Comments Add Comment

वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दो टोली कोरिया प्रस्थान

११ भदौ, काठमाडौं । एसियाली खेलकुदको तयारीका क्रममा वैदेशिक प्रशिक्षणका लागि लागि १२ तेक्वान्दो खेलाडी बुधबार दक्षिण कोरियाको सुवान प्रस्थान गरेका छन् । टोलीमा समान ६-६ पुरुष र महिला खेलाडी छन् ।

पुरुषको ५४ केजीमुनि अरुण अधिकारी, ५८ केजीमुनि रञ्जन श्रेष्ठ, ६३ केजीमुनि सुजन जोशी, ६८ केजीमुनि महम्मद वेश, ७४ केजीमुनि सक्षम कार्की तथा ८० केजीमुनि दानबहादुर ऐरी रहेका छन् ।

महिलातर्फ ४९ केजीमा यानकुमारी चौलागाईं, ५३ केजीमुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा, ६२ केजीमुनि मनीता शाही, ६७ केजीमुनि आयशा शाक्य र ७३ केजीमाथि निशा रावल छन् ।

उनीहरु बिहीबारदेखि प्रशिक्षणमा सहभागी हुने नेपाल तेक्वान्दो संघले जनाएको छ । खेलाडीले त्यहाँको ख्योनही विश्वविद्यालयमा प्रशिक्षण लिने छन् । इन्चोन एसियाड असोज ३ देखि सुरु हुँदैछ । खेलाडीहरु असोज २ गते भिलेज प्रवेश गर्ने बताइएको छ ।

वर्तमान टोलीका खेलाडीमा मनीता र आयशाले मात्र एसियाली खेलकुदमा पदक जितेका छन् । दुवैले सन् २००६ मा कतारको दोहामा भएको १५ औं संस्करणमा कांस्य जितेका थिए ।

एसियाली खेलकुदमा नेपाललाई सबै भन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो नै हो । विभिन्न संस्करणमा तेक्वान्दोले मुलुकलाई १ रजत र १३ कांस्य दिलाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment