Comments Add Comment

कांग्रेसमा महासमिति बोलाउन सुजाताको हस्ताक्षर अभियान

Sujata-Koirala३ कात्तिक, काठमाडौं । अनुशासनको कारवाही सिफारिसमा परेकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालासहित पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको कार्यशैलीसँग असन्तुष्ट संस्थापन पक्षकै नेताहरुले महासमिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने भएका छन् ।

पार्टी संस्थागत ढंगले चल्न छाडेको, गिरिजाप्रसाद कोइरालाका अनुयायीहरुलाई छानी छानी सिध्याउन लागिएको र प्रधानमन्त्री कोइरालाले सरकार सञ्चालन गर्न नसकेको भन्दै आवश्यक छलफल गर्न महासमिति बैठक माग गर्न लागिएको हो ।

कांग्रेस विधानमा महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमिति मानिन्छ । विधानअनुसार प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने भए पनि चार वर्षमा एकपटक मात्र महासमिति बैठक बसेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य तथा सभासद सुजाता कोइरालाले महासमिति बैठक बस्नु आवश्यक रहे पनि आफूले अहिलेसम्म बैठक बोलाउनका लागि हस्त्ााक्षर संकलन भने गरी नसकेको बताइन् ।

उनले साथीहरुले महासमिति बैठक केन्द्रीय कार्य समितिले बोलाउँदैन भने विधानअनुसार बोलाउन माग गर्न लागेको हुन सक्ने बताइन् ।

स्रोतका अनुसार कोइरालानिकट नेताहरुले तिहारलगत्तै महासमिति बैठक बोलाउन माग गर्दै महासमिति सदस्यहरुको हस्ताक्षर संकलन गर्ने भएका छन् ।

कांग्रेस विधानअनुसार महासमितिका ४० प्रतिशत सदस्यहरुले कारण खोली बैठक बोलाउन केन्द्रसमक्ष लिखित अनुरोध गरेमा अनुरोध प्राप्त भएको तीन महिनाभित्र महासमितिको विशेष बोलाउनुपर्ने व्यवस्था छ ।

‘दशैं तिहार परेकाले ढीला भएको हो, महासमिति बैठक बोलाउन तिहारलगत्तै हस्ताक्षर संकलन शुरु हुनेछ,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले भने ।

आमोद उपाध्याय संयोजकत्वको केन्द्रीय अनुशासन समितिले सुजातासहित १ सय ८३ जना कांग्रेस नेता कार्यकर्तामाथि संविधानसभा निर्वाचनमा अन्तरघात गरेको अभियोगमा अनुशासनको कारवाही सिफारिस गरेको छ ।

अनुशासनको कारवाहीमा पर्ने सुजाता सबैभन्दा उपल्लो नेता हुन् । उनले अनुशासन समितिले गिरिजाप्रसाद कोइरालाका अनुयायीहरुलाई मात्र छानी-छानी कारवाही सिफारिस गरेको आरोप लगाएकी छन् ।
केन्द्रीय अनुसाशन समितिको सिफारिस चित्त नबुझेको खण्डमा सोको सूचना पाएको मितिले ३५ दिनभित्र केन्द्रीय कार्य समितिमा पुनरावेदन दिने कांग्रेस विधानले व्यवस्था गरेको छ ।

तर, नेतृ कोइरालाले आफूले सो समितिको कारवाहीलाई मान्यता नदिएकाले पुनरावेदन होइन केन्द्रीय कार्य समितिमा प्रतिवेदन पेश हुनै नदिने बताएकी छन् ।

कांग्रेस संस्थापन पक्षले भने विधान अनुसार नै महाधिवेशन हुने वर्ष महासमिति बैठक नहुने र अहिले माघ ८ मा संविधान जारी गर्नुपर्ने भएकाले महासमिति बोलाउन सम्भव नरहेको प्रष्ट पारेको छ ।

तर, यसबीचमा सुजाता कोइराला निवास मण्डिखाटारमा बसेको संस्थापन पक्षका असन्तुष्ट नेताहरुको बैठकले सुशील कोइराला पार्टी र सरकार सञ्चालनमा असफल भएको ठहर गरेको एक सभासदले बताए ।

भेलाले पार्टीमा देउवा पक्ष तथा सरकारमा एमाले हाबी भएको निष्कर्ष निकाल्दै महासमिति विशेष बैठक बोलाउन अभियान चलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment