Comments Add Comment

नेताका पीए मन्त्री बन्दा लेखामा यस्तो देखियो

DIPAK AMATYA३ कात्तिक, काठमाडौ । नेपाल पर्यटन बोर्डमा भएको अनियमितता र भ्रष्टाचारका सम्बन्धमा जानकारी दिन संसदको सार्वजनिक लेखा समितिमा उपस्थित भएका पर्यटनमन्त्री दिपक अमात्यले सभासदको प्रश्नको जवाफ दिन नसकेपछि सहसचिवले सभासदको सामना गर्नुपरेको छ ।

यतिसम्मकी मन्त्री अमात्यले उनकै व्यक्तिगत जीवनका बारेमा उठेको प्रश्नको जवाफ समेत दिन सकेनन् र सँगै रहेका पर्यटन मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटातिर फर्किए ।

उनलाई सभासद रामहरी खतिवडाले यसअघिका पर्यटनमन्त्री भीम आचार्यले लगाएको आरोपको जवाफ दिन आग्रह गरेका थिए ।

आचार्यले आफूसँग कमिसन रकम माग्न पार्टीका पूर्व अध्यक्ष झलनाथ खनालले पठाएका दिपक अमात्यनै आफूलाई हटाएर मन्त्री बन्न सफल भएको आरोप लगाएका थिए ।

लेखा समिति बैठकमा सभासद खतिवडाले पहिले तपाई आफूमाथि लागेका आरोपको जवाफ दिनुस भन्दा बोल्न सकेनन् । उनले यो प्रश्नको जवाफ सहसचिवले दिनुहुन्छ भन्दै फर्किए ।

सहसचिव सापकोटाले चिटमा लेखेर ‘यो सरासर झूठो आरोप हो’ भनेपछि अमात्यले त्यहि पढेर सुनाउदा बैठकमा हाँसो चलेको थियो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव बाहेक अन्य कुनै राजनीतिक हैसियत नभएका अमात्यलाई मन्त्री बनाउन खनालले आफ्नै बहिनी ज्वाइ तथा पार्टीका प्रभावशाली नेता भीम आचार्यलाई पर्यटन मन्त्रीबाट हटाएका थिए ।

एमाले पंक्तिमा कत्ति पनि नचिनिएका अमात्यको राजनीतिक हैसियत ललितपूर जिल्ला कमिटी सदस्य तहको मात्र रहेको र अहिले उनी त्यसमा समेत पराजित भएको एमाले स्रोतले जनाएको छ ।

खनालले आफ्ना ज्वाइ भीम आचार्यले आफूले भने बमोजिम पर्यटन मन्त्रालयमा काम नगरेपछि पिएलाई मन्त्री बनाएर पठाएको आरोप लागेको छ ।

अमात्यले सोमवार लेखा समिति बैठकमा उपस्थित भएर उनको हैसियत आफैं स्पष्ट पारेको सभासदहरुले टिप्पणी गरे । ‘प्राविधिक विषयमा कर्मचारीको सहयोग लिनु एउटा कुरा हो तर मन्त्री भएपछि सामान्य कुराको जवाफ दिन सक्नुपर्छ’ सभासदहरुले भने ।

पर्यटन बोर्डको अनियमितता बारे गोलमटोल कुरा आएको तथा सभासदहरुकै मत बाझिएपछि समितिले बोर्ड सम्बन्धी निर्णय माइन्युटिङ गर्न अलग्गै कार्यदल बनाको छ ।

कार्यदलमा कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना, एमालेका विकास लम्साल, एमाओवादीका हरिबोल गजुरेल, संघीय सद्भावना पार्टीकी डिम्पलकुमारी झा र राप्रपा नेपालका दिनेश श्रेष्ठ सदस्य रहेका छन् ।

यो कार्यदलले बुधवार निर्णय लेखेर समितिको पूर्ण बैठकमा पेश गर्ने र त्यसपछि पर्यटन बोर्डको अनियमितता संलग्न व्यक्तिहरुको नाम सार्वजनिक हुने सभापति जनार्दन शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment