Comments Add Comment

नरेन्द्र मोदीले नेपालीलाई सहयोगी राखेको खुलासा (भिडियोसहित)

२० असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको मुख्यमन्त्री हुनुभन्दा पहिलेदेखि नै नेपालीलाई आफ्नो सहयोगी राखेको खुलासा भएको छ । अहिले पनि ती नेपाली प्रधानमन्त्री मोदीको सहयोगीकै रुपमा कार्यरत रहेको र उनले मोदीको जीवनमा अर्जुनको भूमिका निभाइरहेको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले बताएका छन् । यद्यपि उनी को हुन् र के काम गर्दैछन् भन्ने कुरा जोलीले खुलाएनन् । narendra modi

‘ती नेपालीको नाम मलाई याद छैन, नेपाल भ्रमणमा आएका जोलीले अनलाइनखबरसँग भने- ‘तर अहिले पनि उनी मोदीजीसँगै छन् । उनी नेपालबाट वाल्यकालमै भारतमा गएका हुन् ।’ एमाले महाधिवशेनको निम्तो मान्न आएका जोलीले शुक्रबार बिहान एभरेष्ट होटलमा नेपाली पत्रकारहरुसँग यो रहस्यको खुलासा यसरी गरे- ‘म तपाईहरुलाई एउटा कुरा सेयर गर्न चाहन्छु । अढाइ वर्ष पहिले मोदीजी जब गुजरातको मुख्यमन्त्री थिए, उनको नेपाल आउने यात्राको पूरा कार्यक्रम बनेको थियो । ८ सदस्यीय प्रतिनिधि मण्डलमा म पनि आउने तय भएको थियो ।

त्योभन्दा पहिले उनले नेपालका एक प्रमुख उद्योगपतिलाई यो खबर गरे कि म नेपाल आउनुभन्दा पहिले, जो एक नेपाली सहयोगी मेरो साथमा कयौं वर्षदेखि कार्यरत छन्, उनी बचपनमै भारत आएका थिए, उनले आफ्नो परिवारलाई दोहोर्‍याएर भेटेका छैनन् । म चाहन्छु उनको परिवार पत्ता लगाइयोस् ।

मोदीजीको सफल प्रयास एवं नेपाली प्रमुख उद्योगपतिको ‘इन्टरभेन्सन’बाट मोदीजीको सहयोगी, जो उनको जीवनमा सार्थकरुपबाट एक अर्जुनको भूमिका निर्वाह गर्छन्, उनी आफ्नो नेपाली परिवारका साथ, आमाका साथ, भाइका साथ उनलाई जोड्न सम्भव भयो । मोदीजी नेपाल आउन पाएनन् ।’

नेपाल आउने प्रवल इच्छा

बीजेपी नेता जोलीले मोदीको नेपाल आउने तीव्र इच्छा रहेको बताएका छन् । ‘प्रधानमन्त्री मोदीजीको मनमा नेपाल आउने प्रवल इच्छा छ । मोदी नेपाल केवल राजनीतिक दृष्टिले मात्रै होइन, अपितु सांस्कृतिक दृष्टिले पनि आउन प्रवल इच्छुक छन्’ जोलीले भने-‘उनको मनमा काशी पशुपतिनाथ मन्दिरको दर्शन गर्ने अभिलाषा विगत केही वर्षदेखि रहेको छ ।’

तर, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण प्रधानमन्त्री सुशील कोइराला अमेरिकबाट नेपाल फर्केपछि मात्रै हुने जोलीले बताए ।उनले भने- ‘अबको परिस्थितिमा उनको मनको इच्छाअनुसार उनी अवश्य नेपाल आउने छन् । उनको यो पनि इच्छा छ कि प्रधानमन्त्री कोइरालाजी शिघ्र स्वस्थ्य हुन् । उनी स्वदेश फिर्ता आउन्, त्यही समय भारतीय प्रधानमन्त्री अर्को देशको प्रधानमन्त्रीको उपस्थितिमा सहजतापूर्वक आउन सम्भव होस् ।’

६ सय मेघावाटको विजुली, ५ हजारलाई छात्रवृत्ति

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ६ सय मेघावाटको विद्युत परियोजना तय हुने जोलीलेल बताए । त्यसैगरी मेडिकल, इञ्जिनियरिङ आदिमा भारतले दिँदै आएको ३ हजार छात्रवृत्तिको कोटालाई ५ हजार पारिने जोलीले बताए । नेपालमा औद्योगिक विकास गरेर युवालाई रोजगारीका लागि विदेश जानुनपर्ने वातावरण बनाइनुपर्ने उनले भने ।

भिडियो हेर्नुस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment