Comments Add Comment

नेता भन्छन्- सुनकोशीमा ‘अरनिको ताल’ बनाऔं !

Sunkoshi Disaster (38)४ भदौ, काठमाडौं । साउन १६ गते मध्यरातमा सिन्धुपाल्चोकको जुरेमा पहिरो गएर थुनिएको सुनकोशीले बनाएको ताल फुटाउने कि जोगाउने ? विज्ञहरु नै यसमा विभाजित भएका छन् । प्रकृतिले बनाएको ताललाई जोगाएर जलविद्युत र पर्यटनमा प्रयोग गर्न कतिपयले सुझाउन थालेका छन् ।

तर, पहिरोले बनाएको तालको प्रारम्भिक अध्ययन गरेका अध्येताहरुले भने ताल धेरै समय रहनु मानव वस्तीका लागि खतरा भएको रिपोर्ट प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका छन् । सुनकोशीमा डेढ सय बढी स्थानीयवासीलाई एकै ठाउँमा पुरेर बनेको ताल कुलेखानी जलाशयको दश भागको एक भाग मापन गरिएको छ ।

सय वर्षअघिको कुरा

भूगोलका विद्यार्थीसमेत रहेका रामेछापका पूर्वसांसद देवशंकर पौडेलले करीव ८० वर्षअघि सुनकोशी र लिखुको दोभानमा प्राकृतिक प्रकोपबाट बनेको तालको उदाहरण दिँदै जुरेमा थुनिएको सुनकोशीलाई ‘अरनिको ताल’ नामाकरण गर्दै यसलाई संरक्षण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । पौडेलको प्रस्तावले नयाँ बहसको रुप लिएको छ ।

सुनकोशीमा एक सय वर्षयता यसरी नदी थुनिएर बनेका धेरैवटा ताल अस्थित्वमा रहेको पौडेलको दाबी छ । इन्जिनियर एशोसियसनका अध्यक्ष धु्रव थापाले समेत यो ताललाई बहुउपयोगमा लगाउन सकिने तर्क अघि सारेका छन् ।

तर, सुनकोशी कोरिडोरका स्थानीय बासिन्दाले यो ताल कुनै पनि बेला काल बन्न सक्ने भन्दै चाँडो निकास दिन आग्रह गरिरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाको हातमा एउटा रिपोर्ट पुगेको छ ।

कत्रो छ ताल ?

सुनकोशी तालका अध्येता मन्दिप सुवेदीका अनुसार यसको गहिराइ ४७ मिटरसम्म छ । तालको जगमा ७५० देखि ८५० मिटर चौडाइ छ भने माथि आइपुग्दा यसको चौडाइ साँघुरिएर करीव ५ सय मिटरसम्मको बनेको छ ।

mandip subedi यो तालमा ११ दशमलब १ मिलियन मिटर क्युब पानी जमेको छ । जुन कुलेखानी जलाशयको एक भाग हो । तालमा कम्तिमा ४० लाख क्युबिक मिटर माटो जम्मा भएको रिपोर्टमा उल्लेख छ ।

यसैवीच नेपाली सेनाले सुनकोशीमा जमेको पानी १०/१२ मीटरसम्म घटाएर बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउने प्रयासको थालनी गरेको छ । यसका लागि सेनाले तालको पानी तत्काल खोल्ने जनाएको छ ।

ताल बन्न सक्छ काल

प्रधानमन्त्रीलाई विज्ञहरुले प्रारम्भिक अध्ययन अनुसन्धान गरेर बुझाएको रिपोर्टमा पनि यो ताल धेरै समयसम्म यथावत राख्दा तल्लो तटीय क्षेत्रमा काल बनेर फुट्न सक्ने चेतावनी दिइएको छ ।

 ‘विस्तृत अध्ययन नगरी ताल देखेर उत्साहित हुने अवस्था छैन, यसलाई वैज्ञानिक ढंगले निकास दिएर खाली गर्नैपर्छ’ अध्ययनमा सहभागी इन्जिनियर मन्दीप सुवेदीले अनलाइनखबरसँग भने । उनका अनुसार ताल कुलेखानीको इन्द्र सरोवरको दश भागको एक भाग जति छ ।

नेपालमा बेला-बेलामा नदी थुनिएर वा प्राकृतिक प्रकोपबाट यस्ता ताल धेरै बनेका छन् र समयक्रममा फुटेका पनि छन् । तर, सुनकोशी थुनिएर बनेको ताल भने नदी किनाराका जनताको काल बन्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

नेपाल इन्जिनियरिङ एशोसियसनका सदस्यसमेत रहेका सुवेदी भन्छन्- यो ताल एक दुई वर्ष रहन पनि सक्छ, तर यहाँभित्र घरहरु पुरिएका छन्, रुखहरु छन्, खेत परेको छ । भोलि रुख मक्किएर टुक्रिदै जाँदा, माटो भासिँदै जाँदा पानी निस्कन थाल्छ र ठूलो भवितव्य आउन सक्छ ।

विस्तृत अध्ययनविना यो ताल जोगाउने कुरा गर्न नहुने सुवेदीको भनाइ छ । ‘करोडौं खर्च गरेर विस्तृत अध्ययन गर्नुभन्दा त अर्को कृत्रिम ताल नै बनाए भइगो नि’ उनले भने । यो तालको एउटा साइडमा चट्टानहरु भए पनि अरु साइडमा त्यस्तो नभएको अध्ययनले देखाएको छ ।

कस्तो छ अवस्था ?

‘एक साइडमा त रक छ, अर्को माटोमा रक छैन, त्यसलाई तालका रुपमा राखेर डिजास्टर हुन सक्छ’ प्रधानन्त्रीलाई बुझाएको रिपोर्ट उल्लेख गर्दै सुवेदीले भने ‘ब्लास्टिङ गरेर भन्दा विस्तारै अहिले नदी बगेको ठाउँको विपरीततिर खनेर गहिरो बनाउँदै पानी बगाउनुपर्छ’ ।

विज्ञहरुले ताल खुलाउने उपायका रुपमा ब्लास्टिङ भन्दा माटो र चट्टान काट्दै निकास दिने प्रविधि उपयोग गर्नुपर्ने सुझाव रिपोर्टमा दिएका छन् । ‘नदीले धार परिवर्तन गरेको छ, पहिले सुनकोशी बग्ने ठाउँतिर गहिरो बनाउदै पानीलाई सहज निकास दिने उपाय अबलम्बन गर्नुपर्छ’ रिपोर्टमा भनिएको छ ।

चीनलाई किन रोकियो ?

चीनमा एक सय वर्षअघि ठूलो भुइँचालो जाँदा त्यहाँका स्थानीय नदीमा यस्तै ४० ओटा ताल बनेका थिए । चीनले ती सबै ताललाई फुट्न नदिई व्यवस्थित ढंगले पानी निकास दिएर नदीलाई पूर्ववत बगाएको थियो ।

चीनको त्यही अनुभव नेपालले सुनकोशीको तालमा प्रयोग गर्नुपर्ने अध्येताहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । ‘तर चीनले सघाउन खोज्दा पनि किन नेपाल सरकारले अस्वीकार गर्‍यो भन्ने रहस्य अझै खुलेको छैन’ सरकारकै एक उच्च अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment