Comments Add Comment

एमालेले राष्ट्रपतिको मुद्दा छाडेको छैन, छाड्न मिल्दैन

विष्णु पौडेल, सचिव, नेकपा एमाले

cpn-uml-ledar-bishnu-poudel

एमालेले संसदीय दलको नेता छान्न सकेन भन्ने चर्चा छ नि?

यो चर्चामा सत्यता छैन । यो नितान्त मनोगत चर्चा हो । बाहिर भएको चर्चासँग कुनै साइनो सम्बन्ध छैन । निर्वाचनमार्फत् संसदीय दलको नेता छान्ने प्रक्रियामा हो तपाईंहरु निर्वाचनको प्रक्रिया हामीले तय गरेका छौं । निर्वाचन भन्नेवित्तिकै मान्छेले मतदान भन्नेमात्रै बुझ्छन् । निर्वाचनको अर्को प्रक्रिया भनेको सर्वसम्मरुपमा चुन्नु पनि हो ।

हामीले के तय गरेका छौं भने माघ २१ गते अपरान्हसम्म हामीले हाम्रो संसदीय दलको नेता र उपनेता निश्चित गर्छौं । त्यसका लागि प्रकृया आरम्भ भइसकेको छ । हामी अहिलेचाँहि छलफलको चरणमा छौं । छलफलबाट सर्वसम्मति जुटाउने कोशिश जारी छ ।

 कसको नाममा होला सर्वसम्मति ?

कुनै एउटा व्यक्तिको नाममा सर्वसम्मति हुन्छ भन्ने हुँदैन । कसैको नाममा सर्वसम्मति गर्ने भन्नेवित्तिकै सर्वसम्मति गर्ने बाटो बन्द हुन्छ, प्रतिकूल अवस्था सिर्जना हुन्छ । सर्वसम्मति जुटाउने प्रयास अन्तिम अवस्थामा सम्म जारी रहन्छ ।

एमालेमा संसदीय दलको नेताको दाबेदार को-को हुनुहुन्छ ?

दावेदारका बारेमा चर्चा गर्नु उचित हुन्न, को को दाबेदार छन् भन्ने कुरा महत्वको होइन, सबैलाई मिलाएर अघि बढ्ने प्रयास जारी छ ।

 संविधानसभाबाटै तपाईंहरु तीन नेता हराउनुभएको थियो, किन होला ?

हामी बेपत्ता भएको होइन । म वामदेवजी र ओलीजी बसेर सहमतिकै प्रयत्नका लागि छलफल गरेका हौं । एउटै दलका नेता एक ठाउँ बसेर छलफल गर्नुलाई अर्को अर्थमा हेरेर समाचारको विषय बनाउनु उचित हुँदैन ।

वामदेवजी र ओलीजीबीचमा सहमति जुटाउन बस्नुभएको हो ?

हामी बसेको दुईजनाबीचमा सहमति गराउनका लागि होइन । स्थायी कमिटीमा रहेका सबै साथीहरुबीच सहमति जुटाउने प्रयास हामीले गरिरहेका छौं । त्यसैले यसलाई एक या दुईजनको सहमतिका रुपमा मात्रै बुझ्नु गलत हुन्छ ।

सहमति हुने सम्भावना कत्तिको छ त ?

सहमति हुने सम्भावना अत्यधिक छ । मलाई विश्वास छ, सहमतिका साथ नै अहिलेको निर्वाचनको मामिलाको पटाक्षेप हुन्छ । बहुमत अल्पतबाट जानुपर्ने अवस्था आउन नदिन हामीले प्रयत्न जारी राखेका छौं । सभासदहरुले लाइन लागेर मतदान गरी संसदीय दलको नेता चुन्ने अवस्था आउँदैन ।

यतिबेला एमाले अल्मलिएको छ भन्ने कुरा आरोप छ नि ?

एमाले कतै पनि अल्मलिएको छैन, अलमल गरेको हल्ला सत्य पनि होइन । एमाले अहिले सहमतिका साथ अघि बढ्न गम्भीर छलफलमा केन्द्रित छ ।

 सरकारको विषयमा एमालेले के गरिरहेको छ ?

सरकारबारे नेपाली कांग्रेसले सरकारको दाबी गरेर हामीलाई औपचारिकपत्र पठाएको छ । कांग्रेसको पत्र प्राप्त भएपछि हामीले त्यसलाई सकारात्मकरुपमा लिएर तपाईंहरु सरकारको नेतृत्व गर्नुस् भनेका छौं । तर, अब सरकारको समीकरणको बारेमा भने द्वीपक्षीय छलफल थाल्नेछौं ।

 राष्ट्रपतिको चुनाव हुनुपर्ने अडान एमालेले छोड्यो भन्छन् नि ?

राष्ट्रपतिको मुद्दा छोड्यो किन भन्छन्, कसले भन्छन् हामीलाई थाहा छैन । हामीलाई एउटै कुरा थाहा छ, हाम्रो पार्टीको स्थायी कमिटीको बैठकमा विद्यमान संविधान, त्यसको व्यवस्था, लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई टेकेर हामीले राष्ट्रपतिको चुनाव हुनुपर्छ भन्ने निर्णय गर्‍र्यौं ।

स्थायी कमिटीले सर्वसम्म गरेको निर्णयलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्दा पनि सर्वसम्मत निर्णय भएको छ । भर्खरै बसेको स्थायी कमिटीको बैठकले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्छ भन्ने निर्णय दोहोर्‍याएर एमालेको अडानको पुनर्पुष्टि गरेको छ ।

बाहिर कसले के भन्छ भन्ने भन्दा पनि एमालेले के निर्णय गर्‍यो भन्ने महत्वपूर्ण हो । यो विषय एमालेले छोडेको छैन र छोड्न मिल्ने विषय पनि होइन । प्रश्न के हो भने यो सम्माननीय राष्ट्रपति रामवरण यादवसँग जोडिएको विषय होइन, एमालेले व्यक्तिको विषयलाई उठाएको होइन, सिस्टमको विषय उठाएको हो ।

 तर, राष्ट्रपतिको विषयले गर्दा सरकार गठनमा कांग्रेससँग शक्ति बाँडफाँड मिल्ला त ?

मलाई त्यस्तो लाग्दैन । कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने पार्टी हो भनिरहेको छ, हामीले पनि त्यही बुझेका छौं । कांग्रेसले राष्ट्रपति को निर्वाचनको विषयलाई लिएर अफ्ठेरो मान्छ भन्ने हामीले ठानेका छैनौं । कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको विषयलाई प्रतिष्ठाको विषय बनाउँछ भन्ने हामीलाई लाग्दैन ।

कांग्रेस नेताहरुले राष्ट्रपतिबारे कुरै नगरौं, पावर शेयरिङको विषय नबनाऔं भनेका छन्, जो प्रधानमन्त्री हुन्छ अर्थमन्त्री र गृहमन्त्री पनि उसैको हुन्छ भनेका छन् नि ?

कांग्रेस नेताहरुले कहाँ के भने म टिप्पणी गर्न चाहन्न । हामी दुई पार्टी अहिले वार्ताको चरणमा छौं । हाम्रा नमिलेका कुरा द्वीपक्षीय बैठकमा राखेर समाधान खोज्छौं ।

एमालेमा गुटबन्दी बढ्यो भन्ने कार्यकर्ता र शुभचिन्तकमा चिन्ता छ नि?

एमालेमा गुटबन्दी बढ्यो भन्दा पनि हाम्रो पार्टीको आन्तरिक जीवनलाई विधिसम्मत, स्वस्थ र मर्यादित बनाउनुपर्छ । केही एकखालका विधिका सीमाहरु मिचिनेखालका हर्कतहरु हुने गरेका छन्, त्यसलाई चाँहि ट्रयाकमा ल्याउनुपर्छ र विधिसम्मतरुपमा चलाउनुपर्छ ।

पार्टी अध्यक्ष खनाल संसदीय दलको नेता नबन्दा राम्रो हुन्छ भन्ने तपाईंहरुको तर्क हो ?

अहिले को बन्दा हुन्छ, को बन्दा हुँदैन भनेर अहिले म तपाईंहरुसँग चर्चा गर्दिँन । अहिले म सहमति निर्माणमै जुटिरहेकाले सहमतिबाटै निकाश निकाल्ने प्रयासमा छु । वामदेवजी र ओलीजीसँग मैले गरेको छलफल पनि सहमतिकै लागि हो ।

अन्त्यमा, मंसिर ४ को चुनावमा मतगणना हुनुपूर्व तपाईंले प्रचण्डलाई फोन गरेर रुपन्देहीमा म हार्ने भएँ, बाबुरामजीले जित्नुभयो भन्नुभएको थियो रे नि हो ?

कसले हार्‍यो, कसले जित्यो त्यो नतिजाले देखाइसकेको छ । यसखालका प्राविधिक चर्चाको कुनै अर्थ छैन । चुनावपछि बाबुरामजीसँग फोनमा तथा प्रत्यक्ष भेट भएको छ । हामी दुबैले एकअर्कालाई शुभकामना आदान-प्रदान गरिसकेका छौं । यस्ता निरर्थक हल्लाको पछि लाग्नुको अर्थ छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment