Comments Add Comment

विजय गच्छदारलाई सरकारमा ल्याउने केपी ओलीको वचन

२ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चामा आवद्ध मधेसवादी दललाई सरकारमा सहभागी गराउने योजना अघि सारेका छन् ।

KP oliएमाले संसदीय दलको कार्यालयमा अघिल्लो साता आफूलाई भेट्न आएका युरोपियन मुलुकका एक राजदूतसँग एमाले अध्यक्ष ओलीले यस्तो खुलासा गरेका हुन् ।

‘माघ ८ मा संविधान आउँछ, असन्तुष्ट रहेका विजय गच्छदार र उपेन्द्र यादवलाई पनि सरकारमा सहभागी गराएर संविधान जारी गरिन्छ,’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘माओवादीहरुले आफूलाई पुरानै ठाउँमा रहेको ठानिरहेका छन्, तर उनीहरुको जमीन कमजोर भइसकेको छ ।’

राजदूतसँग भएको ओलीको छलफलमा एमाले उपाध्यक्ष वामदेव गौतम र विद्या भण्डारी पनि सहभागी थिए ।
अंग्रेजीमा फरर बोलेका ओलीले माघ ८ मै संविधान जारी हुनेमा कूटनीतिज्ञलाई ढुक्क बनाएर पठाएको स्रोतले बतायो ।

एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाको आन्दोलन कमजोर देखिएकाले त्यस्तो आन्दोलनबाट डराउनु नपर्ने ओलीको दाबी छ । राजदूतसँगको छलफलमा उपाध्यक्ष वामदेव गौतमले नेपालीमा बोल्दै टाउको ठोकेर भए पनि संविधान ल्याउने बताएका थिए ।

आइतबार मात्रै निर्माण व्यवसायी संघको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी ओलीले दुई तिहाइ बहुमतले संविधान जारी गर्ने बताए । एमाओवादी अध्यक्ष प्रचण्डले आन्दोलन र उच्चस्तरीय संयन्त्र दुबैको नेतृत्व गरेर प्रचण्डले दोहोरो भूमिका खेलेको आरोप लगाए ।

प्रचण्डको मोर्चा फुटाउने रणनीति

प्रचण्डको मोर्चामा रहेका गच्छदारलाई सरकारमा लगेर विपक्षीको मोर्चा फुटाउने रणनीतिमा सत्तापक्षका नेताहरु सक्रिय भएको छनक प्रचण्डले समेत पाइसकेका छन् ।

विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने आश्वासन आउन थालेको संकेत पाएकै कारण प्रचण्डले खुल्लामञ्चको सभामा आफूले खुट्टा नकमाउने र अरुलाई पनि कतैबाट आश्वासन आउँदा नझुक्न प्रचण्डले आग्रह गरेका छन् ।

कांग्रेस र एमाले नेताहरुको बुझाइ अनुसार गच्छदार उपप्रधानमन्त्री पाएपछि सरकारमा सजिलै आउन सक्छन् । गच्छदारलाई उपप्रधानमन्त्री र अन्य नेतालाई मन्त्री पद दिएर सहमतिमा ल्याउन सकिने बुझाइ केपी ओलीलगायतका नेताहरुको छ ।

तर, उपेन्द्र यादवलाई भने सरकारमा ल्याउन गच्छदारलाई जस्तो सजिलो नहुने उनीहरुको विश्लेषण छ ।

माघपछि ओली कि देउवा ?

माघ ८ गते संविधान बने पनि, नबने पनि सरकार परिवर्तन हुने र केपी ओली प्रधानमन्त्री हुने एमाले नेताहरुको दाबी छ । केपी ओली माघअगावै मधेसी मोर्चालाई सरकारमा ल्याउने र गठबन्धन बलियो बनाउने तयारीमा छन् ।

तर, माघ ८ पछि सुशील कोइराला सरकारबाट बाहिरिए पनि नयाँ सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने कांग्रेस सूत्रको दाबी छ ।

‘एमालेलाई सरकारको नेतृत्व सुम्पन कांग्रेस तयार छैन, उसलाई प्रतिपक्षमा राखेर कांग्रेस, एमाओवादी र मधेसवादीको सरकार बन्न सक्छ’ स्रोतले अनलाइनखबरसँग भन्यो,’ त्यो अवस्थामा केपी ओली हैन, शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्छन् ।’

अहिले सरकारको नेतृत्वमा सुशील कोइराला रहे पनि एमालेले जतात्यतै आफ्नो हैकम जमाएको भन्दै कांग्रेस नेताहरु एमालेलाई प्रतिपक्षमा नराखे अर्को चुनावमा उसले कांग्रेसलाई जित्ने र पहिलो पार्टी बन्ने निश्कर्षमा पुगेका छन् ।

त्यसो त कोइराला नेतृत्वको गठबन्धन बन्ने बेलामा समेत कांग्रेसका कतिपय नेताहरु एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा थिए । अहिले स्वयं प्रधानमन्त्री कोइरालासमेत एमालेको भूमिकाप्रति असन्तुष्ट छन् ।

अहिले नै दरार पर्न थालिसकेको कांग्रेस-एमाले गठबन्धन माघपछि नटिक्ने कतिपयको विश्लेषण छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको खेलमा नलाग्ने बताउँदै आएका छन् । तर, प्रचण्ड यो खेलमा नलागे पनि सत्ताधारी दलहरुचाँहि सरकारको जोड घटाउमा लागिसकेको संकेत केपी ओलीले कूटनीतिज्ञहरुलाई समेत दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment