Comments Add Comment

बैंकमा राख्दा झन घट्न थाल्यो पैसा

निक्षेप रकम अत्यधिक बढेपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । सामान्य बचत खातामा अधिकांश वाणिज्य बैंकले ३ प्रतिशतको हाराहारीमा ब्याज दर तय गरेका छन् ।

bank data

गत चैतदेखि लगातार निक्षेप बढ्दै गएको छ तर सो अनुपातमा कर्जा प्रवाह बढेको छैन । साउन र भदौ महिना बैंक तथा वित्तीय संस्थाले ब्याज दर घटाउने महिनाका रुपमा देखिएका छन् ।

पछिल्लो महिनामा सबै वाणिज्य बैंकले निक्षेपको ब्याज दर घटाएको सूचना प्रकाशन गरेका छन् भने अरु वित्तीय संस्थाले ब्याज घटेको सूचना प्रकाशन गर्ने क्रम जारी छ । तर कर्जाको ब्याज दर भने बैंकहरुले घटाएका छैनन् ।

चुनावी चर्चाको समयमा लगानीको वातावरण नभएको हुनाले ऋणको माग नभएको बैंकहरुले दाबी गरेका छन् । ऋणको माग नभएकाले उच्च ब्याजमा निक्षेप उठाउन नसकिने तर्क बैंकहरुको छ । बैंकहरुले ऋणको ब्याज घटाएर ग्राहक आकर्षण गर्ने प्रयास भने गरेका छैनन् ।

नेपाल राष्ट्र बैंकका गभर्नरले सार्वजनिक मन्तव्यहरुमा केही महिना बढेको निक्षेप देखेर ब्याज दर नघटाउन बैंकलाई आग्रह गर्दै आउनु भएको छ । त्यसरी ब्याज दर घटाउँदा बजारले स्थायित्व नपाउने र तुरुन्तै तरलता समस्या आउने भन्दै गभर्नरले सचेत पार्ने गर्नु भएको छ ।

राष्ट्र बैंकले छिटो छिटो ब्याज दर परिवर्तन नगर्न पनि बैंकहरुलाई आग्रह गर्दै आएको छ । तर बैंकहरुले एक महिनामै दुई पटक सूचना प्रकाशन गरेर पनि निक्षेपको ब्याज घटाएको देखिएको छ ।

केन्द्रीय बैंकले धेरै प्रकारका ब्याज दर तय गरेर ग्राहक झुक्काउने कार्य बन्द गर्न पटक पटक आग्रह गरे पनि बैंकहरुले मानेका छैनन् । चालू, बचत र मुद्दती तीन प्रकारका खातामा बैंकहरुले दर्जनभन्दा बढी योजना विकास गरेर फरक फरक ब्याज दर तय गरेका छन् ।

नयाँ बैंकहरुले ब्याज घटाएपछि पुराना र नयाँ बैंकको ब्याज दर उस्तै भएको छ । सुरुमा बचत बढाउन सामान्य बचत खातामा ८ प्रतिशत ब्याज दिएका बैंकहरुले अहिले ३/४ प्रतिशतमा झारेका छन् । पुराना स्थापित बैंकले पहिल्यैदेखि थोरै ब्याज दिंदै आएका छन् ।

यही साता नेपाल राष्ट्र बैंकले ०.०७५ ब्याज दरमा सात दिनको लागि बैंकहरुबाट ५ अर्ब रुपैयाँ तरलता खिचेको छ । राष्ट्र बैंकले गत बुधबार जारी गरेको रिभर्स रिपोमा बैंकहरुले ६ गुणा बढी ३० अर्बको प्रस्ताव गरेका थिए ।

रिभर्स रिपोमा २८ बैंकले तरलता बिक्री गर्न आवेदन दिएका थिए । राष्ट्र बैंकले बैंकहरुलाई सात दिनको ७२ हजार रुपैयाँ ब्याज दिने भएको छ । उक्त ब्याज रकम न्यून भएको हुनाले बैंकहरुको रकम राष्ट्र बैंकमा निस्त्रिmय नै रहेको देखिन्छ ।

यता १० प्रतिशतको मूल्यवृद्धिको मार खेपिरहेका सर्वसाधारणले बैंकमा दुई/चार हजार रुपैयाँ बचत गर्दा रकम घट्ने अवस्था देखिएको छ । बैंकले एक वर्षमा लिने सेवा शुल्क र ब्याज रकमको तुलना गर्दा ब्याज रकम कम हुने देखिन्छ । जबकि मूल्यवृद्धिभन्दा कम ब्याज पाउनु स्वतः बैंकमा राखेको पैसा घट्नु हो ।

बैंकहरुले एटिएमको दुई सय र चेकको दुई गरी चार सय रुपैयाँ वाषिर्क शुल्क लिने गर्दछन् । खाता रहेको शाखाबाहेक अन्यत्रबाट चेक साट्दा एक पटककै एक सय रुपैयाँ तिर्नुपर्छ । सम्बन्धित बैंककै एटिएमबाट बाहेक अन्यत्रबाट पैसा निकाल्दा पनि शुल्क तिर्नुपर्छ ।

अहिलेसम्म केही नयाँ वाणिज्य बैंकले मात्र ५/६ प्रतिशतको ब्याज दिएका छन् । त्यो पनि केही समयपछि घट्ने सम्भावना रहेको छ । नेपाल राष्ट्र बैंकले कूल निक्षेपमा कम्तीमा ४० प्रतिशत व्यक्तिगत निक्षेप हुनैपर्ने निर्देशन दिएको छ । जसका कारण संस्थागत निक्षेप उच्च भएका बैंकले सर्वसाधारणलाई तत्कालको लागि उच्च ब्याज दिएका हुन् ।

बैंकहरुले मुद्दती खातामा दिने ब्याज पनि मूल्यवृद्धि दरभन्दा कम छ । न्यूनतम मौज्दातको सीमा उच्च गरेर बैंकहरुले ६/७ प्रतिशत बचतमा ब्याज दिएका छन् । त्यस्तै, धेरै वर्षको अवधिको सशर्त मुद्दतीमा बैंकहरुले ८/९ प्रतिशत सम्मको ब्याज दिएका छन् । तर, यस्ता ब्याजबाट सामान्य बचत गर्ने सर्वसाधारणलाई कुनै लाभ पुग्दैन ।

ब्याज दर कम भएको कारण खाता बन्द गर्न चाहने ग्राहकलाई बैंकहरुले बन्द गर्न निरुत्साहन गर्दछन् । खाता खोल्दा शून्य ब्यालेन्स वा एक/दुई सय ब्यालेन्स तोक्ने बैंकहरुले बन्द गर्दा भने १ हजार रुपैयाँसम्म लिने गरेका छन् ।

खाता बन्द गर्न जाने ग्राहकलाई बैंक कर्मचारीले घन्टौंसम्म ललाइफकाइ गरेर खाता बन्द गर्न दिंदैनन् । वाषिर्क शुल्क भने सेवा माग नगरे पनि बैंकहरुले ग्राहकको खाताबाट काटिरहेका हुन्छन् । जसले गर्दा ग्राहकले खातामा राखेको रकम हरेक वर्ष घट्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment