा पनि त्यसो नगर्नुस् भन्यौं र उहाँले सकारात्मक रुपमा लिनुभयो । हामी वार्ता टोली भंग गछौं भन्नुभएको थियो बैद्यले तर, हामीले त्यसो गर्नुपर्दैन, मिलेर जाऔं भन्यौ ।

भनेपछि ३२ दलले बैद्यलाई विद्रोहमा जानबाट रोक्न र चुनावमा ल्याउन सक्छ ?

– यस्तो भन्नु गलत अर्थ लाग्छ । ३२ दलले सहमतिमा ल्याउन डोहोर्‍याउने कि ? कुनै अर्को शक्तिले विद्रोहमा लैजान डोहोर्‍याउने कि । मलाई यस्तो लाग्दैन कि बैद्य कसैले डोहोर्‍याएर डोहोरिनुहुन्छ । यद्यपि त्यो घटकमा रहेका दलका हिसावले हामीलाई के विश्वास छ भने संविधानसभाको निर्वाचनप्रति हामी सबै प्रतिवद्ध छौं । संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्ने कुरामा ३३ दलीय मोर्चामा प्रतिवद्ध छ । त्यो प्रतिवद्धता बोक्ने नेतृत्वदायी एउटा पार्टीको अध्यक्षमा बैद्य आफैं हुनुहुन्छ ।

उहाँहरुले हामीसँग यस्तो प्रतिवद्धता गर्नुभएको छ । हामीले पनि बजारमा चलेका हल्लाहरुको विषयमा प्रतिवद्धताहरु मागेका थियौं । छलफल गरौं । अलग अलग बसेर कुरा गर्दा उहाँहरु निर्वाचनप्रति प्रतिवद्ध हुनुहुन्छ, सहमतीय प्रक्रियाप्रति प्रतिवद्ध हुनुहुन्छ र संविधानसभाबाटै संविधान बनाउनुपर्छ भन्नेमा प्रतिवद्ध हुनुहुन्छ ।

गोलमेच भयो भने मंसिर ४ मै आउन तयार हुनुहुन्छ ?

-मंसिर ४ मा कोही पनि आउन सक्ने अवस्था छैन । प्राविधिक रुपमै सम्भव छैन । कि ३३ दललाई पेलेर जानुपर्यो, हैन सहमति गर्ने हो भने सम्भव छैन । तर, हामीले के भनेका छौं भने गोलमेचमा बसेपछि विवादित कामलाई स्थगित राखौं । गोलमेचमा छलफल गर्दा मंसिर ४ मै उपयुक्त हुन्छ भन्यो भने हामी तयार छौं । गोलमेचले पछि गरौं भन्यो भने चार दलले पनि मान्नुपर्छ । तर, विवादित कामलाई जारी राखेर गोलमेच गर्नुको त कुनै अर्थ छैन ।

चार दलसँग सहमति नभएपछि राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ । सहमति हुन्छ ?

– चार दल विशेषतः कांग्रेस र एमाले आफ्नो एजेण्डा तल पर्छ भन्ने भएपछि गोलमेचबाट भाग्नु भएको छ । अब उहाँहरुसँग त्यतिधेरै विश्वास छैन । तर, वार्ताको ढोका खुला राखेका छौं । उहाँहरुले फेरि नाटक गर्नका लागि वार्तामा बोलाए भने पनि हामी जान्छौं ।

तर, सार्थक परिणाम निकाल्नका लागि अन्तिम प्रयास हाम्रोतर्फबाट गरौं भनेर सहजीकरण गरिदिनुस् भनेर राष्ट्रपतिलाई भनेका छौं । हाम्रोतर्फबाट इमान्दार छौं र प्रयास पनि गरिरहेका छौं ।

तपाईहरुसँग सहमति भयो भने चुनाव सर्ने भो, भएन भने पनि अवरोध गरेर सार्न बाध्य पार्नुहुन्छ ?

धेरैले हाम्रो आन्दोलनलाई चुनाव भाँड्ने आन्दोलनका रुपमा चिनाएका छन् । राज्यले गरेका काम चित्त बुझेन भने विरोध गर्ने अधिकार छ हामीलाई । असहमतिहरुले विरोध गर्छ, आन्दोलन गर्छ, हडताल गर्छ, त्यसले चुनाव सर्छ कि सर्दैन भन्ने ठूलो कुरा हैन । अहिलेकै अवस्थामा चुनाव गर्ने हो भने हामी आन्दोलन जान्छौं । र त्यसमा सरकारले दमन गर्छ भने आन्दोलन हिंसात्मक पनि हुनसक्छ । सरकारको पक्षबाट पनि, आन्दोलनकारीहरुको पक्षबाट पनि हुनसक्छ र त्यसको जिम्मेवारी लिनुपर्छ ।

चुनावमा भाग नलिने तपाईहरुको अधिकार होला । तर, सहमतहरुले भोट हाल्न जान पाउनु पनि उनीहरुको अधिकार हो नि हैन ?

हामी विरोध गर्छौं। कोही सहभागी हुन जान्छ भने उनीहरुको अधिकार खोस्दैनौं । तर, हाम्रो विरोधमा अनावश्यक दमन गर्छ भने झडप त भइहान्छ । त्यसले कसलाई असर गर्छ, कसलाई गदैन भन्न सकिन्न । हामी विरोध गर्ने, त्यसलाई हस्तक्षेप गर्न कोही आयो भने त्यसको पेलाईमा को-को पर्छ को हो पर्छ भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment